Skip to main content

इमान्दार जनावरहरु



के हामी घरमा पशुहरु पालेका छौँ वा तिनीहरुको इमान्दारीतालाई जाँचेका छौँ ? हामी मानिसहरुलाई उसको बेहीसीपनमा फेला पार्दा पशुको उपनाम दिन्छौँ । ‘तँ त कस्तो कुकुरजस्तो रै’छस्’ भनेर गाली गर्छौँ । तर, स्वीकार गर्नुपर्ने कुरा यो छ कि, कतिपय हामी कुनै पशु वा कुकुर जति पनि विश्वासनीय र भरपर्दा पटक्कै छैनौँ ।

गाउँतिर उहिले मेरो फूपाजुको एक हल गोरु थियो । तर जोत्दा साह्रै खुट्टा चलाउने; बेइमानी हल गोरुजस्तो लाग्थ्यो ।
जब फूपाजु आफैँले जोत्नुहुन्थ्यो, गोरुहरु सरासर मेलोमा लाग्थे, गोरुहरुको केही बेइमानी देखिँदैनथ्यो । कारण गोरुहरुले आफ्नो मालिकलाई थिन्थे; किनकी विहान–बेलुका घाँस–खोले दिने उनै पूmपाजु हुन्थे । त्यस्तै एकजना अंकलले आफ्नो गोरु मरिसकेपछि फालिएको ठाऊँबाट बङ्गाराको हड्डीको एक टुक्रा बोकेर घरमा ल्याए । गिद्धको लुछाचुँडीबाट बचेको हड्डी थियो त्यो । दशौँ वर्षसम्म पनि उहाँको आँगनको ठूलो जुनारको बोटको चेपमा त्यो हड्डी रहिरह्यो । बेला–बेला त्यो मरिसकेको गोरुको तारिफ गर्नुहुन्थ्यो–‘त्यो गोरु जोत्दा कहिल्यै नबस्ने, राम्ररी जोत्ने, भनेको मान्ने, कसैलाई नहान्ने’ आदि–इत्यादि ।

धरानकी एकजना साथीसँग कहिलेकाँही भेट हुन्छ । तिनले पनि दुईवटा कुकुरहरु (नामः एक्लिस र रक्की) पालेकीछिन् । तिनको घरमा जब पुग्छौं; कुकुरहरु भुकेर घर उचाल्छन्, तब उनी भित्र जान्छिन्; म एकछिन गेटबाहिर नै अडिन्छु । जसै उनी भित्र जान्छिन्, कुकुरहरु शान्त हुन्छन्, छऊमा आइ लुटपुटिन थाल्छन् र लगेर बाँध्छिन् । मलाई देखेर फेरि कुकुरहरु भुक्न थाल्छन्, किनकी ती कुकुरहरुले मलाई चिन्दैनन् । तर, आफ्ना मालिक्नीलाई चिन्छन्, जसले तिनीहरुलाई स्याहार–सुसार गर्छिन्, खाना खुवाउँछिन् र बेला–बेला नुहाइदिन्छिन् । तिनको घरमा एक पूरानो अपाङ्ग कुकुरको ५ वर्षअघिको फोटो पनि झुण्डिराखेको छ; साथी भन्ने गर्छिन्– ‘त्यो कुकुर अपाङ्ग भएपनि असल थियो, सबैको प्यारो थियो’ ।

ह्याचिको’को कथाः

सन् १९२४ तिर टोकियो युनिभर्सिटी, जापानका एकजना कृषि विभागका प्रोफेसर Hidesaburo Ueno ले एउटा कुकुर किने, जसको नाम थियो ‘ह्याचिको’ । त्यतिखेर ‘ह्याचिको’को उमेर १८ महिनाको थियो । ह्याचिको हरेक दिन आफ्नो मालिकलाई पु¥याउन रेल स्टेसनसम्म जान्थे र ठीक बेलुका ४ बजेतिर फेरि मालिक लिन उहीँ पुग्थे । उक्त रेलस्टेसनको नाम ‘सिवुया’ रेलस्टेसन हो । यो क्रम ‘सन् १९२५ मे’सम्म नियमित रह्यो । तर, एकदिन आफ्नो मालिक फर्केनन् । ह्याचिको पर्खिरहे......तर उनको मालिक मस्तिष्कको पक्षघात र रक्तस्रावको कारणले संसारबाट सदाको लागि बिदा भएका थिए ।

मालिकको अन्येष्टि गरियो । तर, ह्याचिको बेलुकी ठीक त्यहीँ समयममा आफ्नो मालिक आउने प्रतीक्षा गर्न उक्त रेलस्टेसन पुग्थे । ह्याचिकोलाई अर्कै घरमा बेचियो, तर उम्केर आफ्नो पूरानो मालिकको घरमा आए; र आफ्नो मालिकलाई भेट्न हरदिन रेलस्टेसन पुग्न कुनै दिन
पनि बिराएनन् । के यो क्रम एक महिनासम्म मात्र चल्यो ? वा ६ महिनासम्म ? अहँ होइन, यो क्रम निरन्तर १० वर्षसम्म चलिरह्यो ।

सन् १९३२ अक्टोबर ४ तारिखका दिन ‘ह्याचिको’को बारेमा पहिलोपटक एक अखबारमा छापियो । त्यस दिनदेखि मानिसहरुले ‘ह्याचिको’को लागि खानाहरु बोकेर आउन थाले, ताकि ‘ह्याचिको’को पर्खाइ अवधिभरसम्म पालनपोषण होस् । आफ्नो मालिकलाई पर्खँदा–पर्खिँदै गरेको अवस्थामा सन् १९३५ मार्च ८ का दिन ‘ह्याचिको’को मृत्यृ भयो । ‘सिवुया’ रेलस्टेसनको बाटोमा उसको लास पल्टिरहेको थियो । यो एउटा कुकुरको सत्य कथा हो ।

यस्तो इमान्दार अनि भावुक बनाउने ह्याचिकोको बारेमा गुगल तथा युट्युबमा थुप्रै पढ्न–हेर्न पाइन्छ । ह्याचिकोको सामानहरु टोकियो, जापानको राष्ट्रिय विज्ञान संग्रहालयमा सुरक्षित छ; उसको मालिकको चिहान छेऊ उसको पनि स्मारक राखिएको छ । सिवुया रेलस्टेशनमा उसको बनावटको ढलौटको मुर्ति बनाइएको छ, जुन पर्यटकहरुको आकर्षणमध्ये एक हो । ह्याचिको एउटा जनावर भएर पनि आफ्नो मालिकप्रतिको इमान्दारीता, धैर्यता अनि बलिदानको महान् पाठ सिकाएर गए ।

अब आत्म–मुल्याङ्कनको लागि बाइबलको एउटा खण्डलाई जस्ताको तस्तै हेरौँ; ....किनकि परमप्रभुले भन्नुभएको छ– ‘मैले छोराछोरीहरुलाई पालनपोषण गरेर हुर्काएँ, तर तिनीहरु मेरो विरुद्धमा अटेरी भएका छन् । गोरुले आफ्नो मालिक चिन्छ, र गधाले आफ्नो स्वामीको डूँड चिन्छ, तर इस्रायलले चिन्दैन, मेरा मानिसहरुले बुझ्दैनन् । हाय पापी जाति, दोषले लादिएका मानिसहरु, दुष्ट काम गर्नेहरुका बच्चा, भ्रष्टाचार गर्नेहरुका सन्तान ! तिनीहरुले परमप्रभुलाई त्यागेकाछन्, तिनीहरुलो इस्रायलका परमपवित्रलाई हेला गरेकाछन्, र उहाँतिर आफ्नो पिठिउँ फर्काएका छन्’ (यशैया १ः२–४) ।

माथिको खण्डलाई विचार गर्दा ती अटेरी जातिका मानिसहरु तपाइँ–हामी नै त होइनौँ वा त्यो परमेश्वरलाई नचिन्ने देश हाम्रै देश त होइन ? पहिलो कुरा त तपाईँ हामी सारा ब्राम्हाण्डको मालिकलाई चिन्न असमर्थ भएका छौँ र आत्मा र सत्यतामा उहाँको आराधना गरेकाछैनौँ, दोश्रो कुरा उहाँलाई चिनेर पनि उहाँप्रतिको हाम्रो वफादारिता कस्तो छ त ? के हाम्रा चालचलनहरु परमेश्वरको अभिप्राय अनुसार छन ?

हामी परमेश्वरको रक्षा गर्न आएका होइनौँ तर उहाँको सेवा गर्न आएका हौं । हालै रिलिज भएको बलिउड फिल्म ‘पीके’ले सिकाएको कुराको सारः ‘सारा ब्राम्हाण्डमा घुमिरहेका विशाल गोलाहरुमध्ये एउटा सानो गोला पृथ्वीको एउटा सानो सहरको एउटा सानो गल्लीमा बसेर हामी उहाँको रक्षा कसरी गर्न सक्छौँ ?

हाम्रो मालिक परमेश्वरको सामु हामी असल सेवक तथा भण्डारेहरु हुनसक्नुपर्दछ । उहाँको बारेमा बाइबलमा लेखिएको कुरा जस्ताको तस्तैः ‘तपाई मात्र परमप्रभु हुनुहुन्छ । तपाईले नै स्वर्ग, सर्वोच्च आकाश, र त्यसका सबै तारामण्डल, पृथ्वी र त्यसमा भएका सबै थोक, र समुन्द्रहरु र तिनमा भएका सबै थोकहरु बनाउनुभयो । तपाईले नै तिनीहरु सबैलाई जीवन दिनुहुन्छ, र स्वर्गका सारा समुदायले तपाईलाई पुज्दछन् ’ ( नहेम्याह ९:६ ) | जनावरहरु त आफ्नो मालिकप्रति त्यति बफादारी हुन्छन् भने हामी झन उहाँको हातको उत्तम सीप भइकन उहाँप्रति अझ कति बढी बफादारी हुनुपर्ला ?अहिले मेरो कलमलाई म यहाँ रोक्न चाहन्छु, परमेश्वरको आशिष हामी सबैमाथि परोस् । धन्यवाद ।




Leave Your Comments Here!


Popular Posts

क्रिश्चियन युवतीहरुसँग लभ गर्ने गैह्र–क्रिश्चियन साथीहरुले बुझ्नैपर्ने कही कुराहरुः

के तपाईँको कुनै क्रिश्चियन केटीसँग लभ परेको छ ? जबकि तपाईँ एक गैह्र–क्रिश्चियन हुनुहुन्छ । क्रिश्चियन सुन्दरीहरुसँग लभ गर्ने गैह्र–क्रिश्चियन साथीहरुले बुझ्नैपर्ने कही कुराहरुः कोही–कोहीले चर्चमा गवाही बाँडेको सुनेको छुः ‘म सुरु–सुरुमा चर्च केटीहरु हेर्नमात्र जान्थेँ; तर पछि–पछि मैले येशूलाई विश्वास गरेँ; यसरी मैले प्रभुलाई पाएँ ।’ ओहो ! क्याबात ! यस्तो पनि हुन्छ र ? अवश्य हुनसक्छ । साँच्चै केटी हेर्ने नियतले नै चर्च जाने हो भनेता सँधै राम्रो मौका हुनसक्छ; किनकी प्रार्थनाको बेलामा सबैले आँखा चिम्लिने गरिन्छ । उत्निखेर आफूले चाँहि आँखा ठूला–ठूला पारेर चारैतिर जता हेर्न मन लाग्यो उतै हेर्न कसले रोक्ने ?

श्रीमाया आमाको जीवन

कोशीको पानी यो जीन्दगानी सलल जाइजान्या हौ हजुर ! आमाको कोखमा बास मात्रै लिए नि,  कुन देशको मरण हौ हजुर ! ‘नेपथ्य’को यहिँ गीतजस्तै एउटा जीवन देखेँ मैले । लियो टाल्सटायको ‘मानिसलाई कति जमिन चाहिन्छ ?’ नामक रुसी कथामा ‘प्याखोभ’लाई अन्तिममा उसलाई चाहिएको जति जमिन मिल्दछ, तर आफूलाई चाहिएको जति जमिन नपाएको जीवन पनि देखेँ मैले । उहाँलाई सबैले श्रीमाया आमा भन्थे, बडहरा बस्ने आमा भन्थे । म इटहरी बस्न थालेको समयदेखि नै उहाँलाई बेला–बेलामा चर्चमा सँगतिमा आउनुभएको देखेको थिएँ । उहाँ बलबुताले सकुन्जेल चर्च आउनुभयो, तर केही दिन अघि सदाको लागि अस्ताउनुभयो, सायद तुरहीको आखिरी आवाजसम्म ।

गाऊँ घरतिरको एकहप्ते बसाइ (संस्मरण)

धेरै समय पछि गाऊँ फर्केको थिएँ । मण्डली परिवारसँग राम्रो सँगति गर्न पाईयो । परमेश्वरका राज्य बढ्दो छ, बरु छेऊछाऊका मानिसहरु मौन छन्; तर टाढा–टाढाबाट मानिसहरु प्रभुमा फर्केका रहेछन् । घरमा २३ धार्नीको सुँगुर काटिएको रै’छ, पछि म बसुञ्जेल २ वटा गिरिराज भाले सिद्धयाइए । आहालेमा एउटा अनि डोडेनी मामाघरमा एउटा गरेर जम्मा ४ वटा लोकल–गिरिराज भालेहरु चामचुम पारियो दशैँका अवसरमा । घर पुगेको तेस्रो दिन भैसी सुत्केरी भईन्, बिगौति दुध खुब खाइयो, दुधले मुख कुल्ला गरियो । निबुआ र काँक्रा फर्सीको दानाको छोपसँग साँधेर बजाइयो, यो अन्तिम वाक्य देख्दा सायद तपाईँहरु कत्ति जनाको मुख रसाईसकेको हुनुपर्छ । भोराम पाखातिर गएर एक–दुई भारी घाँस काटेर ल्याउने विचार थियो, तर पार्ईएन । वाइली तिर जान पाइएन, फकुल दार्बुतिर जाने रहर अधुरै रह्यो । तर कल्पुम तिर गएँ, कक्षा ३ सम्म पढेको स्कुल घुमेँ, बालापनको यादहरु आँखाभरि नाचे । ब्ओकुला फुटबल मैदान तिर गएँ, पिङ्ग खेलेँ, रमाएँ । सकेसम्म गाउँका यादहरु मोबाइलमा खिँचे । कतिपय तस्वीरहरु तपाईँहरुले देखिसक्नुभएको छ ।

सुन्दरताको बारेमा केहि कुरा...

Photo of the girl is taken from Google. Thanks!  कसलाई मन नहोला सुन्दर नदेखिने ! को नराम्री हुन चाहन्छ ? बरु ब्युटी पार्लर धाएर होस्; ब्युटीप्लस एप चलाएर होस् वा अलिक कडा रुपमा भन्दा मैदाको पिठो घसेर नै किन नहोस ? सबैलाई ह्याण्डसम हुनुपरेको छ । सबलाई ब्युटीफुल हुनुपरेको छ । तर कतिपय स्मार्ट र आदर्शवान मानिसहरु भन्ने गर्छन् ‘अनुहार राम्रो भएर के गर्नु ? व्यहोरा पो ठीक हुनुपर्छ नि !’ अति राम्रो कुरा मान्छेको सुन्दरता जस्तोसुकै होस्, व्यहोरा ठीक हुनुपर्छ; चरित्र राम्रो हुनुपर्छ । तरपनि मानिसहरु जीऊ पूरै घनश्याम वर्णको भएप नि अनुहारको भाग जत्तिलाई गोरो बनाउन प्रयास गर्न छोडेका छैनन् । वास्तवमा सबै मानिस राम्रा छन् । सबैको आ–आफ्नै सुन्दरता छ । तर कतिपय अवस्थामा सुन्दरता; छालाको गोरोपनबाट नापिन्छ । यहाँ कोही काला छन्, कोही हल्का काला; अनि गहुँगोरो, गोरो र अति गोरो पनि । गोरोपन टल्किने नै; लगभग खुइल्याए जत्तिकै ।

समाधान नहुने समस्याहरु (आखिरी घडीहरु)

यो संसार शैतानको हातमा छ भन्दा थुप्रै विश्वासीहरुलाई अपत्यारिलो र अस्वीकार्य हुनसक्छ । तर बाइबलका केही खण्डमा यस कुराको ठोकुवा गरिएको छ । यदि यो संसारमा शैतानको शासन नभएको भए परीक्षाको समयमा प्रभु येशुलाई ‘म यो सारा अधिकार र यिनको गौरव तपाईलाई दिनेछु, किनभने यी सबै मलाई सुम्पिएका छन्, र म जसलाई इच्छा गर्दछु, त्यसलाई दिँदछु । तपाईंले मलाई दण्डवत गर्नुभयो भने यी सबै तपाईंका हुनेछन् (लुका ४ः६–७)’ भनेर कसरी भन्न सक्थ्यो र ! यो कुरा यशैया १४ः१२–१५ पदसँग पनि सम्बन्धित छ, जसमा शैतानलाई यसरी सम्बोधन गरिएको छः ‘तँ कसरी स्वर्गबाट खसेको छस्, ........तँ....भुइँमा खसालिएको छस्, ......तँ चिहानसम्म खाडलको तल्लो गहिराईसम्मै होच्याइस् ।’ स्वर्गको आफ्नो अधिकार गुमाएपछि शैतान संसारको शासक भएर बसेको छ । बाइबलका यी (युहन्ना १२ः३१, युहन्ना १४ः३०) पदहरुलाई हेर्ने हो भने प्रभु येशुले पनि शैतानलाई संसारको शासक भनेर सम्बोधन गर्नुभएको छ ।