मार्क जुकरबर्गद्वारा सञ्चालित सामाजिक सञ्जाल फेसबुक अब मानिसहरुकालागि अनिवार्य जस्तै हुन थालेको छ । किशोर किशोरीदेखि लिएर वयस्क–वृद्धवस्था सम्मका मानिसहरुले फेसबुक चलाउँछन् । टाढा रहेका परिवार, साथी–भाई तथा आफन्तसँग नजिक रहन सक्ने एउटा राम्रो माध्यम फेसबुक बनेको छ । कम्प्यूटर, ल्यापटप वा मोबाइल पक्रेर कोठाको एउटा कुनामा बसेर विश्वको कुनै कुनामा फेसबुक चलाइराखेका मित्रहरुसँग एकैपटक भलाकुसारी गर्न पाउनु आफैंमा अत्यन्तै रोचक छ । प्रविधिको यस्तो विकासले गर्दा मानवजीवनकालागि सञ्चार सहज भएको छ, यस्तो ज्ञान दिनुहुने परमेश्वरलाई सदैव महिमा होस् ।
फेसबुककै माध्यमबाट हामी आफ्ना साथीहरुको वा कुनै व्यक्तिको बारेमा अझ बढी जानकारी हासिल गर्न सक्छौँ, उनीहरुले अपलोड गरेका तस्बीरहरुबाट, भिडियोहरुबाट, स्ट्याटस्बाट अनि नोटहरुबाट । एउटा अर्थमा यसो पनि भन्न सक्छौं कि फेसबुकले गर्दा अब कोही पनि साधारण मानिस रहेनन्, सबै एक से एक सेलिब्रेटी भएकाछन् । तर, ध्यान दिनुपर्ने कुरा के हो भने हामीले फेसबुकमा पाएको लाइक र कमेन्टले कहिल्यै पनि हाम्रो वास्तविकता नझल्काउन सक्छ अर्थात् हाम्रो व्यक्तित्व विकासमा यसले कुनै महत्वपूर्ण भूमिका नखेल्न सक्छ । फेसबुकमा पाएका लाइक र कमेन्टहरु हाम्रो सफलताको मापदण्ड कहिल्यै पनि होइनन्, यसर्थ फेसबुकको कारणले कोही पनि कहिल्यै तनाव वा मानसिक समस्यामा पर्नुहुँदैन । हाम्रो जीन्दगीको अमूल्य समय फेसबुकले चोरिरहेको छ भने अवश्य स्वयम् सचेत हुनुपर्छ ।
कतिपय मानिसहरुले फेसबुकलाई दुःख बिसाउने चौतारी सम्झेका छन् भने कतिपयले अरुलाई निन्दा गर्ने साझा थलो । बरु प्रभू येशूले थाकेका र बोझले दबिएकाहरुलाई आफूकँहा आउने निमन्त्रणा गर्नुहुन्छ, तर फेसबुकले कहिल्यै पनि हाम्रो वेदना तथा रोदनको माग गरेको छैन । यसैले आफ्नो फेसबुकको टाइमलाइनमा दुःख पोखिहाले पनि त्यति धेरै सान्त्वना र सहानुभूतिको आशा राख्नुहुँदैन । थोरबहुत सान्त्वना वा सहानुभूति पाइहालेता पनि त्यो हाम्रो परमेश्वरबाट पाईने अद्भूद साहस वा ढाडस सरह कहिल्यै पनि नहुने कुरा तपाई हामी परमेश्वरका छोराछारीले बुझ्नु अत्यन्त जरुरी छ ।
प्रभूका थुप्रै दासहरु तथा विश्वासी संघसंस्थाहरुले बडो मेहनतकासाथ थुपै्र फेसबुक ग्रुप तथा पेजहरु सञ्चालन गरेकाछन् । ती ग्रुपहरुमा सहभागी भएर तथा पेजहरुलाई लाइक गरेर प्रभूको बारेमा वा उहाँसँग सम्बन्धित नयाँ जानकारीहरुको बारेमा धेरै कुरा जान्न सकिन्छ । फेसबुकको माध्यमबाट देश विदेशमा बसेका विश्वासी मित्रहरुसँग नजिक रही आत्मिक न्यानोपनमा रमाउन सकिन्छ, भावनाहरु साटासाट गर्न सकिन्छ ।
कतिपय अवस्थामा फेसबुकलाई अश्लील कुराहरुको लागि पनि प्रयोग भएको पाइन्छ, जसले गर्दा व्यक्तिको आत्मिक जीवनमा घातक सिद्ध हुनसक्छ । फेसबुक आफैंमा नराम्रो होइन, तर यसलाई कसरी प्रयोग गर्ने त्यो हाम्रो आफ्नै हातको कुरा हो । भलाई यसैमा छ कि हामी सबै फेसबुकको उचित सदुपयोग गर्न प्रेरित हुन सकौं ।
Comments
Post a Comment