Suman Rai (Right) with Bishop Dr. Narayan Sharma |
मैले उहाँलाई भाई भन्न त पक्कै नमिल्ने हो कि जस्तो लाग्छ; उमेरको हिसाबले मात्र नभएर धेरै कुराको तुलनामा म त उहाँको नाति सरहको मान्छे । तर, हरेकपटक जब ‘आत्मिक यात्रा’ रेडियो कार्यक्रम सुन्छु उहाँ ‘म तपाईहरुको आफ्नै भाई.....’ भन्दै कुरा सुरु गर्नुहुन्छ । अनि त ‘भाई’ भन्नै प¥यो; कि कसो ? खै ! भाईले त मलाई चिन्छन् कि चिन्दैनन्, तर उहाँलाई म धेर–थोर चिन्दछु । चिनजान हुनु नै ठूलो कुरो त पक्कै होइन तर ‘आत्मिक यात्रा’ कार्यक्रमकै कारणले किन–किन भाईलाई साह्रै नजिकको मान्छे लाग्छ ।
वि.सं २०६० सालदेखि म नियमित चर्च जान थालेँ । मेरो ख्रीष्टियान जीवनको सुरुवाती दिनहरुमा एकदिन ‘हाम्रो आशिष’ नामक पत्रिका हात प¥यो । त्यहि पत्रिकामा पहिलोपटक ‘आत्मिक यात्रा’ रेडियो कार्यक्रमको प्रसारण तालिका देखेँ ।
उतिखेर गाऊँमा रेडियो खुब सुनिन्थ्यो । प्रायः सबै घरमा रेडियो हुन्थ्यो । टि.भी.को चलन थिएन । मैले थाहा पाउँदा गाउँभरिमा टि.भी. भएको घर एउटै थियो गाउँले आफन्तको; जुन घरका दुई–दाजुभाई ब्रिटिश आर्मीमा जागिरे हुनुहुन्थ्यो । त्यही घरमा विश्वकप फुटबलको समयमा गाउँभरिका मानिसहरु भेला हुन्थे । म पनि पुग्थेँ ।
आजभोली गाउँमा थोरैले रेडियो सुन्छन्, अति थोरैले टि.भी. हेर्छन् र धेरैले फेसबुक चलाउँछन् ।
‘आत्मिक यात्रा’ रेडियो कार्यक्रमको प्रशारण तालिका हात परेपछि मैले विरलै मात्र यो कार्यक्रम सुन्न छुटाएँ । नत्र हरेकदिन कार्यक्रम आउने साँझ म रेडियो बोकेर कान थापेर बस्थेँ । कार्यक्रम १५ मिनेटको मात्र हुन्थ्यो, अहिले पनि त्यस्तै छ । कार्यक्रमको सुरुतिर पनि ‘म तपाईहरुको आफ्नै भाई.....’, अन्ततिर पनि ‘म तपाईहरुको आफ्नै भाई.....’; मलाई बडो खुल्दुली लाग्थ्यो को हो यो आफ्नै भाई ? नाम चैँ कहिल्यै भन्ने होइनन् । यति मिठो मधुर स्वरमा, छेऊमै बसेर कुराकानी गरेजस्तो काइदाले १५ मिनेट बोल्ने अनि दिनभरि सोच्न लाउने यी भाई को हुन् ? मैले दायाँ–बाँया अगुवाहरुलाई सोधखोज गरेँ, तर कतैबाट भाइको बारेमा एकिन खबर आएन ।
भाईको नाम यसरी पत्ता लाग्योः
गीत–संगीतमा म विशेष रुचि राख्ने मान्छे । विश्वासी भएपछि धेरैभन्दा धेरै विश्वासी भजनहरु नै सुन्नु मेरो कर्तव्य पनि हो । तर, भजन सुन्न र सिक्नका लागि मसँग स्रोतहरु सिमित थिए । प्रायः चर्चमा पनि स्थानीय अगुवाहरुबाट रचना गरिएको भजनहरु नै बढी गाइन्थ्यो । ख्रीष्टिय भजन किताबको गीतहरु राम्ररी सिकाउने मान्छेहरु पनि खासै थिएनन् । उमो (हजुरआमा) सिक्किमबाट फर्किनुहुँदा क्यासेट प्लेयर ल्याउनुभएको थियो । त्यसमा भजनका क्यासेटहरु सुन्थेँ । जम्मा दुईजोर ब्याट्री लाग्थ्यो क्यासेट प्लेयरमा, उसबेला ब्याट्री जोडीको पच्चीस रुपैँया पथ्र्यो । यसैले नढाँटी भन्नुपर्दा धित मरुञ्जेल गीतहरु सुन्ने अवस्था थिएन । सुन्दापनि तिनै क्यासेटहरु कतिपल्ट सुन्नु जस्तो पनि लाग्थ्यो ।
तिनै समयमा १५ मिनेटको ‘आत्मिक यात्रा’ कार्यक्रममा बज्ने लगभग २ वा ३ मिनेटको भजन मेरोलागि दुर्लभ रत्नजस्तै थियो; जिब्रोमा परेको महको चाकाजस्तै, तिर्खाएको बेलामा एक गिलास चिसो दुधकोशीको पानी कोहीबाट पाएजस्तै ।
तर दुर्भाग्यवश नै भन्नुपर्ला, कहिलेकाँही समय अभावको कारणले होला; भाइले कुनै भजनका टुक्रा नबजाईकन नै कार्यक्रम टुङ्ग्याइदिन्थे । कार्यक्रमको सन्देश त सधैँ मिठो नै हुन्थ्यो तर भजन नबजेको दिन साह्रै खल्लो लाग्थ्यो । भाइले आज किन गीत बजाएनन् भनेर मन खिन्न हुन्थ्यो ।
भजन नबजाएपनि हरेक पटक कार्यक्रमको अन्तमा ‘मलाई पत्रव्यबहार गर्नुहोला.......मलाई तपाईंको पत्रको सँधै प्रतिक्षा रहनेछ’ भन्न भाईले कहिल्यै छुटाएनन् । यसैले भाईलाई एउटा पत्र लेख्ने जमर्को गरेँ ।
चिठी तयार भयो । टिकट टाँसेर हुलाकमा पोष्ट गरेँ । केही सुख–दुःखका कुरा, केही कार्यक्रमको प्रशंसा अनि एउटा सबभन्दा ठूलो अनुरोध लेखेको थिएँ पत्रमा । अनुरोध चाँहि यहि थियो कि ‘जसरी भएपनि एउटा भजन बजाईदिनुहोला’ ।
करिब एक महिना पछि भाईको जवाफ–पत्र घरमा आइपुग्यो । भाइले आफ्नै हातले लेखेको पत्र । पत्र पढेँ । साह्रै आनन्द आयो । पत्रमा मलाई पत्रव्यबहारको लागि विशेष धन्यवाद भनिएको थियो । समय अभावको कारणले भजन राख्नु छुटेको भन्ने मेरो अनुमान सही रहेछ भन्ने कुरा भाइको पत्रबाट थाहा भयो । तरपनि पत्रमा बाचा थियो कि ‘हामी एउटा भजन राख्ने प्रयास अवश्य गर्नेछौँ’ ।
अनि पत्रको अन्त्यमा लेखिएको थियो ‘सेवामाः नारायण शर्मा’ । म साह्रै रोमाञ्चित भएँ । ठूलै कुरा आविष्कार गरेजस्तो मलाई भयो । यत्तिका दिनदेखि सुन्दै आएको आफ्नै प्रिय भाई त ‘नारायण शर्मा’ पो रहेछन् ।
मैले अनुरोध गरेकै कारणले हो कि अरुले पनि भनेर हो, त्यो दिनदेखि यता भजनको सानो टुक्रा नबजाइएको भाईको कार्यक्रम सायदै कहिल्यै प्रसारण भएन होला । ओखल्ढुङ्गाको उँबू गा.वि.स जस्तो एक सुदुर विकट गाउँको म एक ठिटोलाई तुरुन्त पत्रको जवाफ दिने भाईप्रति म साह्रै कृतज्ञ भएँ ।
अरुले पनि कार्यक्रम सुन्थे र कार्यक्रमको तारिफ गर्थे । तर म मनमनै भन्थेँः ‘तिमीहरुलाई के थाहा ? यो बोल्ने मान्छे नारायण शर्मा हो भनेर’ । कतिजनालाई यो कार्यक्रममा बोल्ने भाई चाँहि फलानो हुन् है भनेर भाईको नाम पनि सुनाउँथेँ ।
पहिलोपटक भाइलाई देखेँः
वि.सं २०६२ साल चैतको एसएलसीको परीक्षा दिइसकेको थिएँ । ०६३ सालको जेठ–असारतिरको महिना हुनुपर्छ । काठमाडौँबाट एउटा पत्र मण्डलीमा आइपुग्यो । एउटा बाइबल कलेजको विद्यार्थीहरुको दीक्षान्त समारोहमा सहभागी हुन अगुवाहरुलाई आमन्त्रण गरिएको रहेछ । अगुवाहरुसँग म लगायत चारजनाको टोली राजधानी उड्यौँ । यो भन्दा अगाडि काठमाडौँको सिमेन्ट घारीमा म कहिल्यै पसेको थिइँन । रुम्जाटारबाट लगभग आधा घण्टामा काठमाण्डु ओर्लिँदा सपना हो कि विपना जस्तो लागेको थियो । यसरी हामी ललितपुरको बेथेल चर्चमा पुग्यौँ ।
उक्त समारोहको तीनदिने कार्यक्रमको दोश्रो दिनतिर वरिष्ठ गाएक कर्णदास पनि आए । एउटा बाइबलको खण्ड पाठ गरे अनि भजनकै रुपमा दुईचार लाइन ब्याख्या गरेर ‘जीन्दगीको के भरोसा–यो त सानो खेलौना हो’ गीत घन्काए । यो चर्चित गीत कताकता भजनकै रुपमा चर्चमा गाउनु चैँ अलिक नसुहाएको हो कि जस्तो महशुस मलाई उसबेला नै भयो । अन्ततिर ‘म बेकार म शुन्य मानिसलाई......’ बोलको गीत गाए, जसले औधी मन छोयो । ‘यो गीत हालै रेकर्ड भएको, बाहिर आइसकेको छैन’ भनेका थिए उनले ।
त्यही समारोहको अवसरमा एउटा सेसनको वचनको समयमा पुल्पिटमा एउटा मानिस देखापरे । झण्डै–झण्डै रातो, गाढा गुलाबी छिर्केमिर्के हाफ सर्ट लगाएको, कपाल सेतै फुलेको । अलिक टाढा भएर हो वा दृष्टिभ्रम भएर हो, मैले त्यस्तै देखेँ । हल्ला पनि थोरबहुत भएकोले अगाडि वक्ताको नाम सुन्न पाइएन । ताली मात्र बजाइयो । वक्ताज्यूले दुई मिनेट जति पूरा अंग्रजीमा प्रार्थना गर्नुभयो । अनिमात्र बल्ल नेपालीमा कुरा सुरु गर्नुभयो । स्वर सुनेर झस्केँ । कताकता सुनेजस्तो लाग्यो स्वर अनि बोल्ने शैली । मलाई झसङ्ग भाइको याद आयो । सोध्नै आँटेको थिएँ छेऊछाऊमा । तर कसैले साइडमा कुरा गरेको सुनेँः ‘‘ ‘आत्मिक यात्रा’ कार्यक्रममा बोल्ने नारायण शर्मा यिनी नै हुन् ।’’ म ढुक्क भएँ ।
आनन्दले वचन सुनियो । ओहो ! आज त आफ्नै भाईको प्रवचन नजिकै बसेर सुन्ने मौका मिल्यो भन्ने सम्झेँ । प्रवचनपछि भीडलाई चिर्दै हाम्रै छेऊ हुँदै भाई आफ्नो बाटो लागे । वचन बोलिन्जेल भाई पुल्पिटको माइकबाट दाँया–बाँया पटक्कै गरेनन् । हल्लिएनन् । एकदम सीधा भएर बोले । पछि अरुले ‘रेडियो कार्यक्रममा नहल्लिइकन बोल्ने बानीले गर्दा होला....’ भनेर भाईको कुरा काटेको सुनियो ।
भाईको स्वरमात्र सुनेको । अनुहार कस्तो ? जीऊडाल कत्रो ? सायद कल्पनासम्म गरेको हुँला । तर, भाईलाई आमनेसामने देख्न पाउँदा पहिलो काठमाडौँ यात्रा पनि साकार भएजस्तै लाग्यो । भेटेको भए गफगाफ, कुराकानी हुन्थ्यो होला, त्यस्तो भएन । यसैले भाईलाई भेटेँ भन्नुभन्दा पनि देखेँ भन्नु नै मलाई अलिक बढी आधिकारिक होला कि !
भाईसँग पछिल्लो भेटः
२०६३ सालदेखि मैले गाऊँ छोडेँ । ०६५ सालदेखि यता इटहरीकै स्थानीय मण्डलीमा सदस्य भएर सेवकाई गर्दै आएको छु । मण्डलीको नाम इसाई प्रभुको मण्डली हो ।
अब ठीक चार वर्ष पुग्यो । अंग्रेजी वर्षको २९–३१ मार्च, २०११ मा विलिभर्स चर्चको चौथो जिल्ला बार्षिक सम्मेलन तथा आत्मिक जागृति सम्मेलन हाम्रै चर्चमा सम्पन्न भयो । वास्तवमा उक्त सम्मेलन विलिभर्स चर्च समुदायको लागि मात्र विशेष केन्द्रित थियो । अन्तिम दिनमा म पनि गएँ । भाईलाई भेटेँ । फोटो खिचेँ । कार्यक्रमको अन्ततिरको उहाँको मन्तव्य सुनेँ । भाईको सेवकाईको क्षेत्र परदेशतिर सरेको कुरा पनि उत्निखेरै सुनेँ । एकमनले त किन होला ? जस्तो पनि लाग्यो । कार्यक्रमपछि हामी सबैजना आ–आफ्नो घरतिर लाग्न चर्चबाट तितरबितर भयौँ । भाईसँगको पछिल्लो भेट यहि हो ।
किन लेखेँ यो सँस्मरण ?
त्यहि नै थियो कुनै समय; जतिखेर म रेडियोको एन्टिना तन्काउँदै घर आँगनको डिल, बारीहरुको डिलमा चढेर बडो व्यग्रताकासाथ ‘आत्मिक यात्रा’ कार्यक्रमको प्रतिक्षा गर्थेँ । त्यही नै थियो त्यो मधुर स्वर; सरल भाषामा कुरा गर्ने; जसबाट परमेश्वरसँग नजिक हुने थुप्रै गम्भीर तरिकाहरुको बारेमा सिकेँ । नयाँ भजनहरु सुनेँ । कुनै समय भाईको आफ्नै हातले लेख्नुभएको चिठी पनि मसँग थियो ।
मेरो ख्रीष्टियन जीवनको आत्मिक पाटोमा ‘आत्मिक यात्रा’ रेडियो कार्यक्रमले केही न केही मूल्य अवश्य थपिदिएको छ । अहिले पनि प्रायः इन्टरनेटमा यो कार्यक्रम सुन्छु । सुन्दै गर्दा कहिलेकाँही पूराना दिनहरु तिर फर्किन्छु......गाऊँको त्यो मिठो सिरेटो, .....फिलिप्स कम्पनीको रेडियो र एन्टिना, ......टाइगर....लायँन, इभरेडीका ब्याट्रीहरु...... आदि–इत्यादि ।
आजभोली उनै भाईको फेसबुक अपडेटहरु प्रायः सबै हेर्छु । फेसबुकले नजिक बनाएझैँ लाग्छ । तर गफगाफ त्यति हुन्न । भाईले जे बोल्छन् सत्य बोल्छन् । सँधै राम्रो गर्छन्, असल कुरामात्र सोच्छन्, मलाई त यस्तै लाग्छ । परमेश्वरको मुहार हँसिलो पार्ने काममा भाई जीवनपर्यन्त लागिरहुन् । उनै भाई नारायण शर्माप्रति ख्रीष्टको प्रेममा मेरो हृदयदेखि नै ठूलो स्नेह छ; आफ्नै भाई भन्दै गर्दा उहाँप्रति एक ख्रीष्टको सेवकको रुपमा मेरो सँधै उच्च सम्मान रहनेछ । अब्राहाम, इसहाक अनि याकुबका परमेश्वर भाईसँग सदासर्वदा रहिरहुन् । सारा आदर, महिमा, भक्ति सदासर्वदा हाम्रा जिवित परमेश्वरकै भइरहोस् । आमिन् ।