माया पिरतीको हुरी कम्तिमा एकपटक हरेकको जीवनमा चल्छ । कतिजना टुङ्गोमा पुग्छन् । कतिजना हिँडदै जाँदा दोबाटोमा पुग्छन् । सम्झिल्याउने हो भने; यस्ता कुराहरुमा एकअर्कालाई दोष्याउने ठाऊँ कतै हुँदैन । तर पनि मायामा बिछोडिएकाहरु एकअर्कालाई दोष्याएर मनको पीर शान्त पार्छन् । यो राम्रो आइडिया हो । यसलाई सकारात्मक रुपमा लिँदा सायद राम्रै हुन्छ । पंखामा झुण्डिएर दुःख बिसाउनुभन्दा त यो आइडिया कहाँ हो कता राम्रो हो ।
एकपटक म एउटा युवा सम्मेलनमा सहभागी भएको थिएँ । ‘प्रेम र विवाह’को बारेमा सिकाउँदै गर्नुभएका वक्ताज्यूले ‘ख्रीष्टियन युवा–युवतीहरुले गैह्र ख्रीष्टियन मानिसहरुसँग प्रेममा फस्नु गलत हो’ भन्दै गर्दा सहभागी थुप्रै जवानहरुको मुहार खिन्नताले भरियो । आत्मग्लानीले भनौँ वा हीनताबोधले; उनीहरुले शिर निहुराए ।
हाम्रा थुप्रै जवान साथीहरु अन्यजातिहरुसँगको प्रेम सम्बन्धको कारणले प्रभुसँगको आत्मिक जीवनमा भुसुक्कै भएका छन् । नयाँ किशोर–किशोरीहरु जान–अन्जानमा प्रेमको दुनिँयामा अलपत्र परेका छन् ।
अइसाईसँग प्रेम गर्नु मिल्ने कि नमिल्ने ?
क्रिश्चियन युवायुवतीहरुले गैह्रक्रिश्चियनसँग प्रेम गर्न मिल्ने कि नमिल्ने ? यो विषयमा प्रायः जवानहरु रनभुल्लमा परेका छन् । उनीहरु दोधारमा पेन्डुलमभैँ हल्लिरहन्छन् । हामी क्रिश्चियनहरु परमेश्वरको प्रेमको खातिर अरुलाई प्रेम गर्न र प्रेम देखाउन बाध्य छौँ । प्रभु येशूको प्रेमले गर्दा हामीले अरुलाई प्रेम गर्न कर लाग्छ । यसैले प्रेम गर्नु गलत कसरी हुन सक्छ ? हामी त आफूलाई जस्तो गरियोस् भनेर सम्झन्छौँ अरुलाई पनि त्यस्तै व्यवहार गर्नुपर्नुे मानिसहरु हौँ । आफ्नो छिमेकीलाई आफैँलाइैझैँ पे्रम गर्नुपर्ने मानिसहरु पो होइनौँ र ? त्यसोभए गैह्र इसाईहरुसँग प्रेमको माला उनेर प्रेमको सागरमा हराउनु पक्कै गलत कुरा कसरी हुनसक्छ ? तर एकछिन् प्रेमको विषयमा छोटकरीमा हेरौँ ।
प्रायः हामीले पढेको सुनेको हुनुपर्छ, चारप्रकारको प्रेमको बारेमा । ती निम्न छन्,
क) स्टोर्गे प्रेम: परिवारका सदस्यहरुबीचमा हुने प्रेम, आमा–बुवा र छोरा–छोरीबिचको प्रेम, एकै परिवारका दाजुभाई–दिदीबहिनीबिच हुने प्रेम ।
ख) फिलियो प्रेमः भातृप्रेम, साथीभाईहरुसँग हुने प्रेम ।
ग) इरोस प्रेमः आकर्षणको कारणले सुरु हुने प्रेम, श्रीमान–श्रीमतिबिचको प्रेम, अर्थात अविवाहित युवायुवतीले एकअर्कालाई गर्ने प्रेम पनि इरोस प्रेम नै हो ।
घ) अगापे प्रेमः इश्वरीय प्रेम, यो परमेश्वरले गर्नुहुने प्रेम, हामी जतिसुकै कसैलाई प्रेम गरौँ तर, त्यो परमेश्वरले गर्नुहुने प्रेम बराबर कहिल्यै हुन सक्दैन ।
आज यहाँ मैले औँल्याउन चाहेको प्रेम ‘इरोस प्रेम’को विषयमा हो । अगापे प्रेमबाहेक अरु प्रेम मानिसको जीवनमा समस्याको कारण विरलै बन्न सक्ला, तर माथिका चारप्रकारको प्रेममा मानिसहरुको लागि सबभन्दा बढी समस्याको कारण बन्न सक्ने प्रेम चाँहि ‘इरोस् प्रेम’ नै हो । प्रेम आफैँमा नराम्रो कुनै हालतमा होइन भन्ने कुरा १कोरन्थी १३ अध्यायमा पढ्न सक्छौँ, तर इरोस् प्रेम हाम्रोलागि खतरा कसरी बन्न सक्छ भन्ने कुरा अब विचार गर्नेछौँ ।
थाहा पाइसक्यौँ कि गर्लफ्रेण्ड ब्वायफ्रेण्डबिचको प्रेम पनि एकअर्कामा आकर्षित भएको कारणले सुरु भएको प्रेम हो । हुनसक्छ थोरै वा धेरै फटाहा, बदमासहरुले टाइम पासको लागि एकअर्कालाई प्रेम गर्लान्, तर धेरैजसोको प्रेम गर्नुको उद्देश्य भनेको प्रेमी–प्रेमिका हुनु मात्र नभएर भविष्यमा गएर एकअर्काको लागि जीवनसाथी (श्रीमान–श्रीमति)बन्नु पनि हो । त्यसो हो भने हामीले कसैसँग प्रेमको सुरुवात गर्नु अघि खुब होश विचार पु¥याउनैपर्छ ।
बाइबलमा एउटा खण्ड यस्तो छः ‘अविश्वासीहरुसँग एउटै जुवामा ननारिओ । किनकी,......अँध्यारोसँग उज्यालोको के सहभागिता? .....वा विश्वास गर्नेको विश्वास नगर्नेसित के समानता ? मुर्तिहरुसँग परमेश्वरको मन्दिरको के सम्झौता ?’ (२कोरन्थी ६ः१४–१६) । यो खण्डको अर्थ लगाउने तरिका थुप्रै होलान् । तर एउटै जुवामा नारिएर हिँड्ने कुरालाई जीवनसाथी वा श्रीमान–श्रीमति बिचको सम्बन्धको रुपमा अर्थ लगाउनु बहुतै सान्दर्भिक देखिन्छ । यसरी बाइबलको यो आज्ञालाई केही कठोर रुपमा पालन गर्ने हो भने इसाई युवायुवतीले गैह्र इसाई युवायुवतीसँग मायाजालमा फस्नु पटक्कै मिल्दैन । हामी विश्वासी हौँ । येशू ज्योति हुनुहुन्छ; उहाँलाई पछ्याउनेहरु उज्यालोमा रहन्छन् । हामी परमेश्वरको मन्दिर हौँ र पवित्र आत्मा हामीमा बास गर्नुहुन्छ । यसैले पनि माथिको वचन अनुसार अविश्वासीहरुसँग प्रेमको जालमा पर्र्नुहुँदैन ।
हुन त हामी संसारमै छौँ र बाँचुन्जेल यही धरतीमा बस्नुपर्छ । तरपनि प्रभु येशू भन्नुहुन्छः ‘तिमीहरु यस संसारका होइनौ’ । अर्थात् हामी येशूको रगतले मोल तिरेर किनिएका हौँ, हामी आफ्नै होइनौँ । त्यसोभए सँसारको जुवामुनि पर्नु हाम्रो लागि सुहाउने कुरा पटक्कै होइन । मुर्तिपूजा गर्दा परमेश्वर अप्रसन्न हुनुहुने कुरा प्रस्थान ३४ः१४ पदमा उल्लेख भएको छ । उहाँ भन्नुहुन्छः ‘म डाह गर्ने परमेश्वर हुँ ।’ त्यसो हो भने अविश्वासीहरुसँग एउटै जुवामा नारिएर पनि किन परमेश्वरलाई डाही तुल्याउने ?
तर भ्रमको यस्तो छः
अविश्वासीहरुसँग एउटै जुवामा ननारिनुको अर्थ उनीहरुसँग कुनैपनि प्रकारको सम्बन्ध नै नराख्नुपर्ने हो कि भन्ने पनि हुनसक्छ । त्यसो हो भने त हामीलाई बाँच्न धेरै नै गाह्रो पर्नेछ । प्रथम कुरो त प्रभुलाई नचिन्नेहरु सबै खराब हुन्छन् भन्ने पनि होइन । प्रभु येशू पनि पापीहरुको उद्दार गर्न आउनुभएको कारणले बरु हामी पनि पापको दासत्वमा परेकाहरुसँग मित्रता गाँस्न सक्छौँ, उनीहरुको अघि येशूको साक्षी बन्न सक्छौँ ; ‘...हामीलाई यस संसारका व्यभिचारीहरु, लोभीहरु, वा लुटाहाहरु वा मुर्तिपुजकहरुसँग बिल्कुलै सँगत नगर्नु भनिएको होइन; नत्रता हामीहरु संसारबाट नै निस्किजानुपर्ने थियो’ (१कोर. ५ः१०) ।
हामी सकेसम्म सबैसँग मिलेर शान्तिमा बस्ने हो । बरु उनीहरुलाई सु–समाचार सुनाउने हो । हामी एक अर्कालाई साथी, आफन्त वा इष्टमित्रको रुपमा प्रेम र वास्ता गर्नसक्छौँ । सँगसँगै थुप्रै कार्यहरुमा सहकार्य गर्नसक्छौँ । फेरि दोहो¥याऊँः प्रेम गर्न नमिल्ने होइन, तर प्रेमको टुङ्गो जीवनसाथीमा पुग्ने हो भने चाँहि अइसाईसँग प्रेम सम्बन्ध मनाही छ । यसो भन्दै गर्दा कतिपयको विचारमा विवाह गर्नु एकहप्ता अघि केटा वा केटीलाई बप्तिस्मा दिँदा सकिगो नि ! भन्ने धारणा पनि आयो होला । तर दिनहरु भनेजस्तो पटक्कै हुनेछैन ।
कतिपयको बुुझाईमा प्रेम अनि विवाहको कारण एउटा आत्मा बचाउने बहाना पनि देखिन्छ । तर अविश्वासीहरुलाई प्रभुमा ल्याउने यो काइदा पटक्कै ठीक छैन । प्रभुलाई विश्वास गर्ने भनेको कुनै केटा वा केटीको कारणले होइन । श्रीमान–श्रीमति एकअर्काको लागि क्रिश्चियन बन्ने भन्ने कुरा आउँदैन । पहिलो कुरा त ख्रीष्टियन हुनु भनेको परमेश्वरसँगको व्याक्तिगत सम्बन्धको सुरुवात हो ।
‘‘म एक इसाई ठिटो थिएँ, बप्तिस्मा पनि पहिले नै लिएको । कलेज पढ्दै गर्दा एक अइसाई केटीलाई मन परेको कारणले भगाएर ल्याएँ । किनकी हाम्रो आस्था नमिल्ने भएकोले हामी दुवैको परिवारको साथ पाउन असमर्थ थियौँ, र भाग्नुभन्दा अर्को विकल्प हामीसँग थिएन । तर म परमेश्वरको प्रेममा भिजेको कारणले पछि पुनः मण्डली जान सुरु ग¥यौँ । सुरुको एक महिना मण्डलीले हामीलाई अनुशासनमा राख्यो । अहिले मेरी श्रीमतिले पनि प्रभुलाई ग्रहण गरिसकेकी छिन् । सायद परमेश्वरको इच्छा पनि यस्तै थियो होला । जेहोस् मैले एउटा आत्मालाई प्रभुमा जित्ने मौका पाएँ’’ यस्तो खालको हुतिहारा गवाही बाँड्नु एक इसाई लक्का जवानको लागि साह्रै लाजमर्दो कुरा हो ।
इसाईहरुको अइसाईसँग लभ पर्ने सम्भावनाः
पढाईको बहानामा सँगतिमा अनुपस्थित हुने, बाइबल अध्ययन गर्ने समय नहुने कुरा सुनाएर तर्किनु ख्रीष्टियन विद्यार्थीहरुलाई साह्रै सजिलो छ ।
‘बाइबल पढ्ने समय किन छैन ?’
‘स्कूल–कलेजकै किताब कति पढ्नु छ दादा......!’
‘सँगति किन आउन छोडेको ? के भयो ?’
‘आउनु त भनेको, तर परीक्षाको तयारी गर्नुछ ।’
माथिको वार्तालाप; तपाईँ–हाम्रो मण्डलीको जवान सँगतिको सामुहिक साझा समस्या हुनसक्दछ ।
इसाई केटा–केटीको अन्यजातिहरुसँग मायाप्रेममा पर्नुको मुख्य सम्भावना आजभोलिको समयमा स्कुल–कलेजको कारणले गर्दा नै हो । मैले पनि मेरो स्नातकसम्मको पढाई सिध्याउँदासम्म जति कक्षाहरुमा पुगेँ, त्यहाँ इसाई विद्यार्थी एक–दुईजना मात्र; नत्र प्रायः एक्लै परेँ । यसो हुँदा हाम्रो बढी सँगत र सम्बन्ध अइसाईहरुसँग नै हुनजान्छ । अनि एकअर्कामा आकर्षित हुनु र मायाजालमा फस्नु कुन ठूलो कुरा भयो र !
पढाईको बहानामा सँगतिमा नजाने, चर्चमा आयोजना हुने युवा सम्मेलनहरुमा सहभागी नहुने; यस्तै–यस्तै कारणहरुले आफ्ना इसाई साथीसँगीहरुको सञ्जालबाट टाँढिदै जाने खतरा बढ्छ । अनि त कागको बथानमा कति दिन बकुल्ला हुने ? बरु आफू पनि काग भइदिने, छैन त गजब ? तर यो गजबको परिणामको मूल्य चुकाउनुपर्दा छर्लङ्ग घैँटोमा घाम लाग्नेछ । यसैले कसैलाई जीवनसाथीको रुपमा प्रेम गर्दै अघि बढ्न अघि दशपटक ठण्डा दिमागले सोचौँ ।
अन्त्यमा टुक्राटाक्रीः
हामीले केही अपवादहरु देखेकाछौँ होला; इसाई केटा–अइसाई केटी वा अइसाई केटा–इसाई केटीको भागेर होस् वा विधि पु¥याएर; विवाहपश्चात सबै कुराहरु ठिकै भएको, राम्रै भएको । तर यस्ता कुराहरुको कारणले तपाईँ–हामी अविवाहितहरु त्यस्तो प्रकारको बाटो रोज्न प्रेरित हुनुहुँदैन । त्यस्तो गलत बाटो रोज्नेहरु सबै राम्रो भएका पटक्कै होइनन् । कहीँ–कतै आक्कलझुक्कल देखिएका कुरा हुन् । पछि आउने भावी पुस्ताको अघि जवाफदेही नहुनको लागि पनि यदि हामी गलत मार्गमा छौँ भने सही मार्गमा आउन आनाकानी गर्नुहुँदैन । केही दिन दुःख–पीडा, चोटको महशुस हुन्छ होला..........तर सम्हाल्ने प्रभु हुनुहुन्छ ।
जोसुकैसँग; आफूले चाहेको मान्छेसँग मायापिरती गाँस्न पाइने कुरा अधिकारसहितको तर्क निकाल्न सकिन्छ होला । तर, याद गरौँ; हामी इसाई हुनुले परमेश्वरसँग र सँसारसँग हाम्रो जीवनको सम्बन्धले के अर्थ लाग्छ ? तर्ककै आधारमा असललाई खराब र खराबलाई असल देखाउने दुस्साहस कसैले गर्नुहुँदैन । प्रेम हाम्रोलागि शक्तिको कारण बन्नुपर्छ; कमजोरी होइन । आखिर असल वा खराब छुट्याउने ज्ञान परमेश्वरले सबैलाई दिनुभएकै छ । केटा वा केटीलाई बप्तिस्मा दिएको भोलिपल्ट चर्चमा विवाहभोजको आयोजना गर्नु एक विवेकी इसाई युथको लागि शोभनीय पटक्कै हुनेछैन ।
(नोटः यो लेख लेखिनुको उद्देश्य अविवाहित इसाई किशोर–किशोरी तथा युथहरुको सचेतनाको लागि हो । संयोगवश कोही–कसैलाई चोट पुग्नगएको छ भने मलाई ख्रीष्टको प्रेममा आफ्नै भाई वा दाई सम्झेर क्षमा गर्नुहोला । धन्यवाद ।)