हिँड्दै जाँदा
यात्रामा
साथीहरु भेटिन्छन्
अनि,
दोबाटोमा पुगेर छुट्टिन्छन् ।
कसैले छोड्छन्,
कोही छोडिन्छन् ।
रफ्तार सबैको एउटै हुन्न रै’छ ।
हिँड्ने बाटो सबै एउटै हुन्न रै’छ ।
पुग्नुपर्ने ठाऊँ पनि आफ्ना–आफ्नै हुँदो रै’छ ।
तर पनि,
साथी चाहिन्छ–
लड्दा उठाउनका लागि ।
टेक्ने ठाऊँ भत्किँदा साथी चाहिन्छ ।
समाउने डोरी चुँडिन लाग्दा साथी चाहिन्छ ।
एक्लै हाँस्न सकिँदैन ।
एक्लै रुन सकिँदैन ।
खुशी साट्न साथी चाहिन्छ ।
दुःख बाँड्न साथी चाहिन्छ ।
दाजु–भाइसँग गर्न नमिल्ने कुरा
साथीसँग गर्न मिल्छ ।
आमा–बाबुलाई भन्न नमिल्ने कुरा
साथीलाई भन्न मिल्छ ।
उसलाई दुख्दा मलाई पनि दुख्छ ।
मलाई बिझ्ने काँडाले–
उसलाई पनि छुन्छ ।
केही क्षण
सँगै बिताएका पलहरुको सम्झना बोकी
साथीहरु जीन्दगीको उकालो लाग्छन् ।
धरतीको पल्लो छेऊ पुगेपनि,
मुटुको एक कुनामा बस्ने ठाऊँ दिन्छन् ।
कोही साथीहरु–
जीन्दगीको घामसँगै अस्ताएर गएपनि
मुटुमा फूल रोपेर जान्छन् ।
मेटाएर नमेटिने हुन्छन् ।
बिर्सिएर नबिर्सिने हुन्छन् ।
उनीहरुलाई सम्झिँदा–
मुहार त्यसै–त्यसै उज्यालो भएर आउँछ ।
ओ साथी !
साँच्चै तिमीलाई म अति प्रेम गर्छु ।
Comments
Post a Comment