Skip to main content

सम्झनामा के.पी. देवकोटा

Rev. KP Devkota,
Coordinator: IFES
Past: General Secretory of  NBCBS
...कारणवश उक्त शनिबारको दिन म इटहरी शालोम एजी चर्चको आराधना सँगतिमा बस्ने मौका जुरेको थियो । वचनको समय अघि वक्ताको बारेमा पाष्टर मुकुन्द रिजालले केही शब्द भन्नुभयोः ‘आज हाम्रा माझमा के.पी. दाजु आउनुभा’छ; उहाँ ख्रीष्टियान विद्यार्थीहरुका लागि यो उमेरमा पनि नेपालको हिमाल, पहाड, मधेश गर्दैहुनुहुन्छ । आउनुस, उहाँलाई स्वागत गरौँ ।’ पहिलोपटक मैले उहाँलाई त्यहिँ देखेको थिएँ । साँच्चै
एनविसिविएसको लागि उहाँले गनुभएको मेहनत र दिनुभएको समयको तारिफ गर्नेहरु आज हाम्रो माझ प्रभुका जनहरु प्रशस्तै छन् । उनै केपी देवकोटा अब हाम्रो माझ हुनुहुन्न; उहाँ प्रभुमा सुत्नुभएको छ ।
मसँग फेसबुकमा एकजना साथी हुनुहुन्छ ‘आदानप्रदान’ नामको; उहाँकै टाइमलाइनमा अपडेट गरिएको पोष्टबाट उहाँको मृत्युको खबरको बारेमा जानकारी पाएँ । हुन त हामी विश्वासी मृत्यूबाट पार भएर मृत्यूमाथि विजय पाएको मान्छे, तरपनि यो क्षणिक विछोडले मर्माहत बनाएको छ ।

Rev. KP Devkota,
Coordinator: IFES
Past: General Secretory of  NBCBS
हृदयघातको कारणले जब उहाँ बित्नुभएको खबर थाहा पाएँ; मैले केही साथीहरुलाई जानकारी गरेँ । यो एक अप्रत्याशित समाचार थियो; पत्याउनै नसकिने । आँखाभरि उहाँको हाउभाऊ अनि मिठो मुस्कानहरु नाच्न थाले; उहाँको मसिनो तिखो स्वर कानमा गुञ्जिन थाल्यो ।

उहाँसँगको पछिल्लो भेटको स्मरण गर्न चाहन्छु । लगभग ६ वर्ष अगाडि; उसबेला हामी इटहरीको सिविएस समूहमा सक्रिय थियौँ । तिनै ताका काठमाडौँ–पुतलीसडकको बेथ शालोम चर्चमा एनविसिविएसको आयोजनामा सिविएसको वार्षिक सम्मेलन हुँदैथियो । हामी पनि खीष्टियन विद्यार्थीको हैसियतले सहभागी हुने मौका पायौँ । उक्त सम्मेलन अवधिमा उहाँको विशेष भूमिकाहरु थिए; त्यतिबेला एनविसिविएसमा महासचिवको रुपमा काम गर्दै हुनुहन्थ्यो । एकदिनको कार्यक्रममा कुनै सहभागीले उहाँको बारेमा जिज्ञासा राखेः ‘केपी सर ! तपाईको नाऊँको पूरा रुप के होला ?’
जवाफमा बोल्नुभयोः ‘जबसम्म हाम्रो पी.ए. थोमसज्यू आफ्नो नामको पूरा रुप भन्नुहुन्न, तबसम्म म पनि मेरो नामको पूरा रुप भन्ने छैन ।’
सबै सहभागीहरु गलल्ल हाँस्यौँ । उहाँले यसरी ठट्यौली पनि गर्नुभएको थियो ।

उक्त सम्मेलनको अन्तिम दिन बिदाईको बेला प्रायः सबैलाई आफ्नो फोन नम्बर दिँदै भन्नुभयोः ‘जब तपाईहरु कुशलतापूर्वक आ–आफ्नो ठाऊँमा पुग्नुहुनेछ; कृपा गरेर यो मेरो नम्बरमा कल गरेर तपाई पुग्नुभएको जानकारी दिनुहोला ।’ जसै म पनि इटहरी पुगेँ; उहाँलाई फोन गरेँ । हामीले छोटो कुराकानी ग¥यौँ । यो नै उहाँसँगको अन्तिम भेट र कुराकानी भइदियो । पछिल्ला समयमा स्थानीय सिविएस कार्यक्रमहरुमा उहाँ देखापर्नुभएन; कारण उक्त सम्मेलनमा नै उहाँको आई.एफ.ई.एस (इन्टरनेशनल फेलेशिप अफ इभान्जेलिकल स्टुडेन्ट्स)मा सम्हाल्न लाग्नुभएको जिम्मेवारीको विषयमा कुरा चलेको थियो ।
Rev. KP Devkota with Family!

‘परमप्रभुको दृष्टिमा उहाँको भक्तजनहरुको मृत्यु अनमोल छ’ भनेर बाइबलमा भजनकारले उल्लेख गरेका छन् । पावलले पनि ‘...बरु बिदा भएर ख्रीष्टको साथमा हुने इच्छा छ’ भने । आज त्यो सौभाग्य सर केपी देवकोटा ज्यूलाई मिलेको छ । यो पार्थिव शरीरको विछोडको घडीमा धैर्यधारण गर्ने शक्ति शोक–सन्तप्त परिवारमा मिलोस्, मेरो यही प्रार्थना छ ।

विगतका एनविसिविएसका वार्षिक स्मारिकाहरुमा उल्लेख भएका काम र तस्बीरहरुले अझै उहाँले नेपाली ख्रीष्टियान विद्यार्थीहरुका लागि गर्नुभएको योगदानको बारेमा बोलिरहेका छन् । यो पुस्ताको लागि उहाँको जीवन प्रेरणादायी छ ।





Leave Your Comments Here!