गाउँको यादले सताइरहेछ आज...........!
सुस्केराका ती उकाली ओरालीहरुमा
पाइला भर्नेहरु,खै ? आज कहाँ कता पुगे?
मेरो गाउँ आज-
नाबालक र आँगन परदेश हुनेहरुको मात्र देश भएको छ रे ।
पसिनाले भिजेका गराहरुमा
वनमारा फस्टाउँदै होलान् ।
खुइ्यया मारेका ती गोरेटोहरु
काँडेघारी भए होलान् ।
साह्रै कराउँथिन साइँली बज्यै
चौठीमा काँक्रो र फर्सी दुई टुक्रा हुँदा ।
सुनेको छु तिनी त अस्ति नै परलोक भइन् रे ।
परदेश जानेहरुको यादमा गाउँ कति रुँदो हो ।
सल्लाघारीको सुसेलीमा रमाउने बैनीहरु
सबै पराई घर गइसके रे ।
चिप्लेटी खेलेका ढुँङ्गाहरुमालेऊ परिसक्यो होला ।
कसले कोर्ला अब ती ढुङ्गाहरुमाथि बाघचालको घेरा ?
पौडी खेल्न सिकेका दहहरु-
साउने बाढीले पुरिसक्यो होला ।
रिङ्गटा चल्ने गरी बजाउन सिकेका-
ती जंगलहरुमा अब कसले बजाउला बाँसुरी ?
प्रकृतिको सिद्ध स्वरुप डाँडापाखाको अनुपम सौन्दर्यता,
जसलाई देखेर परमेश्वरको प्रशंसा गर्न सकिन्थ्यो ।
एक डाँडाबाट चिच्याउँथे म,
हावाको वेगले त्यही आवाज-
टाढा कन्दरा डुलेर फेरि म सम्म फर्किन्थ्यो ।
यस्तो सुन्दर मेरा गाऊँ......!
अब गोधुलीमा भञ्ज्याङ्गहरु हुँदो-
गाठालेहरुको कल्याङ्गमल्याङ्ग सुनिँदैनन्,
पँधेरामा बुहारीहरुको रमाइलो गफ सुनिँदैनन् ,
जहाँ,बुढापाकाहरुको बैशालु रवाफ सुनिदिने छैनन् ,
जहाँ, सयपत्री र मखमली फूल पनि त्यत्तिकै ओइलिएर झर्छन् ।
Comments
Post a Comment