क्रिसमस र मेरो ख्रीष्टियान जीवनबीच एक गहिरो अन्तर्सम्बन्ध छ । कुरा आज भन्दा एककम दश वर्ष अघिको हो । हाम्रो परिवार भर्खरै विश्वासी परिवार भएको थियो । म एकप्रकारले संगीतको साह्रै सौखिन थिएँ सानैदेखि । अरुले गिटार बजाउँदा र गिटार देख्दा मात्रै पनि मन हुरुक्क भएर आउँथ्यो । प्रभूलाई ग्रहण गरि जब म चर्च जान थालेको थिएँ, त्यति बेला क्रिसमस नजिकिँदै थियो । अगुवाहरु क्यारोल खेल्ने तालिका र कुन दिन, कुन ठाऊँमा खेल्ने जस्ता सूचनाहरु बाँड्न थाल्नुभएको थियो ।
क्यारोल खेल्ने दिनहरु आए । पहाडको ठाऊँ, विश्वासीहरुको घर पुग्न टाढा–टाढा, भीरपाखा चहार्दै, आपूm ओढ्ने लुगा आफैं बोकेर पृुग्नुपर्ने । दिउँसो भरि जम्मा भएर, अप्ठ्यारा बाटोहरु छिचोल्दै साँझ पर्दा क्यारोल खेल्ने घरमा भेला होइन्थ्यो ।
मलाई थाहा थिएन, क्रिसमसको समयमा विश्वासीहरुको चर्चप्रतिको चहलपहल स्वभाविक रुपले बढ्दै जान्छ भन्ने कुरा । क्यारोलमा भेट भएका विश्वासी दाजू–भाइ, दिदी–बैनी, साथी सँगीहरुको उपस्थिति, एकताको भावना तथा बन्धुत्वको भावनाले म ख्रीष्टियन भएपनि एक्लो महशुस कहिल्यै नगर्नुपर्ने रहेछ भन्न ज्ञानको गहिरो छाप ममा त्यतिबेलै प¥यो । तर, क्रिसमस पछि संगतिमा भेला हुने दोस्तीहरुको संख्या क्रमिक रुपले घट्दै गयो । यसो हुनुको कारण धेरै वर्षपछि, अर्थात् हिजोआज मात्र बुझ्दैछु ।
क्यारोलमा खुब गीत गाइयो । घोक्रो सुकाइयो । खुब गिटार बजाइयो, औंलाको टुपी खियाइयो । ओखल्ढुंगाको ती डाँडापाखाका ती झुप्रा घरहरु....जुन घरमा येशूको शान्तिले बास गर्दथ्यो ।.....शुन्य आकाशमा, कहीं दूर टिल्पिलाईरहेका ताराहरु अनि प्रेट्रोलमेसको उज्यालोमा गाउँदै–नाच्दै प्रभू येशूको जन्मको खुशीयालीमा रमाइरहेका हामीहरु........... । वास्तवमै मेरा ख्रीष्टियान जीवनका सुरुवाती दिनहरु यसरी बिते । क्यारोलको अन्त्यतिर घरबेटीहरुले नाङ्लाभरि भरि सेलरोटी अनि सुन्तालाले भरिएको डालोहरुको थाक लगाइदिनुहुन्थ्यो । चिसो मौसमको बावजुद पनि लुगलुग काम्दै सुन्तला खानुसम्म खाइन्थ्यो । अहिले पनि त्यो सुन्तलाहरु सम्झिँदा मुहार उज्याले भएर आउँछ, भन्नुको मतलब मुुखमा पनी भरिएर आउँछ ।
विहानी आँखा मिच्दै बाटोमा फर्कँदा ‘हिजो राती, कति मिठो गीतहरु गाउनुभएको..... कि के हो ?’ भनेर धेरैले सोध्थे । म जवाफ दिन्थें–‘ हो, गीत गाउने हामी नै हौं । यो विश्वासीहरुले मनाउने देउसी–भैलो हो ।’ के गर्नु, त्यतिखेर मैले बुझेकै त्यति हो ।
तर कुरा खानु पिउनु र रमाइलो गर्नुसँग मात्र सिमित रहेन । उक्त क्योलहरुमा बेसुर गीटारको तारमा गाइएका गीतहरुले गर्दा नै आज मलाई एक परमेश्वरको आराधक रुपको उभिने उत्प्रेरणा मिलेको छ । ती दिनहरुमा नै संगतिप्रतिको झुकाव, मण्डलीप्रतिको जिम्मेवारी र प्रेमको मिठो रस मेरो हृदयमा भिजेको थियो । त्यतिबेला जुन जोश र जाँगरले संगति र मण्डली धाउने गर्दथें, आजपर्यन्त उक्त जोश र जाँगरमा कुनै परिवर्तन भएको छैन ।
त्यतिबेलाका क्यारोल र क्रिसमसको दिन लगायत अन्य संगतिहरुमा भजन किताबको गीतहरुभन्दा पनि स्थानीय चर्चका अगुवाहरुले रचना गर्नुभएको गीतहरु बढी गाइन्थ्यो । पूर्वेली लोकभाकाको प्रभावले होला, गीतहरु बहूतै मेलोडियस हुन्थे । जसमध्ये क्यारोलमा गाइने एक गीतको कोरस यहाँ म प्रस्तुत गर्न चाहन्छु,
केटीः नौ डाँडा पारी गयौ नि दाजु, बैनीलाई विर्सेर
क्रिसमसमा आउनु, क्यारोल खेल्नु, बैनीलाई सम्झेर ।
केटाः नौ डाँडापारी गए नि बैनी, सम्झना बोकेर,
प्रभूको इच्छा भएमा बैनी, आऊनेछु फर्केर ।
यसरी क्रिसमसले जुन परिवर्तन र सकरात्मकता मेरो जीवनमा ल्यायो, आज पनि यसले म जस्ता अरु धेरैको जीवनमा अमूल्य आशिषको कारण बन्न सक्छ भन्ने कुरामा म ढुक्क छु ।
अन्त्यमा सबैलाई क्रिसमस तथा नववर्ष २०१५ को हार्दिक मंगलमय शुभकामना ।