Skip to main content

सुन्दरताको बारेमा केहि कुरा...

Photo of the girl is taken from Google. Thanks! 
कसलाई मन नहोला सुन्दर नदेखिने ! को नराम्री हुन चाहन्छ ? बरु ब्युटी पार्लर धाएर होस्; ब्युटीप्लस एप चलाएर होस् वा अलिक कडा रुपमा भन्दा मैदाको पिठो घसेर नै किन नहोस ? सबैलाई ह्याण्डसम हुनुपरेको छ । सबलाई ब्युटीफुल हुनुपरेको छ ।

तर कतिपय स्मार्ट र आदर्शवान मानिसहरु भन्ने गर्छन् ‘अनुहार राम्रो भएर के गर्नु ? व्यहोरा पो ठीक हुनुपर्छ नि !’ अति राम्रो कुरा मान्छेको सुन्दरता जस्तोसुकै होस्, व्यहोरा ठीक हुनुपर्छ; चरित्र राम्रो हुनुपर्छ । तरपनि मानिसहरु जीऊ पूरै घनश्याम वर्णको भएप
नि अनुहारको भाग जत्तिलाई गोरो बनाउन प्रयास गर्न छोडेका छैनन् ।

वास्तवमा सबै मानिस राम्रा छन् । सबैको आ–आफ्नै सुन्दरता छ । तर कतिपय अवस्थामा सुन्दरता; छालाको गोरोपनबाट नापिन्छ । यहाँ कोही काला छन्, कोही हल्का काला; अनि गहुँगोरो, गोरो र अति गोरो पनि । गोरोपन टल्किने नै; लगभग खुइल्याए जत्तिकै ।

सुन्दरताकै कारण थुप्रै स्त्रीहरुले शक्ति आफ्नो हातमा पारेका छन् । प्राचीन समयको मिश्र देशकी क्लियोपेट्राको बारेमा सायद पढेकै होऔँला । स्त्रीहरुको सुन्दरतामा थुप्रै महापुरुषहरुले आफूलाई जोखिममा पारेका छन्; आफ्नो गौरव गुमाएका छन् । एउटै उदाहरणः अमेरिकी राष्ट्रपति विल क्लिन्टन, एक मोनिका लेवेन्स्की नामकी सुन्दरीको जालमा फस्नु ।

महिला होस् वा पुरुष; धेरैजनालाई आफ्नो सुन्दरतामा घमण्ड हुनसक्छ । केटाहरुमाः कसैको ज्यान ‘भी’ सेपको, सिक्स प्याक भएको, हाईट धेरै भएको, पाखुरा बलियो आदि इत्यादि ।  केटीहरुमाः कसैको आँखा राम्रो, कसैको कपाल राम्रो, कसैको हुरुक्कै पार्ने गुलाबी ओठ; अनि कसैको जादुमय मीठो बोली आदि इत्यादि ।

बाइबलमा पनि यस्तै थुप्रै सुन्दर पुरुषहरुको वर्णन छः योसेफ हेर्नमा सुन्दर थिए; शिमशोन जत्ति बलिया कोही थिएनन्; दाउदका जेठा–माइला दाजुहरुलाई शमुयलले सुन्दर देखे । शाउल पनि वैंसमा सुन्दर थिए, उनी अग्ला थिए; अरु मानिसहरु उनको काँधसम्म मात्र आइपुग्थे । दाउदलाई पनि गोल्यतले हेर्दा राता–राता गाला भएका ठिटो देखे; राता–राता गाला भएका ठिटोहरु त्यसै ह्याण्डसम हुन्छन् होइन त ! दाउदको छोरा अब्शालोम पनि अत्यन्तै सुन्दर थिए । अरु पनि थुप्रै उदाहरण अवश्य छन् ।

एउटा सत्य कुरा पनि नलुकाऊँ जस्तो लाग्यो । लाहुरेहरुको नजरमा पर्नलाई दिदी–बहिनीहरुले विशेष मेहनत गर्नुपर्ने हुन्छ । उनीहरु हावा तालमा लाहुरे भएका हुँदैनन् । यसैले मामुली स्त्रीहरुमाथि उनीहरुको नजर नपर्नु स्वभाविकै हो ।

बाइबलमा थुप्रै सुन्दरी स्त्रीहरुको वर्णन पनि छ । अब्राहामकी श्रीमति सारा अत्यन्त सुन्दरी थिइन् । यस्तै अबीगेल, रुथ, एस्तर आदी स्त्रीहरु अत्यन्तै सुन्दरी थिए । अयुबको आफ्नो संकष्ट पछि जन्मेका छोरीहरु तत्कालीन देशमैै उनीहरु जत्ति सुन्दरीहरु अरु थिएनन् । राजा दाउदकी छोरी तामार परमसुन्दरी थिइन् ।

कतिपय अवस्थामा यस्तो पनि हुनसक्छः मानिस आफू जति सुन्दर भए पनि आफूभन्दा सुन्दर वा सुन्दरी अरुलाई मात्रै देख्छ । हरेकसँग आफ्नो सुन्दरतामा गुनासो पनि हुनसक्छ, कोही बढी सुकेको, कोही बढी फुकेको । कोही छाला र हड्डी मात्रै, कोही पानी मात्र खाँदा पनि सुँगुरजस्तै मोटाउने । कोही आफ्नो श्रीमति भन्दा अरुको श्रीमतिलाई मात्रै बढी राम्री देख्ने । कसैको मनमा यस्तो हुनसक्छः मेरो आँखा हल्का गाजलु वा ठूलो भए..., मेरो नाक हल्का अग्लो कि अति अग्लो नभईदिएको भए...., म थोरै बढी गोरो भएको भए...., हल्का स्लीम भएको भए... वा केही बढी हाइट भएको भए.... के–के हुन्थ्यो के–के ! सायद संसारै पो आफ्नो हुन्थ्यो कि !

एउटा विश्लेषण यस्तो छः कोही अनुहार नराम्रो भएपनि चरित्रको धनी हुन्छन् । कसैको अनुहार राम्रो भएको पनि व्यहोरा सिद्धिगा’को हुन्छ । कसैको अनहार पनि हिंस्रक, खाउँला जस्तै देखिने; त्यहि माथि व्यहोराले झ्याप्पै साथ दिएपछि मान्छे त दानव नै भयो नि । अनुहार पनि राम्रो, व्यहोरा उस्तै राम्रो, बोलीवचन झन मिठो....वाह ! यस्ता मानिसहरु त साँच्चै हीरा–मोती भन्दा धेरै मूल्यवान हुन्छन् । कतिपय तपाई–हामी अवश्य यहि ग्रुपमा पर्छौँ । यो खुशीको कुरा हो ।

मानिसहरु आफूलाई सुन्दर देखाउन थुप्रै आइडियाहरु लगाउनुभएको हुनसक्छ । म पनि के कम ? मलाई पनि सुन्दर देखिने रहर छ । म सुन्दर देखिनलाई प्रायः मुस्कुराउने गर्छु ।

अन्त्यमा, हामी जस्तोसुकै भएपनि परमेश्वरका हातका उत्तम सीपहरु हौँ भन्ने सम्झिनुपर्दछ । हामी सबै उहाँको सुन्दर सृष्टि हौँ । एउटा गम्भीर अनि मनन गर्नैपर्ने कुरो बाइबलमा यसो भनिएको छः ‘सौन्दर्य भ्रमात्मक हुन्छ, सुन्दरता उडिजाने हुन्छ । तर, परमेश्वरको भय मान्ने स्त्रीको नै प्रशंसा गरिनुपर्दछ ।’ अर्को शब्दमा यसो पनि भन्न सकिन्छः ‘...परमेश्वरको भय मान्ने पुरुषको नै प्रशंसा गरिनुपर्दछ ।’ मलाई विश्वास छ; तपाईं हामी परमेश्वरको भयमा बाँचेको मान्छे । हाम्रो शरीरबाट पनि बाँचुञ्जेल परमेश्वरलाई नै महिमा होस् ।






Leave Your Comments Here!


Popular Posts

क्रिश्चियन युवतीहरुसँग लभ गर्ने गैह्र–क्रिश्चियन साथीहरुले बुझ्नैपर्ने कही कुराहरुः

के तपाईँको कुनै क्रिश्चियन केटीसँग लभ परेको छ ? जबकि तपाईँ एक गैह्र–क्रिश्चियन हुनुहुन्छ । क्रिश्चियन सुन्दरीहरुसँग लभ गर्ने गैह्र–क्रिश्चियन साथीहरुले बुझ्नैपर्ने कही कुराहरुः कोही–कोहीले चर्चमा गवाही बाँडेको सुनेको छुः ‘म सुरु–सुरुमा चर्च केटीहरु हेर्नमात्र जान्थेँ; तर पछि–पछि मैले येशूलाई विश्वास गरेँ; यसरी मैले प्रभुलाई पाएँ ।’ ओहो ! क्याबात ! यस्तो पनि हुन्छ र ? अवश्य हुनसक्छ । साँच्चै केटी हेर्ने नियतले नै चर्च जाने हो भनेता सँधै राम्रो मौका हुनसक्छ; किनकी प्रार्थनाको बेलामा सबैले आँखा चिम्लिने गरिन्छ । उत्निखेर आफूले चाँहि आँखा ठूला–ठूला पारेर चारैतिर जता हेर्न मन लाग्यो उतै हेर्न कसले रोक्ने ?

श्रीमाया आमाको जीवन

कोशीको पानी यो जीन्दगानी सलल जाइजान्या हौ हजुर ! आमाको कोखमा बास मात्रै लिए नि,  कुन देशको मरण हौ हजुर ! ‘नेपथ्य’को यहिँ गीतजस्तै एउटा जीवन देखेँ मैले । लियो टाल्सटायको ‘मानिसलाई कति जमिन चाहिन्छ ?’ नामक रुसी कथामा ‘प्याखोभ’लाई अन्तिममा उसलाई चाहिएको जति जमिन मिल्दछ, तर आफूलाई चाहिएको जति जमिन नपाएको जीवन पनि देखेँ मैले । उहाँलाई सबैले श्रीमाया आमा भन्थे, बडहरा बस्ने आमा भन्थे । म इटहरी बस्न थालेको समयदेखि नै उहाँलाई बेला–बेलामा चर्चमा सँगतिमा आउनुभएको देखेको थिएँ । उहाँ बलबुताले सकुन्जेल चर्च आउनुभयो, तर केही दिन अघि सदाको लागि अस्ताउनुभयो, सायद तुरहीको आखिरी आवाजसम्म ।

गाऊँ घरतिरको एकहप्ते बसाइ (संस्मरण)

धेरै समय पछि गाऊँ फर्केको थिएँ । मण्डली परिवारसँग राम्रो सँगति गर्न पाईयो । परमेश्वरका राज्य बढ्दो छ, बरु छेऊछाऊका मानिसहरु मौन छन्; तर टाढा–टाढाबाट मानिसहरु प्रभुमा फर्केका रहेछन् । घरमा २३ धार्नीको सुँगुर काटिएको रै’छ, पछि म बसुञ्जेल २ वटा गिरिराज भाले सिद्धयाइए । आहालेमा एउटा अनि डोडेनी मामाघरमा एउटा गरेर जम्मा ४ वटा लोकल–गिरिराज भालेहरु चामचुम पारियो दशैँका अवसरमा । घर पुगेको तेस्रो दिन भैसी सुत्केरी भईन्, बिगौति दुध खुब खाइयो, दुधले मुख कुल्ला गरियो । निबुआ र काँक्रा फर्सीको दानाको छोपसँग साँधेर बजाइयो, यो अन्तिम वाक्य देख्दा सायद तपाईँहरु कत्ति जनाको मुख रसाईसकेको हुनुपर्छ । भोराम पाखातिर गएर एक–दुई भारी घाँस काटेर ल्याउने विचार थियो, तर पार्ईएन । वाइली तिर जान पाइएन, फकुल दार्बुतिर जाने रहर अधुरै रह्यो । तर कल्पुम तिर गएँ, कक्षा ३ सम्म पढेको स्कुल घुमेँ, बालापनको यादहरु आँखाभरि नाचे । ब्ओकुला फुटबल मैदान तिर गएँ, पिङ्ग खेलेँ, रमाएँ । सकेसम्म गाउँका यादहरु मोबाइलमा खिँचे । कतिपय तस्वीरहरु तपाईँहरुले देखिसक्नुभएको छ ।

समाधान नहुने समस्याहरु (आखिरी घडीहरु)

यो संसार शैतानको हातमा छ भन्दा थुप्रै विश्वासीहरुलाई अपत्यारिलो र अस्वीकार्य हुनसक्छ । तर बाइबलका केही खण्डमा यस कुराको ठोकुवा गरिएको छ । यदि यो संसारमा शैतानको शासन नभएको भए परीक्षाको समयमा प्रभु येशुलाई ‘म यो सारा अधिकार र यिनको गौरव तपाईलाई दिनेछु, किनभने यी सबै मलाई सुम्पिएका छन्, र म जसलाई इच्छा गर्दछु, त्यसलाई दिँदछु । तपाईंले मलाई दण्डवत गर्नुभयो भने यी सबै तपाईंका हुनेछन् (लुका ४ः६–७)’ भनेर कसरी भन्न सक्थ्यो र ! यो कुरा यशैया १४ः१२–१५ पदसँग पनि सम्बन्धित छ, जसमा शैतानलाई यसरी सम्बोधन गरिएको छः ‘तँ कसरी स्वर्गबाट खसेको छस्, ........तँ....भुइँमा खसालिएको छस्, ......तँ चिहानसम्म खाडलको तल्लो गहिराईसम्मै होच्याइस् ।’ स्वर्गको आफ्नो अधिकार गुमाएपछि शैतान संसारको शासक भएर बसेको छ । बाइबलका यी (युहन्ना १२ः३१, युहन्ना १४ः३०) पदहरुलाई हेर्ने हो भने प्रभु येशुले पनि शैतानलाई संसारको शासक भनेर सम्बोधन गर्नुभएको छ ।