यो होटलमा काम गरेको पाँच वर्ष भयो ।
यहाँ म–
बाथरुम टल्काउँछु,
कार्पेटमा धुलो रहन दिन्न ।
अझ मलाई त यस्तो लाग्छ–
झर्दो धुलोलाई नै टिपेर
भ्याकुमक्लिनरलाई ख्वाइदिऊँ ।
हरदिन–
मैले सुम्सुम्याएका सिंगमरमरमाथि
टकटक हिँडदा,
तपार्इँ शानदार महशुस गर्नुहुन्छ ।
नाङ्लो जत्रो छाती लिएर हिड्नुहुन्छ ।
तपाईँलाई ढोकामा कुरिरहेँ ।
तपाईँ बाहिर निस्किनुभयो ।
हतारमा हुनुहुन्थ्यो तालिम हलमा पुग्न ।
मैले भनें–
‘चाँबी मलाई छोड्नुस,
मैले तपार्इँको कोठा सफा गर्नु छ ।
मैले तपाईँको ओछ्यान मिलाउनु छ ।’
तर,
तपाईँ दोधारमा पर्नुभयो ।
अनि मसँगै फेरि भित्र छिर्नुभयो ।
वालेट मोबाइल गोजीमा हाल्नुभयो ।
हातमा घडी बाँध्नुभयो ।
ल्यापटप झोलामा हालेर भिर्नुभयो ।
अनि कोठाभरि आँखा डुलाउनभयो–
कतै तपाईँको मूल्यावान सामान छुटयो कि !
वास्तवमा,
यी सबै चीज परमेश्वरका थिए ।
तपाईको जीवन समेत पनि ।
तपाईको आफनो भन्ने केही थिएन ।
म ब्राम्हाण्डको मालिक परमेश्वरको सेवा गर्दछु ।
म एक उहाँको असल भण्डारे हुँ ।
म परमेश्वरको छोरा हुँ भन्ने कुरा
बुझ्नुभएको भए-
ममाथि यत्रो अविश्वास कहिल्यै गर्नुहुनेथिएन ।
Comments
Post a Comment