Skip to main content

गाऊँघरको रिपोर्ट



स्थानः ऊँबू गा.वि.स (ओखल्ढुङ्गा) आसपास
बगले डांडाबाट देखिएको सुर्योदयको दृश्य ! 

करिब तीन वर्षपछि गाऊँ फर्केँ । गाऊँबाट म धेरै टाढा परदेश पुगेको त पक्कै थिइँन; तरैपनि देशभित्रै बसेर पनि आफ्नो गाऊँ फर्किन यत्रो समय लाग्यो । अरुको नजरमा जतिसुकै कुरुप किन नहोस्, आफुलाई जन्म दिने आमा सँधै प्यारो अनि आदरणीय हुन्छिन् आफ्ना सन्ततिहरुका लागि । त्यस्तै जस्तोसुकै गरिबी वा असुविधाले किन नझेलिएको होस्; आफू जन्मेको–हुर्केको गाऊँ आफूलाई सँधै प्यारो नै हुँदोरहेछ । आफू त झन् त्यसै पनि भावुक मान्छे; आँखाको डिलमा आँसु बोकेको मान्छे; बेला–बेला गाऊँ सम्झेर गहभरि आँसु नपार्ने कुरै भएन ।

यसपटकको गाउँ–घरतिरको यात्राको व्यक्तिगत रिपोर्ट यसरी यहाँहरुमाझ राख्दैछुः

१. मातेको जोशमा ‘ओहो आइपुग्यौ’ ! मातले छोडेको होसमा फेरि ‘कहिले आयौ ?’
गाउँलेहरु जाँड रक्सीले मातिएकै कारणले गाउँको विकास भनेजस्तो उभो लाग्न सकेको छैन भनेँ भने पिउनेहरुलाई झोँक चल्न सक्छ, त्यसैले यो कुराको ठोकुवा गरिनहालौँ । तर, गाउँका धेरैजसो मानिसहरु जाँड रक्सीकै कारणले द्वैध चरित्र देखाउनु परिराखेको छ । पिएपछि एकप्रकारको जीन्दगी, नपिउँदा होशमा हुँदा अर्कै जीन्दगी । गाऊँ छिर्दै गर्दा जाँडले मातिनुभएका आफन्तहरुले ‘ओहो सुमन ! आइपुग्यौ ।’ भनेर मन्द मुस्कान दिए । हामीले मुस्कान साटासाट ग¥यौँ । उनै आफन्तहरुसँग ३ दिनपछि पुनः भेट हुँदा फेरि ‘तिमी कहिले आयौ ?’ भनेर आश्चर्यचकित हुँदै सोधे । यो पनि मेरो लागि एउटा रमाइलो पक्ष हो ।

२. सडकको पहुँचः
गाउँमा देखिएको सबभन्दा ठूलो विकास भनेकै सडक निर्माण र यातायातको पहुँच जस्तो लाग्छ । गाउँमै रोड पुगकोले गाउँले दाजुभाईलाई ठूलो राहत मिलिराखेको छ । उहिले बुवाहरुको पालामा उदयपुरको कटारीसम्म हिँड्नुपथ्र्यो । कतै टाढा हिँडनुपर्दा हाम्रै पुस्ता पनि हर्कपुर सुनकोशीसम्म हिँडेका थियौँ । अनि बल्ल घुर्मीबाट बस पाइन्थ्यो । हरेक पटक घुर्मीदेखि उदयपुर कटारीसम्म र कटारीबाट घुर्मीसम्म सिटमा बसेर यात्रा गरेको विरलै याद छ; नत्र सँधै छतमा बस्ने हो, घरि धुलो खाँदै, घरि चिसो हावा सिरिरि......आहा ! क्या रमाइलो ! छतमा बसेपछि चारैतिरको दृश्य पनि हेर्न पाइने । बस पल्टिहालेमा अगाडि नै कतै भित्तातिर वा रोडमै हाम फालिहालिन्छ भन्ने आत्मविश्वास मनमा दह्रो थियो । बसभित्र खुट्टा राख्ने ठाऊँ हुँदैनथ्यो । साँच्चै भन्नुपर्दा भित्र निस्सासिएर गन्हाउने हावामा विजोग भएर यात्रा गर्नुभन्दा त माथि छतमै हावामा कावा खाँदै यात्रा गर्नु कत्ति हो कत्ति सुख हुन्थ्यो । अहिले त्यस्तो दुःख छैन । कटारीदेखि ओखल्ढुङ्गा सम्मकै बाटो पिच छ; तर साह्रै गतिलो पिच गरिएको छ भनेर मख्ख चैँ परिनहालुम् ।

३. मैले पहिलोपटक देखेको मान्छे र स्कूलहरुको विकासः
‘जसबले उपो’लाई पहिलोपटक देखेँ । उहाँको नाम म सानो हुँदाखेरि नै सुनेको तर यसपटक जीन्दगीमा अस्तिमात्रै हो भेटेको । ब्रिटिश आर्मीको पेन्सनर । उहाँको आफ्नै पहलमा र ब्रिटिश (सायद ब्रिटिश वेल्फेयर स्कीम भन्दा हुन्छ होला ) सरकारको आर्थिक सहयोगमा गाउँमा भएको स्कूलको लागि पक्की भवनको निर्माण हुँदै रै’छ । मैलै पढेको कक्षा–३ सम्मको श्री जनकल्याण प्रा.वि स्कूल अहिले नि.मा.विसम्मको कक्षा सञ्चालनमा छ । त्यहि स्कुलको लागि पक्की भवन निर्माण हुँदैछ ‘जसबले उपो’कै पहलमा ।

जसबले उपो आफैँ निर्माणस्थलमा नियमित दिनको सुरुदेखि अन्तिमसम्म उपस्थित हुने र हल्का आर्मी शासन चलाउने कारणले निर्माण कार्य तीव्र हुँदै गरेको कुरा छरछिमेकीबाट सुन्न पाइयो । आखिर राम्रै हो क्या रे ! गाऊँमा बोर्डिङ्ग स्कूल पनि छ नर्सरीदेखि ‘क्लास थ्री’सम्मको । बोर्डिङ्ग स्कूलको नाम लिब्जू इङ्गलिश बोर्डिङ्ग स्कूल हो । अनि हाइस्कुल पनि छ श्री राज्यलक्ष्मी मा.वि; जसमा मैले कक्षा ९ सम्मको अध्ययन गरेँ । स्कूलमा पढाईको गुणस्तरीयतको कुरा अहिले गरिनहालुम; हेर्दाखेरि शिक्षामा भएको विकास राम्रै देखिन्छ ।

४. खडेरी र पानीको अभावः
जलवायु परिवर्तनको असर गाऊँमा प्रत्यक्ष छ । वर्षौँदेखि खोलानाला, कुवाको मुल फुटेको छैन । वर्षेनी कम पानी परेको कुरा गाउँलेहरु गर्छन् । सिँचाईको लागि कुलाहरु लगभग सुकिसकेका छन् ।

समस्या खोलाकै पानी सुकेको कारणले हो । वर्षभरि नै जरुवा पानी जम्ने खेतहरु भएर गएँ तर ती खेतहरुमा अहिले पानीको साटो धुलो उडेको देखेर छक्क परेँ ।

एकप्रकारले भनुँ गाऊँमा पानीको हाहाकार छ । अहिले दुःख–सुख पिउने पानीको जोहो त हुँदैछ तर खडेरीको यहि क्रम निरन्तर हुने हो भने भविष्यमा पानीको अभावले भयकंर समस्या आउने पक्कापक्की छ ।

५. अल्लारे ठिटा–ठिटीहरुको अभावः
गाऊँमा खेतीपातीको लागि खेतालाहरु पाउनु एकदमै गाह्रो छ । त्यसैले राम्रो आइडिया सकेजति खेतबारी कमाई गर्ने हो बाँकी बाँझो नै छोड्ने हो । अर्काको खेतबारीमा गएर काम गर्ने, अर्मपर्मको फुर्सद अब कसैलाई छैन । अल्लारेहरु प्रायः छैनन् । एस.एल.सीपछि प्रायः सबै सहरतिर हुँइकिन्छन् । कोही विदेश जान्छन् । कि बुढाबुढी, कि स्कुल पढ्ने किशोरकिशोरी मात्र छन् गाऊँमा ।

६. सहकारीले लुटेको भकारीः
सरकारी नीतिनियमलाई एकातिर थन्काएर ‘वाम्द्याल सहकारी सँस्था लि.’ एउटा कलंकको पात्र बनेछ; केही वर्षसम्म गाउँलेहरुको पैसा उठाएर लाखौँ रकम जम्मा गरिसकेपछि कसैको पैसा फिर्ता गर्न नसक्ने गरि सहकारी नै झ्वाम् भएछ । गाऊँ–गाऊँमा सहकारी, घर–घरमा भकारी भन्ने उक्ति उल्टो देखायो यो सहकारीले । प्रगति गर्ने खालको सहकार्य गाउँलेहरुसँग भएन; सरकारबाट पाइने अनुदान कुम्ल्याउने अनि आफ्नो दुनो सोझ्याउने पाराको सहकार्य मात्र भएछ सञ्चालक समितिको । सञ्चालकहरुको नाम सुनेर एकपटक जोडले हाँसे म; वाह ! क्या विश्वासयोग्य मानिसहरु । यो कुरा किन लेखेँ भन्नुहुन्छ होला, तीन महिनामा बल्ल–बल्ल एकपटक पेन्सन थाप्ने मेरी ‘क्वारुउमो’को लगभग रु. २५००० ।– चुपचाप पचाइदिए बापतको आक्रोश पनि हो यो । अर्को कुरा भर्खरै फेरि नयाँ सहकारीको सुरुवात भएको छ; उक्त सहकारी बेलैमा अरुलाई नठग्न सचेत होस भनेर पनि हो । सकरात्मक रुपमा लिइदिनुहोला । कुनै–कुनै गल्तीहरु कहिल्यै सच्याउन नसकिने हुन्छन् ।

७. हेलिप्याड निर्माणले एकछिन सोचमग्न बनायोः
आहाले भन्ने ठाऊँमा हेलिप्याड निर्माण भएको रहेछ; घटटटटटट.....हेलिकप्टर आएर बस्नलाई । सायद ‘फिस्टेल एयर’को हेलिकप्टर हुन सक्छ । तर यो कुराले म एकछिन् सोचमा परेँ । यो कस्तो गाऊँ हो ? जहाँ कोही झुपडीमा बस्छन् र मिठो मसिनो खानलाई धौ–धौ छ, तिर्ने पैसा नहुँदा दोकानबाट बारम्बार उधारो नुन किन्नुपरेको छ, औषधी किन्ने पैसा छैन, नानीहरुलाई राम्रो होमवर्क गर्ने कापी किन्न सकेको छैन तर कोही भने हेलिकप्टर चार्टर गरेर गाउँमै अवतरण हुने हैसियत पनि राख्छन् । हैसियतले फरक पारेको यो खाल्डोलाई कसरी पुर्ने ? हेलिकप्टर चार्टर गर्दा भाडा हजारमा हिसाब हुँदैन, लाखौँमा गर्नुपर्ने हुन्छ । बुलेरो गाडी नै रिजर्भ गरेर आरामसाथ आउँदा पनि लगभग हेलिकप्टरमा लाग्ने खर्च भन्दा एकतिहाई नै कम खर्च हुन्छ होइन र ! अरुले कमाएको धन र समृद्धिप्रति मैले इष्र्या गरेको कदापि होइन, आफूले कमाएको पैसा खर्च गर्ने अधिकार आफ्नै हातमा छ, तर गाउँको हालत त्यस्तो हुँदा आफूले कमाउन सकेको भन्दैमा फजुल खर्च किन गर्ने ? बरु गाउँमा पुस्तकालय निर्माण गर्न सकिन्छ (यहाँको नानीहरु पुस्तकालयमा के आउलान् र ? भनेर होइन), स्कुलको भवन निर्माणमा अनुदान दिन सकिन्छ, राम्रो शिक्षकहरुलाई मगाउन सकिन्छ, असहायहरुलाई सहयोग गर्न सकिन्छ आदि–इत्यादि । विरामी अवस्थामा आकस्मिक रुपमा हेलिकप्ट चार्टर गर्नु फाल्टै कुरा हो, तर अन्य समयमा रवाफ देखाउने वहानामा हेलिकप्टरको फिरफिरेसँगै हावामा पैसा फिरिरि उडाउनुको के नै अर्थ होला र !

८. मण्डलीहरुको हालखबरः
धेरै वर्ष अगाडि ‘सातोषी मोरी’ र उनकी श्रीमति ‘मासाको मोरी’ नामका दुई जापानी क्रिश्चियन मिसिनरी मेरो आफ्नै बडाबुवाको अगुवाइमा हाम्रो गाऊँ छिरे र हाम्रै घरमा डेरा बसे । यस विषयमा मैले इतिहास केलाउन अझै बाँकी छ । उनीहरु कुन सालमा आए भन्ने मलाई एकिन भएन, किनकी यो म जन्मनुभन्दा अघिको कुरा हो । उनीहरु एकदुई वर्ष होइन, धेरै वर्ष नै हाम्रो गाउँमा सेवकाई गरे र वि.स. २०४८ तिर आफ्नो देश जापान फिरे । म २०४७ सालमा जन्मेदेखि म १४ महिना हुँदा सम्मको उनीहरुले खिचिदिएको थुप्रै फोटोहरु अझै मेरी आमाले सुरक्षित राख्नुभएको छ ।

उनीहरु फर्किनु अघि उनीहरुले गाउँमा मण्डली स्थापना गरे । तर येशूले ‘अगमवक्तालाई आप्mनै निज सहरमा आदर हुँदैन, जति अरु सहरमा हुन्छ ।’ भन्नुभएजस्तै हाम्रै गाउँका मानिसहरुले उनीहरुको सु–समाचार ग्रहण गरेनन्; मेरो परिवार पनि वि.सं. २०६० साल यताबाट मात्र प्रभुमा बाँचेको हो । तत्कालिन समयमा बरु अरु टाढा–टाढाबाट आएकाहरुले प्रभुलाई ग्रहण गरे । यसैले मण्डली अर्कै गाउँमा स्थापना भयो; जुन मण्डली स्वतन्त्र थियो । मण्डलीको नाम थियो ‘विजयी चर्च’, जुन चर्चका पाष्टर सुरुदेखि अहिलेसम्म श्री कुर्थाराज राई हुनुहुन्छ । उहाँकै हातबाट मैले प्रभुलाई ग्रहण गरेँ, बप्तिस्मा लिएँ र मेरा अरु परिवारका सदस्यहरुले पनि ।

त्यही ‘विजयी चर्च’बाट केही विश्वासीहरु निस्केर अर्को ‘बलिदान चर्च’को स्थापना गरे । केही वर्ष अगाडि विजयी चर्चको अर्को झुण्डको रुपमा ‘दर्शन चर्च’को सुरुवात भयो । तर हालसम्ममा बलिदान चर्च ‘एजी’ समुहमा र विजयी र दर्शन चर्च ‘नाजरिन’ चर्चको छातामुनि आएका छन् । यी तिनै चर्चहरुको अन्य झुण्डहरु टाढा–टाढाका गाउँतिर बढिराखेको छ । परमेश्वरका चुनिएकाहरुको भेला पार्ने काम सामान्य रुपमा अगाडि बढिराखेको छ ।

विगतमा प्रदर्शन गरिएको विश्वासीहरुको अनुशासनहीन जीवन र चरित्रको कारणले मण्डलीको प्रभावकारीता गाऊँमा त्यति फस्टाएको देखिँदैन । अब बिस्तारै होला कि !

९. आफ्नै मातृभाषामा बाइबलः
म आफ्नै मातृभाषामा खररर बोल्नसक्छु, लेख्न सक्छु । यसपटक गाउँमा फर्किँदा बाइबलको नयाँ करारबाट ‘लुकाको सुसमाचार’ र ‘युहन्नाको पहिलो पत्र’ वाम्बुले भाषामा अनुदित भएको फेला प¥यो र एकदमै खुशी
लाग्यो । अर्को कुरा नेपाली बाइबललाई वाम्बूले भाषामा अनुवाद गर्न अहोरात्र खट्नुभएका श्री शरण राईसँग पनि जम्काभेट गर्ने अवसर मिल्यो । अबको पाँच वर्षभित्र नेपाली बाइबलको नयाँ करारलाई वाम्बुले भाषामा अनुवाद गरिसक्ने कम्मर कस्नुभएको रहेछ । आफ्नो मातृभाषाको संरक्षणमा यो शताब्दीमा यो कति ठूलो अभियान हो भन्ने कुरा भविष्यमा आउने पिढीले नै मुल्याङ्कन अवश्य गर्नेछ, उहाँको यो अभियानलाई सफलताको हार्दिक शुभकामना साथै विशेष प्रार्थना पनि छ ।

१०. अन्त्यमा टुक्रा–टाक्री कुराः
‘स्कुलमा कम्प्युटर पढाई कस्तो छ ?’ भनेर एउटा किशोरीलाई सोधेँ । जवाफ दिइन्–‘कम्प्युटर क्लासको पिरियडमा सरले ल्याबमा लानुहुन्छ अनि फिल्म मात्र देखाउनुहुन्छ । केही पढाउनुहुन्न । पढाउन खोज्नुभएको दिन पनि हामी सबै मिलेर फिल्म नै हेर्ने भनेर जिद्दी गर्छौँ अनि फेरि फिल्म नै देखाउनुहुन्छ ।’ यति सुनेपछि अरु केही सोधिँन, केवल एक मुस्कान दिएँ ।

एकदिन लगभग १३–१४ वर्षका एक किशोर र किशोरी सुन्नै नसकिने छाडा शब्दहरुमा गफ गर्दै कतै हिँडेको फेला पारेँ । अहिलेको टिनएज पुस्ता कसरी हुर्किँदै रहेछ भनेर एकछिन् विचार गरेँ, अनि म पनि आफ्नै बाटो लागेँ । सुर्ता गरेर म के नै गर्न सक्छु र जस्तो लाग्यो ।

लौ त ! अर्कोपटक गाऊँ जाँदा अर्कै रिपोर्ट बन्ला, आजलाई यति । धैर्यसाथ सुरुदेखि अन्तिमसम्म पढिदिनुहुने सबैलाई धेरै–धेरै धन्यवाद ।




Leave Your Comments Here!


Popular Posts

क्रिश्चियन युवतीहरुसँग लभ गर्ने गैह्र–क्रिश्चियन साथीहरुले बुझ्नैपर्ने कही कुराहरुः

के तपाईँको कुनै क्रिश्चियन केटीसँग लभ परेको छ ? जबकि तपाईँ एक गैह्र–क्रिश्चियन हुनुहुन्छ । क्रिश्चियन सुन्दरीहरुसँग लभ गर्ने गैह्र–क्रिश्चियन साथीहरुले बुझ्नैपर्ने कही कुराहरुः कोही–कोहीले चर्चमा गवाही बाँडेको सुनेको छुः ‘म सुरु–सुरुमा चर्च केटीहरु हेर्नमात्र जान्थेँ; तर पछि–पछि मैले येशूलाई विश्वास गरेँ; यसरी मैले प्रभुलाई पाएँ ।’ ओहो ! क्याबात ! यस्तो पनि हुन्छ र ? अवश्य हुनसक्छ । साँच्चै केटी हेर्ने नियतले नै चर्च जाने हो भनेता सँधै राम्रो मौका हुनसक्छ; किनकी प्रार्थनाको बेलामा सबैले आँखा चिम्लिने गरिन्छ । उत्निखेर आफूले चाँहि आँखा ठूला–ठूला पारेर चारैतिर जता हेर्न मन लाग्यो उतै हेर्न कसले रोक्ने ?

श्रीमाया आमाको जीवन

कोशीको पानी यो जीन्दगानी सलल जाइजान्या हौ हजुर ! आमाको कोखमा बास मात्रै लिए नि,  कुन देशको मरण हौ हजुर ! ‘नेपथ्य’को यहिँ गीतजस्तै एउटा जीवन देखेँ मैले । लियो टाल्सटायको ‘मानिसलाई कति जमिन चाहिन्छ ?’ नामक रुसी कथामा ‘प्याखोभ’लाई अन्तिममा उसलाई चाहिएको जति जमिन मिल्दछ, तर आफूलाई चाहिएको जति जमिन नपाएको जीवन पनि देखेँ मैले । उहाँलाई सबैले श्रीमाया आमा भन्थे, बडहरा बस्ने आमा भन्थे । म इटहरी बस्न थालेको समयदेखि नै उहाँलाई बेला–बेलामा चर्चमा सँगतिमा आउनुभएको देखेको थिएँ । उहाँ बलबुताले सकुन्जेल चर्च आउनुभयो, तर केही दिन अघि सदाको लागि अस्ताउनुभयो, सायद तुरहीको आखिरी आवाजसम्म ।

गाऊँ घरतिरको एकहप्ते बसाइ (संस्मरण)

धेरै समय पछि गाऊँ फर्केको थिएँ । मण्डली परिवारसँग राम्रो सँगति गर्न पाईयो । परमेश्वरका राज्य बढ्दो छ, बरु छेऊछाऊका मानिसहरु मौन छन्; तर टाढा–टाढाबाट मानिसहरु प्रभुमा फर्केका रहेछन् । घरमा २३ धार्नीको सुँगुर काटिएको रै’छ, पछि म बसुञ्जेल २ वटा गिरिराज भाले सिद्धयाइए । आहालेमा एउटा अनि डोडेनी मामाघरमा एउटा गरेर जम्मा ४ वटा लोकल–गिरिराज भालेहरु चामचुम पारियो दशैँका अवसरमा । घर पुगेको तेस्रो दिन भैसी सुत्केरी भईन्, बिगौति दुध खुब खाइयो, दुधले मुख कुल्ला गरियो । निबुआ र काँक्रा फर्सीको दानाको छोपसँग साँधेर बजाइयो, यो अन्तिम वाक्य देख्दा सायद तपाईँहरु कत्ति जनाको मुख रसाईसकेको हुनुपर्छ । भोराम पाखातिर गएर एक–दुई भारी घाँस काटेर ल्याउने विचार थियो, तर पार्ईएन । वाइली तिर जान पाइएन, फकुल दार्बुतिर जाने रहर अधुरै रह्यो । तर कल्पुम तिर गएँ, कक्षा ३ सम्म पढेको स्कुल घुमेँ, बालापनको यादहरु आँखाभरि नाचे । ब्ओकुला फुटबल मैदान तिर गएँ, पिङ्ग खेलेँ, रमाएँ । सकेसम्म गाउँका यादहरु मोबाइलमा खिँचे । कतिपय तस्वीरहरु तपाईँहरुले देखिसक्नुभएको छ ।

सुन्दरताको बारेमा केहि कुरा...

Photo of the girl is taken from Google. Thanks!  कसलाई मन नहोला सुन्दर नदेखिने ! को नराम्री हुन चाहन्छ ? बरु ब्युटी पार्लर धाएर होस्; ब्युटीप्लस एप चलाएर होस् वा अलिक कडा रुपमा भन्दा मैदाको पिठो घसेर नै किन नहोस ? सबैलाई ह्याण्डसम हुनुपरेको छ । सबलाई ब्युटीफुल हुनुपरेको छ । तर कतिपय स्मार्ट र आदर्शवान मानिसहरु भन्ने गर्छन् ‘अनुहार राम्रो भएर के गर्नु ? व्यहोरा पो ठीक हुनुपर्छ नि !’ अति राम्रो कुरा मान्छेको सुन्दरता जस्तोसुकै होस्, व्यहोरा ठीक हुनुपर्छ; चरित्र राम्रो हुनुपर्छ । तरपनि मानिसहरु जीऊ पूरै घनश्याम वर्णको भएप नि अनुहारको भाग जत्तिलाई गोरो बनाउन प्रयास गर्न छोडेका छैनन् । वास्तवमा सबै मानिस राम्रा छन् । सबैको आ–आफ्नै सुन्दरता छ । तर कतिपय अवस्थामा सुन्दरता; छालाको गोरोपनबाट नापिन्छ । यहाँ कोही काला छन्, कोही हल्का काला; अनि गहुँगोरो, गोरो र अति गोरो पनि । गोरोपन टल्किने नै; लगभग खुइल्याए जत्तिकै ।

समाधान नहुने समस्याहरु (आखिरी घडीहरु)

यो संसार शैतानको हातमा छ भन्दा थुप्रै विश्वासीहरुलाई अपत्यारिलो र अस्वीकार्य हुनसक्छ । तर बाइबलका केही खण्डमा यस कुराको ठोकुवा गरिएको छ । यदि यो संसारमा शैतानको शासन नभएको भए परीक्षाको समयमा प्रभु येशुलाई ‘म यो सारा अधिकार र यिनको गौरव तपाईलाई दिनेछु, किनभने यी सबै मलाई सुम्पिएका छन्, र म जसलाई इच्छा गर्दछु, त्यसलाई दिँदछु । तपाईंले मलाई दण्डवत गर्नुभयो भने यी सबै तपाईंका हुनेछन् (लुका ४ः६–७)’ भनेर कसरी भन्न सक्थ्यो र ! यो कुरा यशैया १४ः१२–१५ पदसँग पनि सम्बन्धित छ, जसमा शैतानलाई यसरी सम्बोधन गरिएको छः ‘तँ कसरी स्वर्गबाट खसेको छस्, ........तँ....भुइँमा खसालिएको छस्, ......तँ चिहानसम्म खाडलको तल्लो गहिराईसम्मै होच्याइस् ।’ स्वर्गको आफ्नो अधिकार गुमाएपछि शैतान संसारको शासक भएर बसेको छ । बाइबलका यी (युहन्ना १२ः३१, युहन्ना १४ः३०) पदहरुलाई हेर्ने हो भने प्रभु येशुले पनि शैतानलाई संसारको शासक भनेर सम्बोधन गर्नुभएको छ ।