धेरै समय पछि गाऊँ फर्केको थिएँ । मण्डली परिवारसँग राम्रो सँगति गर्न पाईयो । परमेश्वरका राज्य बढ्दो छ, बरु छेऊछाऊका मानिसहरु मौन छन्; तर टाढा–टाढाबाट मानिसहरु प्रभुमा फर्केका रहेछन् ।
घरमा २३ धार्नीको सुँगुर काटिएको रै’छ, पछि म बसुञ्जेल २ वटा गिरिराज भाले सिद्धयाइए । आहालेमा एउटा अनि डोडेनी मामाघरमा एउटा गरेर जम्मा ४ वटा लोकल–गिरिराज भालेहरु चामचुम पारियो दशैँका अवसरमा । घर पुगेको तेस्रो दिन भैसी सुत्केरी भईन्, बिगौति दुध खुब खाइयो, दुधले मुख कुल्ला गरियो । निबुआ र काँक्रा फर्सीको दानाको छोपसँग साँधेर बजाइयो, यो अन्तिम वाक्य देख्दा सायद तपाईँहरु कत्ति जनाको मुख रसाईसकेको हुनुपर्छ ।
भोराम पाखातिर गएर एक–दुई भारी घाँस काटेर ल्याउने विचार थियो, तर पार्ईएन । वाइली तिर जान पाइएन, फकुल दार्बुतिर जाने रहर अधुरै रह्यो । तर कल्पुम तिर गएँ, कक्षा ३ सम्म पढेको स्कुल घुमेँ, बालापनको यादहरु आँखाभरि नाचे । ब्ओकुला फुटबल मैदान तिर गएँ, पिङ्ग खेलेँ, रमाएँ । सकेसम्म गाउँका यादहरु मोबाइलमा खिँचे । कतिपय तस्वीरहरु तपाईँहरुले देखिसक्नुभएको छ ।
बगले डाँडामा भाई, भतिजा–भतिजिनीहरुसँग निकै रमाइलो गरियो । बाल्यकालमा यो डाँडामा निकै खेलियो । किशोरावस्थामा यहीँ डाँडामा झोक्रिँदै कति टोलाईयो–टोलाइयो, कति पल तलबाट बहने चिसो सिरसिरे हावामा कति आँसु सुकाइयो–सुकाइयो । त्यहीँ भएर गाऊँ फर्किँदा हरेक पटक यो डाँडामा बसेर जीन्दगीको लेखाजोखा गर्ने गरेको छु ।
केही घट्नाहरु स्मरणीय छन्, शुक्रबारको दिने गैराटोलको साथी मिलनले ओखल्ढुँगा चुप्लु भन्ने गाउँबाट आफ्नो लागि जीवनसाथी छानेर टपक्क टिपेर ल्याएका रहेछन्, खुसीयालीको लागि हाम्रै घरको कुखुरा किनेर केही साथीहरु ओह्रालो लागे । ऊत्त रात आहालेमा बास बसेँ । विहान उठ्दा हल्ली–खल्ली भयो, गैराटोलकी क्याप्टेन्नी हजुरआमा सुतेकै ठाउँमा बित्नुभएछ, छेऊमा नाति रोशन मोबाइलमा यता उता डायल गर्दै थिए । उहाँ विगत केही समय देखि आहाले मै बसोबास गर्दै आउनुभएको रहेछ । राती सुत्ने बेलासम्म ठिकै हुनुहुन्थ्यो रे ! मैले पनि रिनुवाल पापालाई फोन गरेँ– दायाँबाँया उहाँको आफन्तलाई खबर गर्नु भनेर । ठीक ३ दिन अघि उहाँलाई रिनुवालमै चोली दिदीको दोकानमा भेटेको थिएँ, ठिकै हुनुहुन्थ्यो ।
बेलुकी साँझपख डोडेँनीमा सुसेल्दै थिएँ । परतिर भुमेथान डाँडातिर लस्करै ३–४ वटा बाइकहरुमा ३–४ जनाकै दरमा ठिटाहरु हर्न बजाउँदै, हल्ली खल्ली गर्दै आइपुगे । उनीहरुको जोश अनि व्यवहार ठुलै युद्ध मैदानमा जीत हात पारेर फर्केका नौजवान सिपाहीहरुको जस्तो थियो । एकछिन् पछि थाहा भयो, फकुलतिरका एक मित्र छेउकुड्ले माइला
(अम्बा राई)का भाइले उदयपुरतिरबाट हुनुपर्छ, एकजना आफ्नो लागि चाहिने जीवनसाथी, साथीहरुसँग मिलेर गएर टपक्क टिपेर ल्याएका रहेछन् ।
संसारको रित देखेर अचम्ममा पर्दै मेरो मन एकतमासको भो । कतै खुशियाली, कतै शोक, कतै जन्म, कतै मृत्यु ! संसार यसरी नै चल्दै आएको थियो, चल्दै नै जानेछ; जीन्दगीमा एकछिन ठूलै कुरा बुझेझैँ लाग्यो ।
अन्ततः भाई अनमोलसँग इटहरी फक्र्यौँ । बाटो सहज बनेको छ, गाऊँ फर्किनलाई, इटहरीबाट लगभग १०–१२ घण्टाको यात्रामा बाइकबाटै गाऊँ पुग्न सकिन्छ । कटारी घुर्मी बिच लप्सी भञ्ज्याङ्गमा बाटो डरलाग्दो छ, घुर्मी छेऊ सुनकोशी पुल आइपुग्ने बेलामा बाटो बरबाद छ, अनि डुन्डु डाँडादेखि गाउँसम्मको लगभग ४–५ किमि बाटोमा भने बडो साहसिक यात्रा गर्नुपर्छ । म त भन्छु, डुन्डु डाँडाबाट सकुशल उँबुसम्म पुग्ने जोसुकैलाई सरकारले सित्तैँमा लाइसेन्स बाँडे हुन्छ । आशा छ, अर्को पटक जाँदा बाटो अझै राम्रो भइसकेको हुनेछ ।
यसपाला दुइटा उखान सिकेर आएँ । मुखैमा झुण्डिएको छ मेरो । एउटा चाँहि ८६ वर्षिय उमो (हजुरआमा)ले मलाई व्यंग्य गर्दै भन्नुभयोः
‘पाकिसक्यो मालभोग केरा, झरिगयो बुँङ्गा,
ओठको जुँगा कन्सिरी पुग्यो, खै घरबारको टुँङ्गा ??’
अर्को उखान चाँहि पाष्टर बुवाले । उहाँले सुनेको कुरा भन्नुभयोः
‘संसारमा लोग्ने मानिस पापी हुँदै रै’छ,
राम्री तरुणीलाइै देख्यो भने घर बिर्सिँदो रै’छ ।’
हर्कपुरमा तेल भर्दै गर्दा अर्को बाइकको पछाडी बस्ने एकजना दिदीको आँखाबाट बगेको आँसु सुनकोशी भएर बहने चिसो हावाले सुकाउन सकिरहेका थिएनन् । उहाँ स्याप–स्याप आँसु पुछ्दै हुनुहुन्थ्यो, अनि हाम्रै भाषामा बोल्दै हुनुहुन्थ्योः‘...आम पात्ला खाः पाच्चाम सम् खाः पाऊम्मेङ् बाः त्याँ चैँ आः जीन्दगीलो द्याल आःब्लाऊँ’ (अर्थः यसपाली मलाई तितो बनाउनुसम्म बनाएका छन्, अब जीन्दगीमा गाऊँ फर्केर पनि आउँदिन)। ती अपरिचित दिदीको कुरा सुनेर मुटु भारी भयो । गाऊँ फर्र्किने, छोड्ने कथा–व्यथाहरु मानिसहरुको आ–आफनै भोगाई हुँदो रहेछ ।
हिँड्न लाग्दा डेप्लोमटारको ‘फ्याँके’ साथीसँग विदाबारी हुने मौका मिल्यो । उहाँको साथमा एकजना बहिनी थिइन् । प्रसँग के थियो भने, अघि ठीक मास्तिर भाँडरे खोला डिलमा म भाइसँग फोटो खिच्दै गरेको बेलामा एउटा २२० पल्सर बाइकमा उही ‘फ्याँके’ साथीः ‘ओ सुमन ! एै है है’ भन्दै गर्दा बाइकले अर्को घुम्ती काट्यो, मात्र हात हल्लाउन पाइयो, उनीहरु खुर्कोटको बाटोतिर लाग्नेवाला थिए । तर बाइक उनले हाँकिरहेका थिएनन्, एकजना बलवान स्त्रीले हाँकिरहेकी थिइन् । मैले मनमनमा सोँचेः ओहो! यस्तो पहाडको उकालो ओरालोमा डबल बाईक हुइँक्याउने केटी कस्तो साहसिक होलिन् ! उनको वीरता देखेर म दंग परेँ । तिनै केटी थिइन् ‘फ्याँके’ साथीसँग विदाबारी हुने बेलामा, रातो ज्याकेटमा । मैले पिलिक–पिलिक उनी पट्टि दुई पटक हेरेँ, उनले पनि त्यसै गरिन्, उमेर सानै भएको कलिलो बैनी जस्तो पनि लाग्यो, निकै उमेर खाएकी जस्तो पनि । मैले केहि छेऊटुप्पो पाउन सकिँन । मात्र मनमनमा सोचेँः सायद साथीको कोही आफन्त हुनुपर्छ ।
अनि बाइक स्टार्ट गरियो, आ–आफ्नो बाटो लागियो । मनमनै विपुल क्षेत्रीको गीतलाई प्यारोडी बनाएर गुनगुनाउन लागेँः ‘....तिमी जाने काठमाण्डु, म जाने इटहरी तिर....।’ हवस् त, टुटुम–टुटुम, ढुस् ।
(Note: Above photos are taken scenes from Unbu, Okhaldhunga.)
#SumanJava
Your writings makes it feel like real... I heard that my great grandfather's were from Okhaldhunga, after reading your blog I really wanted to go back there one day!
ReplyDeleteWow. Thank your for reading my blog and comment. After some days I will be on www.sumanjava.com
ReplyDeleteAlso visit that blog, but design works are not yet completed.
Your welcome and will surely read more of your blogs..
Delete