Skip to main content

Posts

Showing posts with the label Article

नानीहरुको तोतेबोली सुनेर को झर्किन्छ र !

भनिन्छ, परिवारमा खुशी छाइरहनको लागि बाल–बालिकाहरुको ठूलो भूमिका हुन्छ । नानीहरु हुँदा श्रीमान्–श्रीमतीको झगडा पनि कम हुन्छ, भएको झगडा पनि नानीको कारण सबै आफै ठीक हुन्छ रे भन्ने सुनेको छु । सबभन्दा ठूलो खुशी बाजे–बोजुहरुलाई नै हुन्छ जस्तो लाग्छ । हरेकको सपना हुन्छ रे ! आफ्ना नाति–नातिनाहरुसँग खेल्ने । नाति–नातिनाहरुसँग वृद्ध–वृद्धाहरु हाँस्दै खेल्दै गरेका दृश्य बडो करुण हुन्छ । उखानै छः ‘सावाँ भन्दा बढी ब्याजको माया’, होइन त ? कुनै समय मैले काम गरेको अफिसका हाकिम, जस्तोसुकै तनावमा काम गरिरहेको वा केही सोचिरहेको किन नहोस् । जब उहाँकी २ वर्षे छोरी सेतो जामा लगाएर मुस्कुराउँदै टुकुर–टुकुर अगाडि आउँथिन्, मेरो सर जुरुक्क उठेर छोरीलाई बोक्नुहुन्थ्यो, मायाले चुम्नुहुन्थ्यो । छोरीसँग तोतेबोलीमा कुरा गर्दै यता–उता डुल्दै गर्दा म उहाँको मुहारमा तनावको एउटा धर्सोसम्म देख्दिनथेँ । घरि–घरि म तिर फर्केर भन्नुहुन्थ्योः ‘तपाईँलाई छोरा–छोरीको माया कस्तो हुन्छ भनेर केही थाहा छैन ।’ म दँग पर्थें, अविवाहित मान्छेले कसरी थाहा छ भनुँ ? तर, ती दृश्यहरु देख्दा म भित्रभित्रै रमाइरहेको हुन्थेँ ।

जे छ, त्यहीँबाटै प्रभुको महिमा

प्रभु येशूको अघिपछि प्रायः भीड हुन्थ्यो । निको हुनलाई मात्र भीडले उहाँलाई पछ्यायो वा परमेश्वरको योजनामा मानिसहरु भेला हुन्थे, त्यो कुरा १२ प्रेरितहरुले नै जानुन् । एकपटक येशूले भीडलाई परमेश्वरको राज्यको बारेमा सुनाउँदा–सुनाउँदै दिन ढल्कन लाग्यो । न त सुनाउनेको, न त सुन्नेहरुको धीत म¥यो, व्यवस्थापनमा खटेका चेलाहरुलाई उकुस–मुकुस पर्न थाल्यो । किनकी, उनीहरु निर्जन ठाउँमा थिए र करिब ५ जना पुरुषहरु (कतिपय उनीहरु आफ्नो परिवार सहित पनि आएका हुनसक्छन्) को निम्ति भोजनको खासै उपाय थिएन । अन्त्यमा चेलाहरुले येशूलाई ‘भीडलाई अब बिदा दिनु’ भनी सुझाए । तर येशूले ‘तिमीहरुले नै तिनीहरुलाई खान देओ’ भन्नुभएपछि चेलाहरुले अब बजारमा गएर भोजन किनेर ल्याउनुपर्ने बोझको महशुस गरे । तर येशूले उनीहरुसँग उपलब्ध ५ रोटी र २ माछाबाट नै ५ हजार जनालाई तृप्त पार्ने उपाय निकाल्नुभयो । आखिरमा सबै तृप्त भइसकेपछि पनि उबे्रका टुक्राहरु बटुल्दा उल्टै १२ डाला जति भयो । (लुका ९ः१०–१७) । यो एउटा चमत्कार थियो, वा भनुँ यहोवा यिरेको एउटा काम गर्ने स्टाइल । एक विवाह भोजमा सोमरस (दाखमद्य) सकिएपछि येशूले घ्याम्पाहरु भरि पानी भर्न ल...

ए वैद्य, आफैँलाई निको पार !

कुनै समय कुष्ठरोग एक घृणित रोग थियो । यसको उपचार थिएन । कुष्ठरोगलाई मानिसहरु पूर्वजन्मको पापको परिणाम भन्थे । यो रोग लागेकाहरुलाई परिवार, समाजबाट अलग गरिन्थ्यो, उनीहरु छुट्टै ठाऊँमा बस्थे । कुनै एउटा बस्ती थियो, जहाँ ४० जना कुष्ठरोगीहरु बस्थे । संसारले कुष्ठरोगको निदानको उपाय पत्ता लगाइसकेपछि एकजना डाक्टर दयाले भरिएर ती ४० जना कुष्ठरोगीहरुको उपचारको निम्ति उक्त बस्तीमा डेरा सारे । अनि दैनिक ती ४० जना कुष्ठरोगीहरुको उपचारमा तल्लीन हुन लागे ।

फेसबुकमा अटोमेटिक प्ले हुने भिडियोलाई कसरी रोक्ने ?

फेसबुकमा अटोमेटिक भिडियो प्ले हुनुको आफ्नै फाइदा र बेफाइदाहरु छन् । बेफाइदाहरु तिनै हुन् कि तपाईंले हेर्न नचाहेको भिडियो पनि बफरिङ्ग हुन सुरु भएर इन्टरनेट स्लो हुन जान्छ र धेरै डाटाको अनावश्यक खर्च हुन्छ । यो फिचर अन हुँदा साउन्ड बिना भिडियोहरु चल्न थाल्छन् जसबाट उक्त भिडियोलाई हामी कास्टिङ्गको रुपमा देख्न सक्छौँ ।  यदि यो अटोमेटिक भिडियो प्ले हुने फिचर तपाईंको लागि बाधाको कारण भएको छ भने यहाँ केही स्टेप्सहरु दिइएको छ । जसलाई फ्लो गरेर यो फिचर अफ गर्न र इन्टरनेटको अनावश्यक खर्च घटाउन सक्नुहुन्छ । यो फिचर अफ गरेपछि तपाईले हेर्न चाहेको भिडियोमा क्लिक गरेपछि मात्र बफरिङ्ग सुरु हुन्छ । तरीकाहरु यस्ता छन्ः

क्रिश्चियन युवतीहरुसँग लभ गर्ने गैह्र–क्रिश्चियन साथीहरुले बुझ्नैपर्ने कही कुराहरुः

के तपाईँको कुनै क्रिश्चियन केटीसँग लभ परेको छ ? जबकि तपाईँ एक गैह्र–क्रिश्चियन हुनुहुन्छ । क्रिश्चियन सुन्दरीहरुसँग लभ गर्ने गैह्र–क्रिश्चियन साथीहरुले बुझ्नैपर्ने कही कुराहरुः कोही–कोहीले चर्चमा गवाही बाँडेको सुनेको छुः ‘म सुरु–सुरुमा चर्च केटीहरु हेर्नमात्र जान्थेँ; तर पछि–पछि मैले येशूलाई विश्वास गरेँ; यसरी मैले प्रभुलाई पाएँ ।’ ओहो ! क्याबात ! यस्तो पनि हुन्छ र ? अवश्य हुनसक्छ । साँच्चै केटी हेर्ने नियतले नै चर्च जाने हो भनेता सँधै राम्रो मौका हुनसक्छ; किनकी प्रार्थनाको बेलामा सबैले आँखा चिम्लिने गरिन्छ । उत्निखेर आफूले चाँहि आँखा ठूला–ठूला पारेर चारैतिर जता हेर्न मन लाग्यो उतै हेर्न कसले रोक्ने ?

सुन्दरताको बारेमा केहि कुरा...

Photo of the girl is taken from Google. Thanks!  कसलाई मन नहोला सुन्दर नदेखिने ! को नराम्री हुन चाहन्छ ? बरु ब्युटी पार्लर धाएर होस्; ब्युटीप्लस एप चलाएर होस् वा अलिक कडा रुपमा भन्दा मैदाको पिठो घसेर नै किन नहोस ? सबैलाई ह्याण्डसम हुनुपरेको छ । सबलाई ब्युटीफुल हुनुपरेको छ । तर कतिपय स्मार्ट र आदर्शवान मानिसहरु भन्ने गर्छन् ‘अनुहार राम्रो भएर के गर्नु ? व्यहोरा पो ठीक हुनुपर्छ नि !’ अति राम्रो कुरा मान्छेको सुन्दरता जस्तोसुकै होस्, व्यहोरा ठीक हुनुपर्छ; चरित्र राम्रो हुनुपर्छ । तरपनि मानिसहरु जीऊ पूरै घनश्याम वर्णको भएप नि अनुहारको भाग जत्तिलाई गोरो बनाउन प्रयास गर्न छोडेका छैनन् । वास्तवमा सबै मानिस राम्रा छन् । सबैको आ–आफ्नै सुन्दरता छ । तर कतिपय अवस्थामा सुन्दरता; छालाको गोरोपनबाट नापिन्छ । यहाँ कोही काला छन्, कोही हल्का काला; अनि गहुँगोरो, गोरो र अति गोरो पनि । गोरोपन टल्किने नै; लगभग खुइल्याए जत्तिकै ।

समाधान नहुने समस्याहरु (आखिरी घडीहरु)

यो संसार शैतानको हातमा छ भन्दा थुप्रै विश्वासीहरुलाई अपत्यारिलो र अस्वीकार्य हुनसक्छ । तर बाइबलका केही खण्डमा यस कुराको ठोकुवा गरिएको छ । यदि यो संसारमा शैतानको शासन नभएको भए परीक्षाको समयमा प्रभु येशुलाई ‘म यो सारा अधिकार र यिनको गौरव तपाईलाई दिनेछु, किनभने यी सबै मलाई सुम्पिएका छन्, र म जसलाई इच्छा गर्दछु, त्यसलाई दिँदछु । तपाईंले मलाई दण्डवत गर्नुभयो भने यी सबै तपाईंका हुनेछन् (लुका ४ः६–७)’ भनेर कसरी भन्न सक्थ्यो र ! यो कुरा यशैया १४ः१२–१५ पदसँग पनि सम्बन्धित छ, जसमा शैतानलाई यसरी सम्बोधन गरिएको छः ‘तँ कसरी स्वर्गबाट खसेको छस्, ........तँ....भुइँमा खसालिएको छस्, ......तँ चिहानसम्म खाडलको तल्लो गहिराईसम्मै होच्याइस् ।’ स्वर्गको आफ्नो अधिकार गुमाएपछि शैतान संसारको शासक भएर बसेको छ । बाइबलका यी (युहन्ना १२ः३१, युहन्ना १४ः३०) पदहरुलाई हेर्ने हो भने प्रभु येशुले पनि शैतानलाई संसारको शासक भनेर सम्बोधन गर्नुभएको छ ।

संसारिक सुखको कुहिरोमा हराएको प्रेम

www.merokalam-suman.blogspot.com संसार प्रेमले बाँधिएको छ । सबै मानिसहरु प्रेमको मालामा उनिएका छन् । प्रेमले जीवन बदल्छ । प्रेम एउटा जिउने शक्ति हो; बाँच्ने आधार हो । प्रेमको अवश्य धेरै रुपहरु छन् । इश्वरीय प्रेमले हामी एकअर्कालाई कहिल्यै प्रेम गर्न सक्दैनौँ । तर मानवीयताको नाताले त अवश्य सक्छौँ । तर यसो भन्दै गर्दा विगतमा जुन प्रेमको आदर्श थियो हाम्रो परिवारमा अनि समाजमा; त्यस्तो आजभोली पटक्कै छैन । यहाँ उठाउन खोजिएको एउटा विषय चाँहि प्रेमी–प्रेमिकाबिचको प्रेम र त्यहीँ प्रेम झाँगिदै गएपछि श्रीमान–श्रीमतिबिचको प्रेममा हुने खटपटको विषयमा हो ।

माया पिरतीका कुरा

माया पिरतीको हुरी कम्तिमा एकपटक हरेकको जीवनमा चल्छ । कतिजना टुङ्गोमा पुग्छन् । कतिजना हिँडदै जाँदा दोबाटोमा पुग्छन् । सम्झिल्याउने हो भने; यस्ता कुराहरुमा एकअर्कालाई दोष्याउने ठाऊँ कतै हुँदैन । तर पनि मायामा बिछोडिएकाहरु एकअर्कालाई दोष्याएर मनको पीर शान्त पार्छन् । यो राम्रो आइडिया हो । यसलाई सकारात्मक रुपमा लिँदा सायद राम्रै हुन्छ । पंखामा झुण्डिएर दुःख बिसाउनुभन्दा त यो आइडिया कहाँ हो कता राम्रो हो । एकपटक म एउटा युवा सम्मेलनमा सहभागी भएको थिएँ । ‘प्रेम र विवाह’को बारेमा सिकाउँदै गर्नुभएका वक्ताज्यूले ‘ख्रीष्टियन युवा–युवतीहरुले गैह्र ख्रीष्टियन मानिसहरुसँग प्रेममा फस्नु गलत हो’ भन्दै गर्दा सहभागी थुप्रै जवानहरुको मुहार खिन्नताले भरियो । आत्मग्लानीले भनौँ वा हीनताबोधले; उनीहरुले शिर निहुराए ।

‘खेलौना’ र ‘स्मिता थापा’

(२०६९ साल, माघ २९ गतेको ‘पूर्वसन्दश दैनिक’मा प्रकाशित)  राजेन्द्र थापाद्वारा लिखित उपन्यास ‘खेलौना’ पढियो । हाम्रो समाजले ‘सेक्स’प्रति राखेको संकुचित विचारको पर्दा च्यात्ने साहस गरेकै हुन् लेखकले । पढ्दै जाँदा प्रकाशनमा धेरै हतार गरिएको आभाष भयो, यद्यपि पुस्तकको अन्त्य राम्ररी भएको छ । ३० दिनमा लेखिएको रहेछ, कतै लेखकले एकरातमा ‘कुञ्जिनी’ खण्डकाव्य लेख्ने महाकविसँग आफूलाई तुलना गर्न खोजेका हुन् कि ! अहिले यो पुस्तक अधिक विक्री हुनुमा कारण यो पनि छ कि यो पुस्तक लेखिँदै गर्दा नै विभिन्न तरिकाबाट विज्ञापन गरिएको हो । जब कि प्रायः पुस्तकहरु प्रकाशनपछि मात्र बाहिर प्रकाशमा आउँछन् । 

संगतिको तिर्सना

Tweet म एकपटक एउटा पोखरीमा पुगेँ ।  पानी सफा थियो । तर, त्यहाँ केवल तीनवटा माछा थिए । ती तीन माछा यताबाट उता पौडिन्थे, उताबाट यता पौडिन्थे । पोखरीको चारकुनामा ठोक्किन्थे । उनीहरु छटपटाइरहेका जस्ता, डराएर लुक्न खोजेजस्ता, केही खोज्दा केहीपनि भेट्न नसकेकाजस्ता देखिन्थे ।  कुन्नी खै ! उनीहरु के खोजिरहेछन् मैले केही पत्तो पाउन सकिँन । कुनैदिन फेरि म अर्को पोखरीमा पुगेँ । पोखरीको साइज पहिलाको जस्तै लगभग उस्ता–उस्तै थियो । तर फरक के थियो भने यस पोखरीमा थुप्रै अनगिन्ति माछाहरु रहेछन् ।

के हामीले हाम्रो मुक्ति कहिल्यै गुमाउनेछैनौँ ?

Tweet येशूमा पाइने पापक्षमा (मुक्ति–उद्धार)मा विश्वास गरेर मृत्युबाट पार भएर अनन्त जीवनमा तपाईं–हामी सरिसकेकाछौँ । जँगली जैतुनको हाँगा भएर पनि असल दाखको बोटमा कलमी बाँधिएकाछौँ । अब हामी खाएपनि, हिँडेपनि, बाँचेपनि, मरेपनि येशूको लागि गर्छौँ । अब हामीले प्रस्तुत गर्ने हरेक क्रियाकलाप कुनै न कुनै रुपमा येशूसँग सम्बन्धित हुने नै भयो । हामी त आफ्नै होइनौँ, बरु मोल तिरेर किनिएका येशूका दासहरु पो हौँ त । यसरी येशूको नाऊँमा विश्वास गर्दा उद्धार पाइसकेको भन्दैमा हामी पुनः हाम्रो पुरानो स्वभावका खराब कामहरु दोहो¥याउनु मिल्छ ? अब अविश्वासी हुँदा पनि नगरेको काम विश्वासी भइसकेपछि गर्भपतन (गर्ने–गराउने) वा आत्महत्या गर्ने जस्ता पापहरु गर्दापनि के हाम्रो मुक्ति सुरक्षित छ त ? वा के यति सजिलै स्वर्ग छिर्न पाउँनेछौँ ?

चलाख पत्रुसको कथा

Tweet पत्रुस प्रभु येशूका एक चेला थिए । भनिन्छः उनी चञ्चले थिए; उनमा आत्मसंयमको कमी थियो; उनी हतारमा बोल्थे; अरु यस्तै त्यस्तै । एकपटक उनले बालकले जस्तै तर्क गरे; जतिखेर एउटा पहाडमा येशूको रुप चम्किलो भयो, त्यतिखेर मोशा र एलिया प्रभु येशूसँग बाचचित गरिरहेका पत्रुसले देख्यो । उसले भन्योः ‘.....म यहाँ तीनवटा वासस्थान बनाउनेछु, तपाईहरु तीनजनाको लागि’ (मत्ती १७ः४) । येशूले आफ्नो मृत्युको विषयमा बोल्नुहुँदा उनै पत्रुसले भनेका थिएः ‘मैले तपाईंसँग मर्नुपरे तापनि म तपाईलाई इन्कार गर्नेछैन’ (मत्ती २६ः३५)। तर, येशू पक्राऊ पर्नुभएकै रात भाले बास्न अघि पत्रुसले प्रभुलाई तीनपल्ट इन्कार गरे । उसको विचारै नगरी बोल्ने बानीको कारणले प्रभु येशूले उनलाई ‘शैतान’को उपनाम दिएर पनि हप्काउनुपरेको थियो (मत्ती १६ः२३)।

गाऊँघरको रिपोर्ट

Tweet स्थानः ऊँबू गा.वि.स (ओखल्ढुङ्गा) आसपास बगले डांडाबाट देखिएको सुर्योदयको दृश्य !  करिब तीन वर्षपछि गाऊँ फर्केँ । गाऊँबाट म धेरै टाढा परदेश पुगेको त पक्कै थिइँन; तरैपनि देशभित्रै बसेर पनि आफ्नो गाऊँ फर्किन यत्रो समय लाग्यो । अरुको नजरमा जतिसुकै कुरुप किन नहोस्, आफुलाई जन्म दिने आमा सँधै प्यारो अनि आदरणीय हुन्छिन् आफ्ना सन्ततिहरुका लागि । त्यस्तै जस्तोसुकै गरिबी वा असुविधाले किन नझेलिएको होस्; आफू जन्मेको–हुर्केको गाऊँ आफूलाई सँधै प्यारो नै हुँदोरहेछ । आफू त झन् त्यसै पनि भावुक मान्छे; आँखाको डिलमा आँसु बोकेको मान्छे; बेला–बेला गाऊँ सम्झेर गहभरि आँसु नपार्ने कुरै भएन । यसपटकको गाउँ–घरतिरको यात्राको व्यक्तिगत रिपोर्ट यसरी यहाँहरुमाझ राख्दैछुः

मैले आज सुनेको वचन

Tweet With David Pradhan #Dicon, Isai Pravuko Mandali, Itahari मितिः २०७१।०९।२४ शनिबार, इसाई प्रभुको मण्डली, इटहरी । हाम्रो चर्चमा एकजना डिकन हुनुहुन्छ, उहाँको नाम दाऊद प्रधान हो । पेशाले उहाँ रिक्सा चलाउनुहुन्छ । झट्ट हेर्दा सबैलाई अपत्यारिलो हुनसक्छ कि उहाँ कति धेरै परमेश्वरको ज्ञानले भरिएको मान्छे भनेर । उहाँको आँखा हाम्रो भन्दा धेरै कमजोर छ तापनि बडो मेहनतसाथ खुब बाइबल अध्ययन गर्नुहुन्छ भन्ने कुरा उहाँको प्रवचनहरुबाट प्रष्टै बुझिन्छ । उहाँ प्रायः मण्डलीमा ख्रीष्टियान जीवनमा हुनुपर्ने असल चरित्र र अनुशासनको बारेमा बोल्नुहुन्छ । उहाँद्वारा भएर परमेश्वर बोल्नुहुँदा म हरेक पल्ट केही न केही मेरो जीवनमा केही मूल्य थपिएको महशुस गर्छु । यसपटक उहाँले दिनुभएको प्रवचनको सारसंक्षेप सम्पादन गरेर मैले यसरी यहाँहरुमाझ राख्दैछु :

जुवामा नारिएको गोरु

Tweet गोरु किसानहरुका लागि प्यारो हुन्छ । पहाडतिर प्रायः खेतबारी जोत्नलाई गोरु नै प्रयोग गरिन्छ । गोरु हिँड्न नै नमिल्ने गराहरुमा मात्र मानिस आफैँले खन्नुपर्छ । खेतबारी जोतिसकेपछि बल्ल हामी बीऊ छर्ने काम गर्छौँ; आखिर जुनसुकै बीऊ किन नहोस् । तिनै खेतबारीबाट उब्जाऊ भएको अन्नले वर्षदिनसम्म खानेकुराको जोहो गर्ने हरेक किसानको चेष्टा हुन्छ । यसर्थ, जोत्ने गोरुको देन अति महान् छ, कृषिप्रधान देश नेपालका पहाडी कृषकहरुका लागि । गोरुको बारेमा बाइबलमा पनि यस्तो पद छः ‘जहाँ गोरुहरु हुँदैनन् त्यहाँ ढिकुटी खाली रहन्छ, अनि गोरुहरुको बलले नै प्रशस्त अन्न उब्जिन्छ’ (हितोपदेश १४ः४) ।

इमान्दार जनावरहरु

Tweet के हामी घरमा पशुहरु पालेका छौँ वा तिनीहरुको इमान्दारीतालाई जाँचेका छौँ ? हामी मानिसहरुलाई उसको बेहीसीपनमा फेला पार्दा पशुको उपनाम दिन्छौँ । ‘तँ त कस्तो कुकुरजस्तो रै’छस्’ भनेर गाली गर्छौँ । तर, स्वीकार गर्नुपर्ने कुरा यो छ कि, कतिपय हामी कुनै पशु वा कुकुर जति पनि विश्वासनीय र भरपर्दा पटक्कै छैनौँ । गाउँतिर उहिले मेरो फूपाजुको एक हल गोरु थियो । तर जोत्दा साह्रै खुट्टा चलाउने; बेइमानी हल गोरुजस्तो लाग्थ्यो ।

छानबिन गरौँ

Tweet बाइबलमा झट्ट हेर्दा त्रुटी जस्तै देखिने दुई सवालहरु यहाँ प्रस्तुत गर्दैछु; तपाईंहरुबाट सकरात्मक प्रतिकृयाको अपेक्षा छ । पहिलोः यहुदा इस्करियोतले येशू प्रभूलाई धोका दिएपछि आफैँलाई दोषी महशुस गरे । फलस्वरुप उसले लिएको चाँदीको तीस टुक्रा मन्दिरमा फ्याँकेर गयो र झुण्डिएर आत्महत्या ग¥यो । अनि मुख्य पूजाहारीहरुले उक्त रकम ढुकुटीमा राख्न अनुचित ठाने र आपसमा सल्लाह गरेर परेदशीहरुलाई दफन गर्न एक कुमालेको जमिन किने । यो घटना मत्ती २७ः३–८ मा उल्लेख छ । यही घटनाको भविष्यवाणी लगभग इसापूर्व ५०० तिर जकरिया अगमवक्ताले गरेका थिए (–जकरिया ११ः१२, १३) । तर मत्ती २७ः९ पदमा यो भविष्यवाणी यर्मियाले गरेका थिए भनेर लेखिएको छ; उनी इसापूर्व ६२६ तिरका एक अगमवक्ता थिए । यो एउटा शाब्दिक त्रुटि हुनसक्छ । मलाई जहाँसम्म लाग्छ; यर्मियाले यहुदा इस्करियोतको बारेमा केहि पनि बोलेका छैनन् । यद्यपि रिफरेन्समा जकरिया ११ः१२, १३ नै देखाइएको छ ।

लौ आयो क्रिसमस !

Tweet विगतका वर्षहरुमा झैं फेरि क्रिसमस फर्केर आएको छ । क्रिसमसको वहारले पृथ्वीको पल्लो कुना देखि अर्को कुनासम्म विश्वासीहरु लगायत अन्य मानिसहरुमा नयां उमङ्ग र उत्साह फैलिएको छ, जोहरु क्रिसमस संग परिचित छन् । तर,केही वर्षदेखि यता क्रिसमस सम्बन्धी नकरात्मक धारणाहरु र भ्रमहरुले पनि मानिसहरुलाई उत्तिकै भ्रमित पार्दै र बहकाउंदै लगेको छ । कतिपय ठाउंहरुमा क्रिसमसको नाममा अनावश्यक मोजमज्जा, अनैतिकता र उच्छृङखलताका खवरहररुले पनि उत्तिकै प्रश्रय पाइरहेका छन् । तीन वर्ष अघि एकजना मेरो नवपरिचित साथीले क्रिसमस मनाउन नहुने विचारहरु ममा व्यक्त गरेपछि क्रिसमस सम्बन्धी मेरो धारणामा ठूलो क्रान्ति आयो । तर जब क्रिसमस कार्यक्रमहरुमा सहभागी भएर म आफैंलाई प्रभुको महिमा गरिरहेको पाउंछु, क्रिसमस मनाएकोमा प्रभुले मलाई कहिल्यै दोषी नठह¥याउनुहुने कुरामा म ढुक्क हुन्छु । नत्रता म प्रभुका जनहरुसंग परमेश्वरको आराधना गर्दा गर्दै पनि म नर्कमा जानेछु ।

क्रिसमससँग जोडिएको हाम्रो कर्तव्य

Tweet हाम्रा गाउँ सहरहरु क्रिसमसको रौनकताले तातिएका छन् । घर–घरमा बत्तीहरु साँझमा चम्किरहेकाछन् । बाँस गाडेर टुप्पोमा झुण्ड्याइएको स्टारले येशू कतै यही नै पो जन्मिनुभएको हो कि भनेर झस्काइदिनसक्छ । क्रिसमस–ट्री सजाउने बेला पनि यतिखेर नै हो । साथीहरुलाई गिफ्ट र क्रिसमस कार्ड किन्दा–किन्दै हाम्रो खल्ती चिसो हुनसक्छ । चर्चहरुमा विशेषगरि युवाहरु बढी व्यस्त छन् । उनीहरुलाई चर्च झकिझकाऊ बनाउन र विभिन्न प्रतिभाहरुको प्रस्तुतीको तयारी गर्न ठूलो जिम्मेवारी छ । अगुवाहरुलाई पनि विभिन्न सुसमाचारीय कार्यक्रमको आयोजना गर्न अनि प्रचार गर्न भ्याईनभ्याई छ । क्रिसमसको अवसरमा आयोजना गरिने कार्यक्रहरु अनि ¥यालीहरुको नेतृत्व गर्नु सोचेजस्तो सजिलो पटक्कै छैन ।