धर्मकर्मको लागि, नामको लागि, पूण्य कमाउनको लागि वा भनौँ पापहरणको लागि हाम्रा थुप्रै दाजुभाईहरुले मठ–मन्दिरमा भेटी (पैसा) चढाउनुभएको छ । हुनसक्छ; कुनै–कुनैले त ‘म कति धनी रहेछु’ भन्ने रवाफ देखाउनको लागि पनि लाखौँ भेटी अर्पण गर्नुभएको छ । यो कुरा मण्डलीमा पनि लागु भएको हुनसक्छ ।
हामी मण्डली निर्माणको लागि, प्रचारकहरुको लागि, असहायमा परेकाहरुको लागि साथै अन्य विभिन्न वहानामा चर्चमा भेटी उठाउछौँ; भेटी दिन्छौँ । यसरी जम्मा भएको भेटी वा अनुदान पनि भनौँ; धेरै रकम दिनेहरुको सम्मान र हौसला स्वरुप पुरस्कारको व्यवस्था गरिएको हुन्छ । उनीहरुलाई प्रमाण–पत्र दिइन्छ; ताम्रपत्र दिइन्छ; भवन निर्माण भएका ठाऊँहरुको शिलालेखमा उनीहरुको नाम कोपिन्छ ।
येशू एकपटक यो संसारमा हामी जस्तै गरि बाँचिरहनुभएको बेला भेटी चढाउँदै गरिएको ठाऊँमा हेर्नुभयो । त्यहाँ थुप्रै मानिसहरुले धेरै–धेरै भेटीहरु चढाएर गए । एक जना विधवा पनि आइन् र केवल दुई पैसा चढाइन् । येशूले उक्त विधवा आईमाईले सबैभन्दा बढी भेटी चढाएकी कुराको घोषणा गर्नुभयो । किनकी, सबैले आफ्नो प्रशस्तताबाट चढाएका थिए, तर विधवाले आफ्नो दरिद्रताबाट । उनीसँग भएको जम्मा रकम केवल दुई पैसा मात्र थियो ।
हुनसक्छ, हामीले परमेश्वरलाई आफ्नो दरिद्रताबाट भेटी चढाउने मौका कमै पाएका छौँ । तर, कहिलेकाँही हामीले अभावमा केवल पाँच वा दश रुपैँया मात्र दिनसकेका छौँ भने याद गरौँ; येशूले हामीलाई नै हेर्दै हुनुहुन्छ ।
सुखसयल वा विलासको दरबारभन्दा परमेश्वरको मन्दिरको ढोके बन्नु नै हामीलाई असल लाग्छ होइन त ? हाम्रो जीवन पनि त्यहीँ विधवाको भेटी जस्तो बनोस् । आमेन् ।