( मितिः २०६३ भदौ १९ गते । )
म आफ्नै घरमा थिएँ, जहाँबाट मैले मेरो क्याम्पसको क्लास धाउने निर्णय गरेँ । म ड्रेस लगाएर तयार भएँ । मेरो लागि सर्ट एकदमै छोटो भइराखेको थियो ।
म मेरो बुवासँगै यो यात्रा थाल्छु । कसरी धरान पुगँे, पत्तो छैन । त्यसबेला मैले एकजना साथीको मागेर बजाउँदै गरेको गिटारको तार चुँडिएको सम्झेँ अनि हामी त्यहाँको एउटा पुस्तक पसलमा तार किन्न गयौँ । उक्त पसलमा थुप्रै कालो गिटारहरु पनि झुण्ड्याइएका थिए, जसले पहाडमा छोडिएको आफ्नै कालो गिटारको याद पनि दिलाइरहेको थियो । दुर्भाग्यवश हामीले तार नपाएपछि मेरो नौलो यात्रा सुरु हुन्छ भने बुवासँगको यात्रा यहि समाप्त हुन्छ ।
वास्तबमा म क्याम्पसतिर गइरहेको हुन्छु तर मैले बाटो बिराएँ कि भनेर कता–कता डराइराखेको थिएँ । बाटोमा हुलदंगा थियो, जहाँ जुलुस भइराखेको थियो । म पनि कसैको पक्ष लिएर नारा लगाउन थालेँ । अकस्मात् त्यहाँ फायरिङ चल्न थाल्यो । थुप्रै मान्छेहरु ढल्न थाले, मलाई पनि मेरो देब्रे काँधमा गोली लाग्यो; अनि म पनि ढलेँ । त्यहाँ डर–त्रासले मानिसहरु तितरबितर हुन थाले र म सँगै घाइतेहरुको चित्कार सुनियो । हामीलाई गोली हान्नेहरु हाम्रै छेऊ हुँदै गए ।
‘उद्धार टोली आउँदैछ, अनि तिमीहरुको उपचारका लागि हस्पिटल पु¥याइनेछ.....’ यो कसैको आवाज थियो, अनि म उठेर हिँड्न थालेँ । मेरो घाऊ एकदमै दुखिराखेको थियो । म उद्धार टोलीलाई पर्खिनबस्ने विचार गरेँ । जब फर्किँदै थिएँ, त्यहाँ बाटैमा एउटा स्कूल रहेछ । म मेरा पूराना साथीहरुसँग त्यहाँ भेट्छु । नरेन्द्रले तलदेखि माथिसम्म सेतो वस्त्र लगाएको थियो । शर्मिला र रौशन पनि केही पर बसिराखेको देख्छु, तर उनीहरुसँग म बोल्न पाउँदिन । अनि मेरो दुखिराखेको घाउको पीडालाई सहँदै अगाडि बढेँ ।
‘डाँकाहरु आउँदैछन् है छिटो भाग्नु ’ यो कोही चिच्याएको आवाज थियो अनि म पछाडी फर्केर हेरेँ । तीनचार जना मान्छेहरु मतिर आउँदै थिए । मेरो अगाडि ठूलो जंगल थियो, मेरो साथमा एकजना अपरिचित साथी पनि रहेछ । मेरो साथी उकालो लाग्यो भने म चाँहि ओरालेतिर कुदेँ । यो कुरा प्रष्ट थियो कि हामी निर्दोष थियौँ ।
म गएर एउटा रुखको फेदमा लुकेँ । डाँकाहरु आइपुगे अनि उकालो जाने साथीलाई खेद्न थाले । म लुकेको ठाऊँ एकदमै भीरको शिरमा थियो । मैले माथितिर हेर्दा दुइटा खैरो रंगका कुकुरहरु मतिर हेर्दै थिए । एउटा मोटो थियो भने अर्को स्याल जस्तै थियो । अति तिनीहरु झम्टिँदै मतिर आए । तर म त्यो ओरालोमा अलिकति छलिएर खुट्टा सारेँ । उनीहरुको वेग अति धेरै भएकोले रोकिन सकेनन् , र भीरबाट तल खसे ।
त्यसबेला मेरो लुगाहरु एकदमै भताभुङ्ग भइसकेका थिए । कतै फाटेको, कतै उध्रेको थियो । अब त्यहाँ मबाहेक अरु कोही थिएन । अनि म माथि बाटोमा उक्लेर घर फर्किने निर्णय गरेँ .................।