( मितिः २०६३ साउन १९ गते )
म कहाँबाट घरमा पुगेँ, त्यो मलाई थाहा छैन; तर यो प्रष्ट छ कि म कतै टाढादेखि भर्खर मात्र घरमा आईपुगेको छु । अनि मैले सम्झेँ पेकुमा क्यारोल भइरहेको कुरा । अनि म त्यहाँ जानको लागि तयार भएँ ।
हिँडेको मलाई याद छैन, एकैचोटि म आहालेमा समुयलको घरमा पुग्छु, त्यहाँका मान्छेहरु आ–आफ्नै काम गरिरहेका हुन्छन् । मैले सोधेँ–‘तपाईंहरु जानुहुन्न ?’ यस प्रश्नको उत्तर म पाउँदिन । ‘जानुहुन्छ भने जाउँ है !’ भन्दै म त्यहाँबाट हिँडे ।
झमक्क साँझ परेको छ, तर म जोशसाथ त्यो नौलो यात्रा थाल्दैछु.... । जब म हिँडिरहेको थिएँ..............बाटोमा मभन्दा माथितिर डिलहरुमा थुप्रै मान्छेहरु बसिरहेका थिए, मैले सोचेँ–‘यिनीहरु कतै खाउमो (भोज)मा गएका होलान् ।’ जसहरुका माझमा मेरो साथी मोहनलाई पनि देखेँ । आखिरमा थाहा भयो, कि उनीहरु कुनै मेलामा गइरहेका रहेछन् । हामी हुलमुल भएर हिँड्न थाल्यौँ ।
मैले विचार गरेँ, सायद अहिले पेकुको घनेशको घरमा क्यारोल भइरहेको होला ! तर............जब हामी खुला ठाऊँमा आइपुग्यौँ, मैले देखेँ कि पेकु गाऊँ मैले सोचेजस्तो थिएन । क्यारोल अबिराजको घरमा भइरहेको रहेछ । जहाँबाट उच्च स्वरमा गीत गाइरहेको बहिनी राहेल र ललिता आन्टीको स्वरलाई प्रष्ट चिन्दछु । जहाँ उज्यालो छ; गीतको बोल थियो–‘येशूमा आऊ तिमी.....तिमी छिटो ।’ गीत अत्यन्तै सुरिलो सुनिराखेको थिएँ । म त्यहिँ पुग्नु छ, बाटो सम्झेर अत्तालिन्छु ।
बाटोमा चारु अंकल सुतिराखेको देख्छु, पहिला उहाँको टाउको छैन भनियो; तर मैले हेर्दा उहाँको टाउको काटिएको थिएन । अनि फेरि हिँड्यौँ । मेला त बाटैमा रहेछ । त्यहाँ एउटा पुरानो र भित्र केही फराकिलो लामो हल भएको एउटा घर थियो । फिक्का प्रकाशको उज्यालोमा उक्त घरको झ्याल ढोकाहरु अति पूराना हुन् भन्ने मैले प्रष्ट देख्दै थिएँ । सबैजना भित्र पसे, म पनि उनीहरुसँगै छिरेँ । तर जब भित्र पसेँ; एउटा सानो लाइटर बाल्दै त्यस अध्याँरोमा मानिसहरु भोजन खाँदैथिए । त्यो भोजमा कोही कसैले मलाई नचिनेको जस्तो लाग्यो । ‘अब फेरि जान्छु’ भन्ने निर्णय गरिकन बाहिर निस्किन लाग्दा आफूलाई कम्मरभन्दा माथि नाङ्गै पाउँछु ।
बाहिर निस्केर आफ्नै भाइसँग लुगा राखिराख्न लगाएको सम्झी लुगा मागेँ । उसले दियो, जब म लुगा लगाउँदै थिएँ, त्यस बखत माइक्रोफोन समाइराखेको साथी नरेलाई देखेँ र सोधेँ –‘आज यहाँ कुनै साँस्कृतिक कार्यक्रम पनि छ कि ?’ उसले जवाफ दियो–‘त्यो त अवश्य ।’ फेरि सोधेँ–‘कहाँ–कहाँबाट ल्याउने रहेछन त?’ ‘खै खचापुबाट एउटा नाच छ रे ! नाटक चाँहि चोसपुमबाट ल्याउँछन् होला ’ अर्को साथी कुसाले जवाफ दियो ।
जब म हिँड्न लागेँ मैले मेरी आमालाई पनि देखेँ । उहाँले भन्नुभयो–‘हिँड्दै गर्छु, आउनु है ।’ मैले भनेँ–‘अहँ म त मेला हेरेर मात्र.............’ तर उहाँले –‘होइन होइन, छिटो आउनु । अझै दुई घरमा क्यारोल बाँकी छ ’ भन्दै फटाफट अगाडि लम्किनुभयो । अनि म पनि तयार भएँ त्यो यात्राको लागि.............. ।