‘विद्या धनम् सर्वप्रधानम्’ भन्ने चर्चित उक्तिलाई विचार गर्दै आज छोरालाई विद्यालय पठाउने बेला आफैँ कक्षा ६ मा पढ्दाखेरिको रमाइलो घटनाको याद आयो ।
श्री राज्यलक्ष्मी मा.वि. ऊँबूमा पढ्दाखेरिको कुरा हो । वरपर अरु गाउँमा कक्षा ५ सम्मका थुप्रै विद्यालय हुनेभएकोले कक्षा ५ पास गरेपछि गाउँमै पढ्छु भन्नेहरुलाई श्री राज्यलक्ष्मी मा.वि. मा कक्षा ६ मा भर्ना हुनुबाहेक अरु विकल्प थिएन । यसैले कक्षा ६ मा धेरै विद्यार्थीहरुको घुइँचो हुन्थ्यो । घुइँचोको कारणले होहल्ला बेसी । फरक फरक गाउँका लाठेहरुको भेला हुने भएकोले आ–आफ्नो फुइँ देखाउने र मन परेको मान्छेको मन जित्ने उदेश्य पनि भएकोले होला, कक्षा ६ मा धेरै नै जात्रा हुने गर्दथ्यो ।
खचाखच विद्यार्थी भएकोले कहिले उभेर नै पढ्नुपर्ने, केटाहरुको साइडको डेस्क–बेन्चमा आएर केटीहरु बस्नुपर्ने, आफ्नो अगाडि आएर बसेका केटीहरुको कपाल तान्ने, चुंगीको रबर तन्काएर कानमा हान्ने, ढाडमा कोरिदिने, बस्ने ठाउँमा चुइगम राखिदिने, कहिले धुलो माटो राखिदिने, एकअर्कालाई कागजको पुच्छर बनाएर लाइदिने, कक्षागत गीत गाएको बेला बेन्च ढालिदिने र पछि बस्दा उत्तानो परेको साथीलाई हेरेर हाँस्ने जस्ता उपद्रवहरु कक्षा ६ का लागि सामान्य थिए ।
एक दिनको कुरा हो, हाफछुट्टी पछिको घण्टी पढाउन कुनै शिक्षक–शिक्षिका आउनुभएन । गाउँले विद्यार्थीहरु गयल हुनु सामान्य कुरा थियो, त्यसदिन केही सरहरु गयल भएकोले क्लास नहुने भएपछि विद्यार्थीहरुको रजाइँ हुनेभयो । सबैले समुह–समुह बनाई गफ गर्न लागे । हल्लाले आफ्नो कुरा अर्को साथीलाई सुनाउन झन ठूलो स्वरमा बोल्नुपर्नेभयो । सबैले यहि फर्मुला प्रयोग गर्दा यति हल्ला भयो कि कसले के बोलेको भन्ने भेऊ पाउन गाह्रो भयो । सबैले मुख चलाएको देखियो, तर कुरा केही बुझिएन । हल्लाले जस्तापाताको छाना भएको कोठामा बस्दा असिना पानी दर्केजस्तो भयो ।
अचानक कक्षामा प्रधानाध्यापक सरको आगमन भयो । त्यसबेला प्रधानाध्यापकको रुपमा रेवती रमण कोइराला हुनुहुन्थ्यो । अग्लो र घनश्याम वर्णको सर रिसाएको बेला झन उहाँको हाऊभाऊ उग्र हुने नै भयो । उहाँको हठात् आगमनले विद्यार्थीहरु अत्तालिए । जसरी चील देख्दा पोथीले विशेष आवाज निकाल्छ, र चल्लाहरु अत्तालिँदै यताउता लुक्छन् र शान्त हुन्छन्, त्यसरी नै कक्षा तुरुन्त चकमन्न भयो । सन्नाटा छायो ।
रिसले राँकिएका प्रधानाध्यापकज्युले एकछिन राम्रै आशिर्वाद दिनुभो, र झुटो बोल्नुहुँदैन– उहाँले आफ्नो आशिर्वादमा कुनै अपशब्द प्रयोग गर्नुभएन । अब कुटुँ भने कसलाई कुटुँ, कुट्न थाल्यो भने एउटा लठ्ली ९–१० जनालाई कुट्दै भाँचिएर सकिएला, सबैलाई कुट्दा आफैँ थाकेर लखतरान परिएला, सायद यस्तै मनोभावले होला, केहीछिन पछि प्रधानाध्यापकज्युको रिस केही मत्थर भो ।
त्यसपछि उहाँले सोध्नुभयो, ल भन, तिमीहरुलो आज के सिक्यौ?’ कसैको केही जवाफ नआएपछि पुनः सोध्नुभयो, "धेरै भन्नुपर्दैन, एउटा मात्र आफूले सिकेको कुरा भन ।" हामी सबै घोसेमुन्टो लाएर बस्यौँ । अन्त्यमा, सायद सरले मलाई कुट्ने मनशायले लठ्ठीले उठ्ने इशारा गर्नुभयो । म केटाहरुको साइडको दोश्रो बेन्चको छेऊमा बसेको थिएँ (भित्तापट्टिको होइन)। अनि म डराउँदै उठेँ । पुरै ब्ल्याक आउट भएँ । उहाँले खस्रो स्वरमा भन्नुभयो, "ल, एउटा कुरा भन जुन आज तिमीले सिकेका छौ ।" केहीबेर पछि मेरो हालत देखेर अब यसलाई कति सिर्कुना लाउँदा ठीक होला भन्ने एकिन गरी लठ्ठी उज्याउँदा के को सत्यले बिहान पढेको संस्कृतको एउटा श्लोक ओठमा फुर्फुरायो ।
मैले डरले (सायद कामेको स्वरमा) भनेँ–
‘विद्या ददाति विनयं विनयाद् याति पात्रत्वाम्
पात्रत्वाद् धनमाप्नोति धनाद् धर्म ततसुखम् ।’
फेरि सोध्नुभयो, "यसको अर्थ के हो? थाहा छ?" मैले टाउको दायाँबायाँ हल्लाएर अर्थ थाहा नभएको संकेत गरेँ । अब लगभग कुटाई खान मानसिक रुपमा तयार भइसकेकोलाई आश्चर्यचकित रुपमा "ल ठिक छ, बस" भन्नुभयो ।
त्यसपछि उहाँको वक्तव्य सुरु भयो, र भन्नुभयो, "यो भाईले सिकेको एउटा कुरादेखि म साह्रै खुशी छु । अब सुन यस श्लोकको अर्थ के हो । 'विद्या ददाति विनयं' अर्थात विद्याले व्यक्तिलाई विनम्रता दिन्छ । 'विनयाद याति पात्रत्वाम्' भनेको त्यस्तो विनम्रताले व्यक्तिमा एउटा चरित्र वा योग्यता प्रदान गर्दछ । 'पात्रत्वाद धनमाप्नोति' अर्थात त्यसप्रकारको चरित्र वा योग्यताले उसले धन कमाउँछ । 'धनाद् धर्म तत सुखम्' र यसको अर्थ हो, त्यसपछि उसले धन कमाएपछि धर्म गर्न पाउँछ र सुख प्राप्त हुन्छ । समग्रमा यस श्लोकको अर्थ यहि हो, 'विद्याले मानिसलाई विनम्र बनाउँछ, विनम्रताको कारणले उसले सिक्छ र योग्यता हासिल गर्छ, योग्यता भएपछि धन कमाउँछ, र धन कमाएपछि धर्मकर्म गर्दै कमाएको धनलाई उपभोग गर्दै गर्दा उसले सुख पाउँछ ।' "
एवम् रीतले त्यसदिनको कक्षा सकियो, र हामी सबै आ–आफ्नो घर फर्क्यौँ । आजसम्म त्यो श्लोक र त्यसको अर्थ भूलेको छैन । २०६० सालको शैक्षिक सत्रको अन्त्यपछि मैलै श्री राज्यलक्ष्मी मा.वि छोडेँ, सदरमुकाम ओखलढुँगाको सगरमाथा जनता उच्च मा.वि.मा एस.एल.सी.को लागि भर्ना भएँ । २०६० साल पछि प्रधानाध्यापक रेवती रमण कोइरालाज्युसँग कहिल्यै भेट भएन । पछि कता सरुवा हुनुभयो, कहिले अवकाश लिनुभयो, अहिले के छ खबर केही पनि थाहा छैन । उहाँको सम्झना स्वरुप मसँग त्यही श्लोकको एक हरफ अर्थमात्र बाँकी छ ।


Comments
Post a Comment