बाइबलले प्रष्ट बताउंछ कि येशू किशोर अवस्थादेखि नैै वाकपटुतामा प्रखर ठहरिनुभएको थियो (लूका २:४६) । वर्तमान समयमा विश्वासीहरु माझ टड्कारो देखिएको आवस्यकता यो पनि हो कि हरेक प्रश्नको सवाल जवाफ उचित तरिकाले दिन सक्नु । जसका लागि सयौं ठाउंमा आयोजना गरिने विभिन्न लिडरशीपको तालिम तथा क्याम्पहरुमा सहभागी भएर मात्र पर्याप्त हुंदैन, सही खुराक त येशूबाटै लिनुपर्छ ।
चालिस दिने उजाडस्थानको उपवासको भोकले विक्षिप्त बनेका येशूलाई सजिलै आफ्नो आज्ञामा झुकाउन सकिने ठहर शैतानले गर्यो । अझ परमेश्वरको वचनलाई नै प्रयोग गरेर येशूलाई परीक्षामा पार्ने रणनीति उसले लियो । शैतानले प्रस्तुत गरेको तीनवटा प्रश्नहरु मामूली चुनौतीपूर्ण थिएनन् । पहिलो, शैतानले येशूलाई भन्यो – ’यदि तपाई परमेश्वरका पुत्र हुनुहुन्छ भने यी ढुङ्गाहरुलाई रोटी बन्ने आज्ञा दिनुहोस् ।’ अब यो आज्ञा नमानेमा वा गर्न नसकेमा येशू परमेश्वरको पुत्र नहुन सक्ने खतरा स्पष्ट थियो । तर येशूले भन्नुभयो -’मानिस रोटीले मात्र होइन तर परमेश्वरको मुखबाट निस्केको हरेक वचनले बाँच्दछ ।’ यसरी येशूले नाशवान् रोटीको महत्वलाई परमेश्वरको वचनको अगाडि बेकम्मा तुल्याउनुभयो । वास्तवमा हामी यहि वचनको आधारमा बाँचेका छौँ । निहुँ खोज्नेले –’लु अबउसो तिमी भात नखाई बाइबल मात्र चपाएर बाँच’ भन्न बेर लाउँदैनन् । तर, यही वचनको कारणले अनन्तमा हामी ख्रीष्टमा विश्वास नगर्नेहरुभन्दा कति फरक हुँनेछौं भन्ने कुरामा विश्वस्त छौँ । दोश्रो, शैतानले येशूलाई मन्दिरको टुप्पोबाट हामफाल्नुपर्ने चुनौती दियो । येशूले यसो गरेमा स्वर्गदूतहरुले उनलाई हात–हातै थाम्ने कुरामा शैतानले आफ्नो विश्वस्तता परमेश्वरको वचनबाट प्रस्तुत गर्यो । येशूले त्यसलाई ’लेखिएको छ, तैँले परमप्रभु आफ्ना परमेश्वरको परीक्षा नगर्नु’ भन्दै आफ्नो विमति जनाउनुभयो । कतिजना यसरी नै विश्वासबाट पर रहेर परमेश्वरको परीक्षा गरेकाछन् र आफू अनूकुल फलिफाप नहुँदा मण्डली आउनुको महत्वलाई धुमिल बनाईदिएकाछन् । तेश्रो, शैतानले आफूलाई दण्डवत गरेमा सारा संसारको मालिक बनाउने प्रलोभन येशूलाई देखायो । हामी यहाँ बाटोमा हिलो कुल्चेर हिँडेजस्तै सुनको बाटोमा हिँड्न पाइने स्वर्गीय राज्यको ढोका खोल्न आएका येशूलाई यो प्रलोभनले कतै छोएन । उहाँले भन्नुभयो–’तैँले आफ्नो परमप्रभु परमेश्वरलाई दण्डवत गर्नु, र उहाँको मात्र सेवा गर्नु ।’ यो विजयको कथा बाइबलको मत्ती ४:१-११ मा उल्लेख छ ।
यसरी येशूले शैतानको कुनै कुरामा पनि समर्थन जनाउनुभएन । येशूको यस्तो प्रतिक्रिया पावलको ’उज्यालोको अँध्यारोसँग के सँगति ?’ भन्ने वाक्याँशसँग मेल खान्छ, अर्थात हामी दुष्टताको कामहरुसँग कुनैपनि तरिकाबाट सम्झौता गर्न सक्दैनौँ । कतिपय अख्रीष्टियनहरुले उनीहरुलाई नै शैतान भनिएको भनेर आक्रोशपूर्ण गुनासो हामीलाई सुनाएका छन् । तर सत्यता यो होइन, हामी त सृष्टिको सुरुवातमा अदनको बगैँचामा सर्पको रुप धारण गरेर हव्बालाई छल्ने अदृश्य दुष्ट शक्तिको बारेमा कुरा गरेका हौँ, जो घमण्डको कारणले स्वर्गबाट फ्याँकिएको थियो र उसको हरेक क्रियाकलापहरुमा असहमति मात्र जनाएका हौँ । तर यस्तो गुनासोबाट माथि उठेर आफू परमेश्वरदेखि बरालिएको तथ्यलाई स्वीकार गरेर हराएको छोरो झैँ पितातर्फ फर्कनु चाँहि महत्वपूर्ण हो ।
सामरी स्त्री संगको भेटमा तिनले येशूसंग आफ्नो गोप्यता लुकाउन खोज्दा येशूले पहिले नै पांचजना लोग्ने भइसकेको र अहिले जो साथमा छ त्यो पनि उसको लोग्ने होइन भनिदिएपछि अन्त्यमा येशूको प्रभुत्व स्वीकार्न बाध्य भइन् र त्यहाँ ठूलो सु–समाचार प्रचार भयो (यूहन्ना ४:१६-४२) । येशूको आत्मसम्मानमा ठेस पुर्याउने उद्देश्यले फरिसीहरुले कैसरलाई तिर्नुपर्ने कर सम्बन्धी प्रश्न सोध्दा येशूले दिनुभएको जवाफ बहुत सान्दर्भिक छ (मत्ती २२:१५-२१) । यो सुनेर तिनीहरु चकित भए र उहाँलाई छोडेर गए । यस्तै घटना मत्ती २१:२३-२६ मा पनि पाउछौं ।
पूरानो करारमा बकाइदा लेखिएको कुरा यो हो, व्यभिचार गर्ने पुरुष वा स्त्री मारिनै पर्छ (लेवी २०:१०) । एकपल्ट येशू मन्दिरमा रहंदा एकजना व्यभिचारिणीलाई ल्याइयो र ढुंगा हान्न पाउनुपर्ने सल्लाहको माग गरियो, तर येशूले त्यस स्त्री मारिनुपर्ने आवस्यकता देख्नुभएन किनकी ती व्यक्तिहरुको उदेश्यको रहस्य विल्कुल फरक थियो । परिस्थिती जटिल भएपनि येशूले त्यस व्यभिचारिणीको जोखिमपूर्ण रुपमा उद्दार गर्नुभयो । शास्त्री फरिसीहरुको प्रश्नमा येशूको एक वाक्य सवाल जवाफ नै त्यस स्त्रीको जीवन बचाउन पर्याप्त भयो (यूहन्ना ८:१-८) ।
मृत्यूको संघारमा उभिंदा आफ्नो दुर्बलतामा पनि येशूको शक्तिशाली सवाल जवाफ दिने तरिकामा कुनै परिवर्तन आएन । ‘के तँ परमेश्वरको पुत्र होस् ?’ भन्ने प्रश्नमा येशूले भन्नुभयो–‘तपाईहरु नै भन्नुहुन्छ की म उही हुँ ’ (लूका २२:७०) । पिलातसले उहाँलाई सोधे–“के तिमी यहुदीहरुका राजा हौ ?” येशूले जवाफ दिनुभयो –“तपाईं नै त्यसो भन्नुहुन्छ” (लूका २३:३) । येशू आफैंद्वारा भन्दा पनि उनीहरुबाटै येशू को हुनुहुन्छ भन्ने कुराको घोषणामा केवल आफ्नो सहमति जनाउनुभयो ।
येशुका यी बोलीहरुमा सामर्थ्य थियो, दम थियो, आक्रोश थियो, विनम्रता थियो । आक्रोश चाँहि यो अर्थमा कि एकपल्ट परमेश्वरलाई प्रार्थना गर्नुपर्ने भवनमा मानिसहरु आफ्नो व्यापार–व्यवसाय गरिराखेको भेट्टाएपछि येशूले देखाउनुभएको स्वभाव केही रुपमा आक्रोशपूर्ण छ । एउटा भनाइ यस्तो पनि छ–‘कि असल बोल, कि ज्ञानी झैं चुप लागेर बस । बाइबलले प्रार्थनामा व्यर्थै नबरबराउनु भनेर चेतावनी दिन्छ । तर यो वचन कसैलाई सुसमाचार सुनाउनु, भीडसामु आफ्नो भनाइ राख्नु, साथै पुल्पिटमा गएर बोल्नुसँग पनि सम्बन्धित छ । आज हाम्रो अरुसंगको संवाद शैली कस्तो छ ? येशूको चेला भइटोपलेर ओजपूर्ण शब्दमा आफ्नो विचारहरु प्रस्तुत गर्न नसक्नु एक ख्रीष्टियन जीवनको व्यक्तित्व विकासमा एक खतरनाक चुनौती हो । यद्यपि हुर्काउने बढाउने परमेश्वर नै हुन्, हामी त बीऊ छर्ने, मल हाल्ने वा पानी छिम्क्याउने जस्ता मात्र हौँ ।
Comments
Post a Comment