कोही रमिता हुन्छन्
अनि रमितेहरु रमिता हेर्न थाल्छन् ।
मनमनै रमाउँछ मानिस अरुको कमजोरी देख्दा ।
अरु रोएको देख्दा,
आफू त्यसरी कहिल्यै नरोएको अनुभव गर्छ मानिस ।
अरुलाई भोकै देख्दा,
आफू अनिकालमा कहिल्यै नपरेको अनुभव गर्छ मानिस ।
तर,
यी सबै हामी पार गर्दै आएका छौं ।
हामी सबै रोएका छौं ।
हामी सबै हाँसेकै छौं,
बरु कृत्रिम हाँसो नै किन नहोस् ।
हामी त एक परदेशी हौं ।
फर्किनुपर्छ एकदिन सबै–
आ–आफ्नो दस्तुर बुझाउन ।
घमण्ड गर्दै,
नाक प्वाक्क फुलाउने कारण त म केही भेट्दिन ।
कति क्षणिक छौं हामी ।
म एकदिन माटो बन्नेछु,
किनकी म माटोबाटै बनिएको थिएँ ।
यसरी नै कोही माटो बन्लान,
त कोही धुँवा बनेर माथि उड्लान्
कोही नर्क, कोही स्वर्ग............।
यी बाहेक अन्तिम बिन्दु त मानिसको–
म केही देख्दिन ।
कसले भन्न सक्छ–
स्वर्ग र नर्क जाने बाटोमा
म भट्टी पसल थाप्छु भनेर ?
नर्कको मुलढोकामा.........
तिम्रो सुसमाचारको केही अर्थ छैन ।
हीरा–मोतीको केही मूल्य हुँदैन ।
Comments
Post a Comment