बाइबलले यसो भनिरहँदा पनि कतिपय अवस्थामा युवाहरु पटक्कै खुशी छैनन् । युवाहरुलाई देशको भावी कर्णधार, मण्डलीको खम्बा, पृथ्वीको गहनाको रुपमा उपमा दिइएको छ । तर ती मध्ये धेरैजसो बेचैन अवस्थामा गुज्रिरहेका छन् । कोही यस्तो जीवन बाँचिरहेका छन्, जसले अरुको जीवनमा मूल्य थप्ने कल्पनासम्म गर्न सकिँदैन । दुर्व्यसन, अनैतिकता, मोजमज्जा, अदूरदर्शी नीति तथा नकारात्मक सोच अनि कालान्तरमा जीवन लक्ष्यविहीनता र शुन्यताको खाडलमा…
यो कसरी सम्भव छ एक जोशिलो अनि शक्तिशाली चमक बोेकेको युवाको लागि ? जसको मुहारमा अनेकौं आशाका किरणहरु सप्तरंगी रंगमा छरिएका देखिन्छन् । वर्तमान संसारमा भोकोपन र नांगोपनले गाँजेको छ । त्यो भोक खाना नपाउँदाको मात्र भन्नु एक अपवादमात्र हो । चाहिने जति खान, लाउन पाएर पनि मानिसहरु निराशाको जालमा फसेका छन् । यो समस्याबाट युवाहरु अछुतो छन् भन्नु गलत विश्लेषण ठहरिन्छ । आफूलाई वेवास्ता गरिएको र कसैको लागि महत्वपूर्ण नभएको वा नचाहिएको महशुस गर्नुभन्दा दुःखदायी अवस्था अर्को कुन होला र ? यही भावना र समस्याबाट युवाहरु पिरोलिएका छन् । उनीहरुको भोक भनेको उनीहरुप्रति गरिनुपर्ने वास्ता र फिक्रीको भोक नै हो । कतिपय अवस्था अग्रजहरुबाट आफूलाई दुरुपयोग/अबमूल्यन गरिएको सत्यता थाहा पाउँदा उनीहरुको आत्मसम्मानमा चोट पुगेको छ । विशेषगरि राजनैतिक आन्दोलनहरुमा कुरै नबुझी झण्डा बोकेर सडकमा चिच्याउँदै हिँड्नेहरु यस्तो मनोभावनाको शिकार भएका छन् ।
मानवजीवन अति अनमोल छ । यो सत्यता अकाट्य छ । त्यसमा पनि झन युवावस्था त झन् उर्जाशील अवस्था हो । यिनै अवस्थामा हामीले पार गरेको दुरीले हाम्रो भविष्यको उचाईलाई निर्धारण गर्दछ । तर यो सत्यता बुझ्नुभन्दा पनि व्यक्तिगत रुपमा महशुस गर्न अत्यन्त जरुरी छ । तपाई आफैंलाई किन अवमूल्यन गर्नुहुन्छ ? जब कि तपाई यति मूल्यावान हुनुहुन्छ । तपाईको खाँचो मण्डलीलाई छ । देशलाई छ, अझ बढी तपाईको परिवारलाई । तपाईले गर्न सक्ने परिवर्तनको पर्खाइमा सबैजना कुरिरहेका छन् । त्यसो हो भने हामी किन आलटाल गर्दैछौं ? सुत्ने समय होइन यो तर सफलताको दौडमा कुद्ने समय हो ।
हामीमा एउटा हीनताबोधको समस्या छ । जुन मनोभावले हामी अरुको त्यो उच्चतम् स्तरसम्म आफूलाई कहिल्यै नपुग्ने हो कि भन्ने शंका, उपशंका उब्जाइदिन्छ । जब अरुसँग आफूलाई तुलना गर्न थाल्छौं, यो बुझ्नु जरुरी छ, हामी आफैंले आफ्नो मूल्य घटाइरहेका हुन्छौं । यसले गर्दा हामीमा भएको क्षमता क्षीण हुँदै जान्छ र हामी अझ निरीह बन्दै जान्छौं । हामी आफूभन्दा माथिको सयजनालाई देखेर इर्स्या गर्दैनौं तर आफूमुनीको हजारौं हजारलाई हेरेर उत्साहले भरिन्छौं । हामी आफुभन्दा माथिको मानिसको खुट्टा तान्दैनौं । बरु आफैलाई टेकाइ अझ माथि धकेलिदिन्छौं । बरु हामी आफ्नो रफ्तारलाई बढाईदिन्छौं । यसरी जिउनलाई उत्साह र प्रेरणाले नभरिने हो भने र चीलको जीवन मात्रै जीवन हो अरु जीवन व्यर्थै हो भन्ने विश्लेषण गर्ने हो भने एउटा जुरेलीले केको आशामा बाँच्न र हाँस्न सक्छ र ?
जीवनको फिक्रीले हामी भयभित भएका हुनसक्छौं । बेरोजगारको समस्या, महँगी र आर्थिक मन्दीले जनजीवन कष्टकर बन्दै गएको छ । यसले मानिसले गर्नुपर्ने सघर्षलाई दोब्बर अझ कठिन बनाईदिएको छ । चिन्ता र फिक्री नभएको को होला ? चिन्ता र फिक्रीबाट टाढै बस्नुपर्छ र हाम्रो वास्ता परमेश्वरले गर्नुहुन्छ भनेर हामीले धेरैपटक सुनेका छौं । यसको मतलब हामी खुट्टा पसारेर बस्दा पनि हुन्छ, अजिगंरको आहारा स्वत: मिल्छ भनेझैं सबै कुरा समाधान भएर जान्छन् भन्ने पटक्कै होइन ।
केही दूर सुखद भविष्यले हामीलाई पर्खिराखेको छ । के हामी हाम्रा अग्रजहरुको लागि जिम्मेवारी दिन लायकको र भरोसा गर्न योग्य छौं ? (१ तिमोथी ४:१२) यसरी हामी लक्ष्यतिर अघि बढिरहनुपर्छ । हामीलाई जीवनभरिनै केही न केहीको आवश्यकता र अभाव खट्किरहनेछ । यसअर्थमा कि हामी भरिपूर्ण कहिल्यै हुनेछैनौं । त्यसैकारण हाम्रो लक्ष्यको केन्द्रमा पुग्नलाई केही गुमाउनुपर्छ, कतै छोडिनुपर्छ भने त्यसले पार्ने चोटप्रति दुःखी हुनुहुँदैन । गुमाउनुपर्ने चीजलाई विलम्ब नगरि चटक्क छोडिदिनुपर्छ ।
हामीले एउटा सुन्दर सपना देख्न जरुरी छ । जसले हामीलाई एउटा दौडिने मार्ग निर्धारण गरिदेओस् । उक्त सपनाप्रति आशावादी भएर मात्र हामी खुलेर हाँस्न सक्छौं । नत्र हामीले केको आधारमा केको लागि संघर्ष र परिश्रम गर्ने ? यदि त्यो भविष्यमा हावालाई खेदेको जस्तो मात्र हुन्छ भने । यसैले हामी सबै सचेत भएर अगाडि बढ्नैपर्दछ ।
-------0--------
-------0--------
Comments
Post a Comment