
कुनै एउटा बस्ती थियो, जहाँ ४० जना कुष्ठरोगीहरु बस्थे । संसारले कुष्ठरोगको निदानको उपाय पत्ता लगाइसकेपछि एकजना डाक्टर दयाले भरिएर ती ४० जना कुष्ठरोगीहरुको उपचारको निम्ति उक्त बस्तीमा डेरा सारे । अनि दैनिक ती ४० जना कुष्ठरोगीहरुको उपचारमा तल्लीन हुन लागे ।
यसरी केही वर्षहरु बिते । ती कुष्ठरोगीहरु विस्तारै निको हुँदै गइरहेका थिए र घर फर्कन थाले । अन्तिम केही रोगीहरु बाँकी रहेको बेला के थाहा हुन आयो भने उक्त डाक्टर आफैँ पनि कुष्ठरोगको शिकार भइसकेका रहेछन् । ती ४० जना रोगीहरुको सेवा गर्दा–गर्दै उनलाई पनि कुष्ठरोग सरिसकेको थियो । डाक्टरलाई कुष्ठरोग बाहेक अन्य संक्रमण पनि थियो, वा भनौँ ती ४० जना रोगीहरुको अन्य ४० प्रकारको संक्रमण डाक्टर सा’पलाई प¥यो ।
अन्तिम केही कुष्ठरोगीहरु निको भएर घर फर्कने सुरसार गर्दै गर्दा डाक्टर आफैँचाँहि मृत्युशैयामा लडिरहेका थिए । डाक्टरले ४० जना कुष्ठरोगीहरुलाई बचाए, तर आफैँलाई बचाउन सकेनन् । अन्ततः उनी मरे ।
तर ती ४० जना निको भएका मानिसहरुले ती डाक्टरको पार्थिव शरीरलाई दफन गर्ने बेलामा डाक्टरको बिल्ला गर्न थालेः ‘यसले हामीलाई त बचायो, तर आफैँलाई बचाउन सकेनन् ।’ उनीहरुले ती डाक्टरले गरेको सेवा र बलिदानी कार्यमाथि अनेक शंका–उपशंका गरे, मजाकमा उडाए ।
येशू, जसलाई बप्तिस्मा दिने युहन्नाले ‘संसारको पाप उठाईलैजाने थुमा’ भनी सम्बोधन गरे, उहाँले थुप्रै कुष्ठरोगीहरुलाई निको पार्नुभयो, भूत लागेकाहरुलाई छुटकारा दिनुभयो, मरेको लाजरसलाई फेरि नयाँ जीवन दिनुभयो । अझ एउटा काम बाँकी थियो, मानिसहरुको पापको मोलस्वरुप क्रुसमा रगत बगाउनु र मर्नु । तिनै येशूलाई क्रुसमा टाँगिएको बेलामा उहाँको अझ अपमान गरियो । मानिसहरु उभिएर हेरिरहेका थिए । शासकहरुले उहाँको ठट्टा गर्दै भनेः ‘यसले अरुलाई बचायो, यो परमेश्वरको पुत्र हो भने अब आफैँलाई बचाओस्’ (लुका २३ः३५)। उहाँसँगै क्रुसमा टाँगिएका अरु २ अपराधीहरुमध्ये एकजनाले उहाँको अपमान गर्दै भन्योः ‘के तिमी ख्रीष्ट होइनौ ? तिमी आफैँलाई र हामीलाई बचाऊ’ (लुका २३ः३९)। येशूले आफ्नो सेवकाईको सुरुवाती दिनहरुमा भन्नुभएकै थियोः ‘‘निस्सन्देह ! तिमीहरुले मलाई यो उखान भन्नेछौः ‘ए वैद्य आफैँलाई निको पार’ !’’ (लुकाः ४ः२३)। हो, मानिसहरुले उहाँलाई त्यसै भने, तर उहाँ आफ्ना कष्टमा झुक्नुभयो, जवाफ दिनलाई आफ्नो मुख खोल्नुभएन ।
हामी कल्पना गरौँ, उहाँको क्रुसमाथिको दृश्य । अर्धनग्न शरीर (कतिपय ब्याख्यामा उहाँलाई नाँगै झुण्ड्याइयो थियो भनिएको छ), टाउकोमा काँडे मुकुट, चार हात पाउमा किला ठोकिएको, बगिरहेका रगतको थोपाहरु, कोर्राको चोटले छियाःछिया बनाएको एक निरीह शरीर । वास्तवमा ती दृश्यहरु कति हृदायविदारक थिए ।

कुनै समय नेपाली क्रिश्चियनहरुको विरुद्धमा पोष्ट भएको एउटा लेखमा एक मित्रको कमेन्टको मलाई बेला–बेला सम्झना आउँछ । उक्त मित्रले लेखेका थिएः ‘येशू अपराधी नभएको भए तत्कालिन मानिसहरुले काँटी ठोकेर किन मार्थे होलान् र ! यसैले यसको पछि लाग्ने फिरिङ्गीहरुलाई लखेट्नैपर्छ ।’ मलाई कहिलेकाँही यस्तो लाग्छ, त्यो जमानामा ‘ए वैद्य, आफैँलाई निको पार’ भन्नेहरु र अहिलेका हामीहरुमा खासै फरक छैन । हृदय कठोर हुनुको पनि एउटा सीमा त हुन्छ होला नि !
खेद मान्नैपर्छ, कतिपय हामीलाई येशूको क्रुसको कथाको अर्थ नै थाहा छैन, अझ दुःखको कुरा अर्थ बुझेर पनि हामी आफैँलाई हदैसम्मको कठोर बनाएका छौँ, येशूमा विश्वास गर्नको लागि हाम्रो जीवनमा एउटा चमत्कारको पर्खाइमा छौँ । ‘मर्नुभन्दा बौलाउनु निको’ भन्ने पाराले अन्त्यमा केही उपाय नलागेर मात्र येशूलाई पछ्याउनुपर्ने भन्ने कहाँ लेखिएको छ र ! चमत्कारको पर्खाइमा जीवन ढल्केर पो जाने हो कि !