जीन्दगी के हो ?
सुन्दर फूल !
कर्कलाको पानी !
डुबिजाने घाम !
दुःख–सुखको मिश्रण !
बगिजाने खोला !
पानीको फोका !
उडिजाने बादल !
यात्रा............. !
कसले भन्यो यात्रा............. !?
तिमीले ?
हो, म पनि त्यसै भन्छु ।
भनेपछि जीन्दगी यात्रा नै हो त !
तिम्रो र मेरो विचार कस्तो ठ्याक्कै मिलेको !
त्यसोभए हिँड्नु पनि त पर्ला नि !
भनिराख्नु नै पर्दैन,
तिमी हिँडिरहेछौ, हरपल–हरक्षण
विगतदेखि वर्तमानसम्म...........।
आजै मरिन्छ भन्ने के निश्चयता ?
त्यसोभए हिँड्नेछौ भविष्यसम्म पनि ।
बेहोसीको कुम्लो बाँधि,
अदृश्य बन्धनहरुको हतकडी हल्लाउँदै,
संसार जित्ने लक्ष्य बोकेर पनि
अनन्त लक्ष्यहीन बाटोहरुतर्फ,
आँसु बगाउँदै, पसिना चुहाउँदै,
साथ कसैको खोज्दै, हात फैलाउँदै,
तिम्रो वरिपरी रहने, तिमी जस्तै
काला आकृतिहरु.............।
जोहरु तिम्रो संकष्टमा चुइँ पनि गर्दैनन् ।
साँघुरो बाटोबाट आएका रश्मिको
फिक्का उज्यालोमा–
पहिल्याउँदै बाटो,
सुस्तरी फड्को मारिरहेका
तिम्रा अनियन्त्रित पाइलाहरु......।
जीन्दगीको यति लामो दौरानमा,
के कहिल्यै चर्चको नजिक भएर गयौ ?
कयौं पल्ट हिँडेर पनि
त्यहाँ भित्र जाने लालच किन गरेनौ ?
जहाँ गुञ्जिरहेछ,
"उनको प्रेमी बोलावट सुनिदेऊ;
आफ्नो हृदय उहाँमा खोलिदेऊ !"
जहाँ,
परमेश्वरको उपस्थिति छ ।
जहाँ,
घुम्टो ओढेका शिरहरुले आफ्नो सृष्टिकर्ताको सम्झना गर्छन् ।
जहाँ,
परमेश्वरको आकृतिहरुको मुखारविन्दबाट
हल्लेलुयाह आवाज
चारकुनामा ठोक्किँदै
तिम्रो कानसम्म आइपुग्छ ।
---------------0-------------
Comments
Post a Comment