गोधुली साँझमा
म कोठा फकिँदै थिएँ ।
साँगुरो गल्ली सडकहरुमा
लामा काला छाँयाहरु सल्बलाइरहेका ।
दुइपाङ्ग्रे, तीन पाङ्ग्रे, चार पाङ्ग्रेहरु
हतारिँदै बाटो पछ्याइरहेका ।
मैले भेटेँ उनीलाई
श्रृंगारपटारले सजिएकी,
ओठभरि रातो लिपिष्टिक पोतेकी ।
सोधें –‘बैनी कहाँसम्म ?’
जवाफ दिइन्–‘ऊ पर बजारसम्म ।’
अब म डेराको नजिकमा थिएँ ।
केही नातिहरुसँग, कोही हजुरबुुवा–
साँझको हावामा सुस्ताउन यता–उता गर्दै थिए ।
नातिहरुको नानाभाँति कचकचले राँकिएका बुढोलाई,
झुण्डिँदै एक नातिले सोध्यो–
‘हजुरबुवा, रिमोट कन्ट्रोलर कार कहाँ किन्न पाइँन्छ ?’
झोक्किँदै बुढाले जवाफ फर्काए –
‘जा बाबु तिमी पैसा लिएर बजारमा,
त्यहाँ तिमी हरचीज किन्न पाउँछौ
केवल आमाबाबु बाहेक ।’
विहानी सबेरै म कलेज हिँडे ।
उनी फर्किदैँ थिइन् बजारबाट ।
थारै हाँस्न खोजिन–
खुशी अल्मलिइरहेको थियो उसको मुहारमा ।
शरीर उसको झोलिएको थियो ।
ठिङ्ग उभिइन्,
दोषीको बोध भएझैँ, शुन्य भावमा ।
हिउँको सिरेटो, मूलको रस पिएर हुर्केकी केटी,
यो सहरमा ऊफ.......... ।
एकान्तमा बसेर कति रुँदी हो ।
हिजोको त्यो ओठको रातो लिपिष्टक
आज कुनै नामोनिशान थिएन ।
किनकी यो कसैलाई–
चुस्न दिएकी थिइन् ।
हातमा कुच्चिएका केही नोटहरु बोकेर
तिनी अघि बढिन् ।
सुस्तरी हामी साटियौं भीडमा,
टाढासम्म, आँखाले देखुन्जेल
मैले तिनलाई फर्की–फर्की हेरेँ ।
Comments
Post a Comment