असार ३, २०७१ । एकाविहानै बाटोमा एउटा महिला रिक्सामा आफ्नो नानीसँग रुँदै मेडिकलतिर दौडिइन् । बच्चालाई के भएको हो थाहा भएन । तरै पनि बच्चा बेहोस थियो । आमा भने–‘छोरा तँलाई के भयो ? तँलाई केही नहोस् है !’ भन्दै रुँदै, बर्बराउँदै थिइन् । केही परसम्मबाट पनि त्यो करुण क्रन्दन सुन्न सकेँ । अर्को घुम्तीमा मोडिएर ओझेल नभएसम्म मैले त्यो रिक्सा हेरिँरहेँ । एकप्रकारले भनौँ ती आमाको वेदनामिश्रित स्वरले मेरो हृदय तोडियो ।
अफिसमा पुगेर इमेल चेक गर्दा इनबक्समा दुःखद खबर आइसकेछ । खोलेर हेर्नैपर्यो, हेरेँ । सँस्थाकै एकजना चिरपरिचित स्टाफले झण्डै मेरो आफ्नै उमेरको कल्कलाउँदो छोरालाई दुर्घटनामा गुमाउनुभएछ । यो सोच्न पनि नसिकने एउटा भयावह अवस्था थियो । उहाँहरुको शोकित परिवारको सान्त्वनाको लागि प्रार्थनाको आह्वान भएको रहेछ ।
दिउँसोको समय ढल्किनै लाग्दा म आफ्नो सुपरभाइजर सरसँग सुनसरीको झुम्कातिर हान्निएँ । सरकारी जग्गामा बसोबास गरिरहेका सुकुम्बासी–हुकुमबासी सबैको उठिबास लाउँदै रै’छ सरकारले । रमितेहरुको ठूलो भीड थियो, हामी पनि रमिते नै भयौँ । चारपाँच वटा डोजर सक्रिय थिए घरहरु भत्काउनका लागि । बर्षौंको मेहनतले जोडिएका घरहरु एकैछिनमा तहसनहस भएको देखिन्थ्यो । हाम्रो थुप्रै इसाई दाजुभाइको परिवार पनि विचल्लीमा पर्नुभयो । यद्यपि चर्च, मन्दिरजस्ता सार्वजनिक भवनहरु चाँहि भत्काइएको थिएन । आराधकहरुलाई नै उठिबास लाएपछि यी भवनहरु रहनुको खासै महत्व थिएन ।
हुन त सरकारी जग्गामा कब्जा जमाएर बस्नु गल्ती नै होला । तर ती मान्छेहरु बस्ने ठाउँलाई उजाड बनाइँदै गर्दा सरकार आफ्नो जनताहरुप्रति अति क्रुर भएको महशुस गरेँ मैले । बाठा मान्छेहरुले उहिले नै मुआब्जा रकम लिइसकेको जग्गा पनि सस्तोमा बेचेर डबल आम्दानी गरेको कुरा पनि सुनियो । कति घरहरु नम्बरी जग्गामै बनाइएको हो भन्ने पनि सुनिन्थ्यो । तर एकदमै वेवास्ताकासाथ नहर आसपासका तीन सय फीटसम्मका घरहरु धमाधम भत्काउने क्रम जारी थियो । तर घरसँगै भत्केको मन कस्ले टाल्ने ? कस्ले सिउने ? पहाडतिर घर हुनेहरु उतै फर्कलान्, अन्तै जग्गाको जोहो गरेकाहरुलाई पनि आफुलाई पुनर्स्थापना गर्न केही सजिलो होला । तर, त्यहाँबाहेक अन्त कतै केही नहुनेहरुको अवस्था साँच्चै नै कहालीलाग्दो छ ।
फर्किने बेलामा एउटा कारुणिक दृश्यले मुटु छियाःछिया बनायो । एकजना हजुरआमाले आफ्नो घरप्रति देखाउनुभएको तिर्सना झस्काउने खालको छ । ती घरहरु भत्काइने भएपछि सम्भवत: माउसुली, मुसाहरुले पनि घर छाडिसके होलान्, त्यसैले जति मान्छेहरु थिए सबै बाहिर, कि अन्तै थिए । ती जग्गाहरुमा अब उप्रान्त चुलाहरु नबसालिने निश्चित थियो । तरपनि, घरहरु भत्काइँदै गर्दा एकजना हजुरआमा आफ्नो घरको छतमा चढ्नुभयो । अनि कौसीमा एक्लै बसेर पल्लो घर भत्काइँदै गरेको दृश्य हेर्न थाल्नुभयो । उहाँ जान्नुहुन्थ्यो अब अगाडिको दुई घर भत्काइसकेपछि उहाँको घरको पालो हो भनेर, तरैपनि अन्तिम अवस्थासम्म घरमा रहिरहने आफ्नो इच्छा जनाउनुभयो । म के जान्दछु भने त्योे घर ती हजुरआमा र उहाँको परिवारले जीवनभरिमा कमाउनसकेको एउटा उपलब्धी थियो । किनकी, उक्त घर बनाइँदै गर्दा धेरैपटक मण्डलीमा प्रार्थनाको विषयमा घरनिर्माणको कुरा उठाउनुभएको थियो । घर गुमाउनुपरेको पीडाले ती हजुरआमाको मुहारमा कोरिएको अफसोसको धर्साहरु शब्दमा व्यक्त गर्न नसकिने महशुस हुन्छ ।
भारी मन लिएर फर्किँदै गर्दा बाइबलको एउटा लाइन सम्झेँ । जसमा लेखिएको छ– “किनकि हाम्रो यहाँ रहिरहने शहर छैन, तर आउनेचाँहि शहरको हामी प्रतीक्षा गर्दछौं ” (हिब्रु १३:१४) । वास्तवमा हामी परदेशी नै हौँ । संसारमा आफ्नो भन्ने केही छैन । सबै छोडेर जानुपर्छ एकदिन । अर्को शब्दमा यसो भनौँ– ‘हामीसँग भएका यावत थोकहरु हामी परमेश्वरबाट केवल भाडामा प्रयोग गरिरहेछौं ।’ बाइबलमा अय्युबले आफ्नो सर्वनाश हुँदा भनेका थिए–‘म आफ्नी आमाको गर्भबाट नाङ्गै आएँ, अनि म नाङ्गै फर्केर जानेछु । परमप्रभुले दिनुभयो अनि परमप्रभुले नै लानुभयो, परमप्रभुको नाउँ धन्यको होस् ।’ यसरी हामीले पनि हाम्रो संसारमा रहने क्षणिक जीवन र यसको क्षणभङ्गुरता जान्न सक्यौँ र आउने स्वर्गीय घरको आशामा रमाउन सिक्यौँ भने एकदिन नष्ट भएर जाने हाम्रा सांसारिक धनहरु गुमाउँदाको पीडाहरु अवश्य थोरै भए पनि कम हुनेछ ।
हुन त भनिन्छ–‘मिठो बोल्ने बोली भन्दा सेवा गर्ने हात पवित्र हुन्छ !’ तरै पनि साँझ घरको छतमा दिनभरिको घट्ना र दृश्यले विरक्तिएर यताउता टहलिँदै गर्दा उहाँहरुलाई प्रार्थनामा सम्झिनुपर्ने बोझको महशुस मैले हृदयबाट गरेँ ।
Comments
Post a Comment