लाहुरे भाईप्रति केही शब्दहरु । सर्वप्रथम त तिमीलाई जन्मदिनको अवसरमा धेरै–धेरै शुभकामना । परमेश्वरको अनुग्रह र शान्ति तिम्रो जीवनमा संधै प्रशस्त मात्रामा भइरहोस् ।
परिवारमा माइला छोराको रुपमा जन्म लियौ । वर्षदिनमा कान्छाको आगमन भएपछि भनेजस्तो पोषण नपुगेको, र सानै हुँदा मृगौला सम्बन्धी बिमारसँग धेरै वर्ष संघर्ष गरेको एउटा सामान्य बालक आज पृथ्वीको चारकुना रमिता हेर्दै आफूले पाएको जिम्मेवारी निभाएको देख्दा हामी अत्यन्तै हर्षित र गौरवान्वित छौँ ।
उहिले हाम्रो वाइलीको उमो आफ्नो लाहुरे माइला छोरा सम्झेर बेला–बेला रुनुहुन्थ्यो, र एउटा उखान भन्नुहुन्थ्यो– ‘ ‘‘जेठा कान्छा नानी, माइला साँइला आनामानी भन्छन्,’’ मेरो माइला के गर्दै होला ।’ किनभने उहाँको जेठा छोरा (पापजेठा) बेला–बेला घर आइराख्नुहुन्थ्यो, उहाँको कान्छा छोरा (पापा) प्रायः उहाँकै आँखा वरपर रहनुभयो । मैले उखानको अर्थ सोधेँ, उहाँले आफ्नो बुझाई अनुसार भन्नुभएको थियो– परिवारमा जेठा र कान्छालाई जस्तो स्याहार सुसार माइला साँइलाहरुलाई पुग्दैन ।
सायद कतिपल्ट तिमीलाई पनि त्यस्तै महशुस भयो होला कि? किनकि तिमी पनि माइला पर्यौ ।
प्रभु येशूको बारेमा बाइबलमा एउटा लाइन यस्तो छ– जुन ढुंगालाई भवन निर्माण गर्नेहरुले रद्ध गरे, त्यहीचाहिँ कुनाको शिरढुंगो भयो (मत्ती २१ः४२)। त्यस्तै पर्याप्त पोषणको अभाव र विभिन्न रोगहरुसँग लड्ने एक कमजोर बालक (त्यति विघ्न आशा नगरिएको) लाई समयक्रममा परमेश्वरले परिवारको खम्बा (कुनाको शिरढुंगा)को रुपमा उभ्याउनुभयो ।
पूर्णसत्य त नहोला कि, तर भनिन्छ– जेठाभन्दा पछि र कान्छाभन्दा अघि जन्मेकाहरु अलिक बढी खरो स्वभावका हुन्छन्, ज्याद्रो हुन्छन् । तर तिम्रो हकमा सत्य साबित भइदियो । सानैदेखि तिम्रो गर्जन बेग्लै थियो । तिम्रो टाउको ठूलो थियो, फर्सी जस्तो, त्यो भनेको भविष्यमा ठूलो शरीर हुने लक्षण रहेछ । ठूलो कदको हुनलाई बाल्यकालमा पर्याप्त पोषण पुग्नुपर्दछ भन्ने वैज्ञानिक भनाईलाई चुनौती दिँदै शारीरिक रुपमा दाजुभाईमध्ये ठूलो र अग्लो भयौ ।
यी सबै कुराहरुभन्दा माथि तिमीले आफ्नो हृदयको केन्द्रमा परमेश्वरलाई राखेका छौ । तिमीसँगका व्यक्तिगत कुराकानीहरुको क्रममा पारिवारीक दुःख सुखका गफभन्दा पनि बाइबलीय सत्यताहरुको विषयमा बढी छलफल हुने गरेका क्षणहरुले ती कुराहरुको प्रमाण दिन्छन् । तिम्रो गहिरो बाइबल अध्ययन र ख्रीष्टमाथिको निष्कपट विश्वासबाट म निकै प्रभावित छु ।
तर परमेश्वरले नै तिमीलाई आफ्नो धार्मिकताको दाहिने हातले सम्हाल्नु हुनेछ । तिम्रो दाहिने हातलाई पक्रेर डोर्याउनुहुनेछ (यशैया ४१ः१०, १३)। जीवनको यात्रामा थकाई लाग्दा उहाँमा नै अडेस लाग्नु, विश्राम गर्नु । किनभने तिमीलाई रुने छुट छैन । कमजोर हुने फुर्सद छैन । किनभने तिमी त सबै आँधीहुरी, झरी, रापताप सहेर छहारी दिने लहरे बरको रुख हौ । कुनै चोटहरुले नछुने पहाड हौ । सारा बज्रपात, कठ्यांग्रिँदो चिसो र घामको ताप सहेर पनि विस्तारै–विस्तारै आफ्नो उचाई बढाउने सगरमाथा हौ ।





Comments
Post a Comment