स्थानः दर्बेशा–९, रन्जनी–मोरङ्ग
आज यो डायरी बिल्कुल नयाँ ठाऊँबाट लेख्दैछु । म कामको सिलसिलामा मोरङ्ग जिल्लाको देर्वेशा गा.वि.समा आईपुगेको छु । अफिस बवियाविर्ता गा.वि.स लक्ष्मीपुरमा छ । सँस्थाको नाम ‘लुथरन सामुदायिक कल्याण्कारी समाज’ हो । यहाँ म एःभ्म् अफिसरको रुपमा नियुक्त भएको छु । यहाँसम्म आउनको लागि हरेक दिन एउटा बस विराटनगरबाट दिउँसो २ बजे इटहरी हुँदै यहाँ आइपुग्दो रहेछ । म पनि त्यहीँ गाडीमा आज आइपुगेँ ।
जागिरमा छनोटः
करिब एक महिना अघि फेसबुकमा विमल सरसँग कुरा हुँदा उहाँले ‘आजभोली तपाईँ फ्री नै हो ?’ भनेर सोध्नुभयो । म फ्री नै थिएँ । किनकी वल्र्ड भिजनमा इन्टर्नशिपबाट बिदा भएको पनि गत सेप्टेम्बरमा हो । अब अरु एक वर्ष बित्न आँटिसक्यो । यो बिचमा अरु केही एनजीओ र आईएनजीओ मा एप्लाई नगरेको होइन, तर म छनोटमा परिँन । म तत्कार विदेश जाने सोचमा त थिइँन तर कामहरु भनेजस्तो नमिल्दा अब चाँडै पासपोर्ट बनाउनुपर्ने हो कि ! भनेर सोच्न थालेको थिएँ ।
कुराकानीको क्रममा विमल सरले भन्नुभयोः ‘एउटा एनजीओ मा एडमिन को पदमा ‘भ्याकेन्सी’ आउँदैछ रे, तपाई इच्छुक हो भने विराटनगरको पाष्टर मोहन सुब्बालाई फोन गर्नुहोला ।’ मैले नम्बर मागेर फोन गरेँ । उहाँले भन्नभयोः ‘तपाई इच्छुक हुनुहुन्छ भने सँस्थासँग सम्बन्धित मान्छे जोसेफ सोरेनलाई फोन गर्नुस् ।’ फेरि नम्बर मागेर फोन गरेँ । जासेफ सरले एक अफिसियल इमेल आईडी दिँदै ‘यसमा तपाईको सीभी पठाउँदै गर्नुस् साथै केही दिनमा हाम्रो विज्ञापन ‘ब्लाष्ट’मा निस्किन्छ, त्यो पनि हेर्दै गनुहोला ।
उक्त इमेलमा मैले सीभी पठाएँ । मैले जिम हल जान थालेको करिब एक महिना हुँदैथियो । हरेक बिहान ब्लाष्ट पत्रिका किन्न थालेँ । नभन्दै तेश्रो दिनमा विज्ञापन निकालिएको रहेछ । विज्ञापनको बारेमा जोसेफ सरलाई फोन गरेँ; उहाँले एप्लाई गर्न अफिस आउनु भन्नुभयो । भोलिपल्ट पत्रिकामा उल्लेख भएको अफिसको ठेगाना बोकेर हिँडे । भाउन्नेबाट दक्षिणतिर जानुपर्दो रहेछ तर गाडी आफ्नो समयमा मात्र हिँड्ने, त्यो पनि तोकिएको ठाऊँ हुँदै होइन । मलाई खुब तनाब प¥यो । साथी सोनामसँग सहयोग मागेको थिएँ तर उसले सहयोग गर्न नसक्ने अवस्था देखाएपछि म गाडी नै रिजर्भ गरेर भएपनि जानलाई तयारी गर्दै थिएँ । तर, अन्त्यमा सोनामको अवस्थाले अर्को मोड लियो, ऊ तयार भयो मलाई सहयोग गर्न, हामी बाइकबाट अफिससम्म पुग्यौँ ।
सोचेको भन्दा धेरै टाढो रै’छ अफिस । झन हामी उल्टो–पुल्टो बाटो पछ्याउँदा खुब दुःख पायौँ । बल्ल अफिस पुग्यौँ । ठाऊँ विकट भएपनि अफिस राम्रै रै’छ । एप्लाई गरेँ । जोएल सोरेनसँग परिचय भयो, साथै पत्रुस सरसँग पनि ।
हप्तादिन बित्यो । शर्ट लिस्ट हुने दिन गइसकेको थियो, मैले सोचेँ– म छनोटमा परिँन । कलेजको विशेष कामले साथीहरुसँग दमकमा रुमलिँदै थिएँ । जोएल सरको कल आयोः ‘तपाई शर्ट लिस्टमा पर्नुभएको छ, लिखित परीक्षा र अन्तर्वार्ता दिन आउनुहोला ।’
उक्त दिनको लागि पा. चन्द्र शालोमलाई गुहारेँ । उहाँले आफ्नो बाइकबाट त्यहाँसम्म जानलाई सहायता गर्नुभयो । लिखित परीक्षा र अन्तर्वाता सकियो । शर्ट लिस्टमा हामी ५ जना परेका रहेछौँ, केवल ४ जना मात्र उपस्थित थियौँ । अनि हामी फर्कियौँ ।
फेरि हप्तादिन बित्यो । फोन आएन । अनि सोचेँः फेरि म सेलेक्ट भइँन । म चर्चमा कोयर समूहले गर्ने प्राक्टिसबाट फर्किँदै थिएँ । बुढी खोलाको पुलमाथि हिँड्दै गर्दा जोयल सरको फोन आयो,'Agreement गर्न अनि केहि सर–सल्लाहको लागि एकपटक अफिस आउनु’ भन्नुभयो । यसपटक मैले गौरव सरलाई भनेँ । उहाँसँग त्यहाँ बाइकमा पुग्यौँ । मिटिङ्ग पछि हामी फर्कियौँ ।
कोठाको खोजीः
तीनदिनपछि केही आफ्ना सामानहरु बोकेरे लोकल बसबाट घुम्दै–फिर्दै अफिस पुगेँ । दुईदिन अफिसकै गेष्ट रुममा बसेँ । अफिसमै काम गर्ने एकजना सहयोगीसँग मिलेर रन्जनी आसपास कोठा खोज्न सुरु ग¥यौँ । भनेजस्तो कोठा कतै पाइएन । भुकम्पको जोखिमको कारणले घर सकेसम्म पक्की होस् भन्ने मेरो सोचाई थियो । केही पक्की घर बन्दै थिए तर निर्माण कार्य पूरा भएको थिएन । बल्ल–बल्ल एकजना खड्का दाईकोमा कोठा पायौँ । अहिले म त्यहीँ कोठामा छु ।
एनबिसिबिएस सम्बन्धमाः
गौरव सर (एनबिसिबिएस स्टाफ, पूर्वाञ्चल),जसले आउने जुलाईदेखि आफ्नो काम छोड्दैछन् । उनीपछि उनको पदमा काम गर्नको लागि मेरो नाम सिफारिस गरिएको थियो । तर केन्द्रीय स्तरमा यस विषयमा केही छिनोफाने भएको थिएन । अनि मैले गौरव सरलाई भनेको थिएँ–‘बैशाखभरिमा केही ग्रीन सिग्नल दिनुहोला ।’ तर परिस्थिती बदलियो, १२ गते आएको भुकम्पले सबैको होस्हवास उडायो ।
बैशाख बित्यो । एनबिसिबिएसको साथीहरु सबै चुपचाप । सबै राहत वितरणमा व्यस्त । आफैँ कुरा झिकिरहन पनि अप्ठ्यारो लाग्यो, ‘यहाँ देशको छ चिन्ता, तिमी खै के के भन्छौ’ भने जस्तै..... ।
पछि खसखस थाम्न नसकेर कुरा कोट्याएँ । नियमहरु बदलिएका रहेछन् । जुलाईमा एनबिसिबिएसको तर्फबाट केहि छानिएका मानिसहरु कम्तिमा ३ महिनाको लागि भारतमा तालिमको लागि जानुपर्ने रै’छ । यो चाहिँ हल्का प्रतिस्पर्धात्मक तरिकाबाट अगाडि बढ्नुपर्ने रहेछ भन्ने सम्झेँ । यो चाँहि मेरो लागि अलिक अधैर्यको विषय बन्यो । जुलाई महिना अझै दुई–तीन महिना बाँकी थियो । फेरि ३ महिनापछि फर्केर पनि के कसो हुने हो भन्ने कुरा सबै प्रभुकै हातमा थियो । अनि चाँहि आउने जाने मौकाहरुमा ट्राई मार्दै गर्नुपर्छ भन्ने सोचले ट्राई मार्दै गर्दा आजको काम हात परेको हो ।
वास्तवमा एनबिसिबिएससँग काम गर्न अत्यन्तै इच्छुक थिएँ । उत्साहित थिएँ । पछिल्लो समय एनबिसिबिएसका कार्यक्रमहरुमा प्रतिनिधिको रुपमा सक्रिय हुन थालेको थिएँ । अझ स्टाफको रुपमा पुर्वाञ्चल नेपालका विभिन्न मण्डलीका ख्रीष्टियान विद्यार्थीहरुसँग सँगति गर्न पाउनु मेरो लागि साँच्चै एक हृदय अनुसारको काम थियो । प्रभुको इच्छा भनुँ वा केही मेरो अधैर्यता भनुँ; यो मौका मेरो लागि गुमेको छ । तर पनि बेला मौकामा भोलन्टियरको रुपमा एनबिसिबिएसको काममा देखापर्नु मेरो लागि अचम्मको कुरा हुनेछैन ।
अन्त्यमा......
म चिनजानका मानिसहरुदेखि धेरै टाढा छु । अब नयाँ मानिसहरुसँग घुलमिल हुँदै जानेछु । कम्तिमा महिनामा एकपटक इटहरी फर्किन्छु होला । यी सबै कामहरुको लागि म परमेश्वर पितालाई धन्यावाद दिन चाहन्छु, जसले मेरा हरेक खाँचोहरु पूरा गरिदिनुहुन्छ अनि मलाई आफ्नो अभिप्राय अनुसार चलाउनुहुन्छ ।
यो नौलो ठाउँमा घरि–घरि मलाई उराठ लागेर आउँछ, ‘मलाई यो जीन्दगीले कहाँ पु¥यायो..........?’ भन्ने गीत जस्तै ।
अब यहाँ म दत्तचित्तसाथ काम गर्नेछु । मेरो स्नातकोत्तर लेभलको पढाई पनि यहीँबाटै तमाम गर्नेछु प्रभुमा बाँचियो भने । हरेक परिस्थितिमा सन्तुष्ट रहन सिक्नुपर्छ भन्ने मान्यता राखेको छु जीन्दगीमा, पावलले जस्तै । पछिल्लो समय मलाई सहयोग गर्नुहुने सबैजनालाई हृदयबाट नै धन्यवाद भन्न चाहन्छु ।
