Skip to main content

Posts

कविताः साथी

  हिँड्दै जाँदा यात्रामा साथीहरु भेटिन्छन् अनि, दोबाटोमा पुगेर छुट्टिन्छन् । कसैले छोड्छन्, कोही छोडिन्छन् । रफ्तार सबैको एउटै हुन्न रै’छ । हिँड्ने बाटो सबै एउटै हुन्न रै’छ । पुग्नुपर्ने ठाऊँ पनि आफ्ना–आफ्नै हुँदो रै’छ । तर पनि, साथी चाहिन्छ– लड्दा उठाउनका लागि । टेक्ने ठाऊँ भत्किँदा साथी चाहिन्छ । समाउने डोरी चुँडिन लाग्दा साथी चाहिन्छ । एक्लै हाँस्न सकिँदैन । एक्लै रुन सकिँदैन । खुशी साट्न साथी चाहिन्छ । दुःख बाँड्न साथी चाहिन्छ । दाजु–भाइसँग गर्न नमिल्ने कुरा साथीसँग गर्न मिल्छ । आमा–बाबुलाई भन्न नमिल्ने कुरा साथीलाई भन्न मिल्छ । उसलाई दुख्दा मलाई पनि दुख्छ । मलाई बिझ्ने काँडाले– उसलाई पनि छुन्छ । केही क्षण सँगै बिताएका पलहरुको सम्झना बोकी साथीहरु जीन्दगीको उकालो लाग्छन् । धरतीको पल्लो छेऊ पुगेपनि, मुटुको एक कुनामा बस्ने ठाऊँ दिन्छन् । कोही साथीहरु– जीन्दगीको घामसँगै अस्ताएर गएपनि मुटुमा फूल रोपेर जान्छन् । मेटाएर नमेटिने हुन्छन् । बिर्सिएर नबिर्सिने हुन्छन् । उनीहरुलाई सम्झिँदा– मुहार त्यसै–त्यसै उज्यालो भएर आउँछ । ओ साथी ! साँच्चै तिमीलाई म अति प्रेम गर्छु ।

कविताः रमिता अनि रमितेहरु

  कोही रमिता हुन्छन् अनि रमितेहरु रमिता हेर्न थाल्छन् । मनमनै रमाउँछ मानिस अरुको कमजोरी देख्दा । अरु रोएको देख्दा, आफू त्यसरी कहिल्यै नरोएको अनुभव गर्छ मानिस । अरुलाई भोकै देख्दा, आफू अनिकालमा कहिल्यै नपरेको अनुभव गर्छ मानिस । तर, यी सबै हामी पार गर्दै आएका छौं । हामी सबै रोएका छौं । हामी सबै हाँसेकै छौं, बरु कृत्रिम हाँसो नै किन नहोस् । हामी त एक परदेशी हौं । फर्किनुपर्छ एकदिन सबै– आ–आफ्नो दस्तुर बुझाउन । घमण्ड गर्दै, नाक प्वाक्क फुलाउने कारण त म केही भेट्दिन । कति क्षणिक छौं हामी । म एकदिन माटो बन्नेछु, किनकी म माटोबाटै बनिएको थिएँ । यसरी नै कोही माटो बन्लान, त कोही धुँवा बनेर माथि उड्लान् कोही नर्क, कोही स्वर्ग............। यी बाहेक अन्तिम बिन्दु त मानिसको– म केही देख्दिन । कसले भन्न सक्छ– स्वर्ग र नर्क जाने बाटोमा म भट्टी पसल थाप्छु भनेर ? नर्कको मुलढोकामा......... तिम्रो सुसमाचारको केही अर्थ छैन । हीरा–मोतीको केही मूल्य हुँदैन । 

कविताः हिमालकी छोरी

  गोधुली साँझमा म कोठा फकिँदै थिएँ । साँगुरो गल्ली सडकहरुमा लामा काला छाँयाहरु सल्बलाइरहेका । दुइपाङ्ग्रे, तीन पाङ्ग्रे, चार पाङ्ग्रेहरु हतारिँदै बाटो पछ्याइरहेका । मैले भेटेँ उनीलाई श्रृंगारपटारले सजिएकी, ओठभरि रातो लिपिष्टिक पोतेकी  । सोधें –‘बैनी कहाँसम्म ?’ जवाफ दिइन्–‘ऊ पर बजारसम्म ।’ अब म डेराको नजिकमा थिएँ । केही नातिहरुसँग, कोही हजुरबुुवा– साँझको हावामा सुस्ताउन यता–उता गर्दै थिए । नातिहरुको नानाभाँति कचकचले राँकिएका बुढोलाई, झुण्डिँदै एक नातिले सोध्यो– ‘हजुरबुवा, रिमोट कन्ट्रोलर कार कहाँ किन्न पाइँन्छ ?’ झोक्किँदै बुढाले जवाफ फर्काए – ‘जा बाबु तिमी पैसा लिएर बजारमा, त्यहाँ तिमी हरचीज किन्न पाउँछौ केवल आमाबाबु बाहेक ।’ विहानी सबेरै म कलेज हिँडे । उनी फर्किदैँ थिइन् बजारबाट । थारै हाँस्न खोजिन– खुशी अल्मलिइरहेको थियो उसको मुहारमा । शरीर उसको झोलिएको थियो । ठिङ्ग उभिइन्, दोषीको बोध भएझैँ, शुन्य भावमा । हिउँको सिरेटो, मूलको रस पिएर हुर्केकी केटी, यो सहरमा ऊफ.......... । एकान्तमा बसेर कति रुँदी हो । हिजोको त्यो ओठको रातो लिपिष्टक आज कुनै नामोनिशान थिएन । किनकी यो कसैलाई– च...

कविताः झरेको फूल

  बिहानीको सिरेटो मलाई साह्रै प्यारो लाग्छ । जब पूर्वतिर फर्कन्छु, आशा डाँडामाथि झुल्किन्छ, अनि धर्तीको छातीमा छताछुल्ल वर्षिन्छ । रश्मिहरु पहाडको खोँच भएर बग्छन् । रश्मिहरु गरा–गरा भई पहाडको कापबाट तल उपत्यकालाई चियाउँछन् । आहा ! कति सुन्दर सृष्टि ! केही पल भएपनि म दुःखलाई भुलिरहेछु । बहिनी घर बढार्न थाल्छिन् । पिँढीको गमलामुनि कुचो हल्लाउँछिन् । चुँडिएका, ओइलिएर झरेका फूलहरु रद्धीको टोकरीमा हाल्छिन् । त्यतिखेर म – ती ओइली झरेका फूलहरुमा, आफ्नै जीवन देख्छु । धेरै चोटी लडेको मान्छे म । धेरै चोटी हारेको मान्छे म । के यी फूलहरु फेरि फूल्न सक्छन् ? मगमगाउँदो बासना फेरि छर्न सक्छन् ? ओइली झरेको फूललाई फेरि, येशूले मात्र फूलाउन सक्नुहुन्छ । जिउँदो लाशहरु, उहाँमा मात्रै अर्थपूर्ण जीवन भेट्छन् ।

कविताः यस्तो भइराख्दो रै’छ...

बरु सकिन्छ जीवन, टुङ्गिदैनन् विवादहरु, उर्लंदो खोला सुक्छ बरु, भरिंदैनन् समुन्द्रहरु । सुन्दा–सुन्दै बरु फुट्ला कानको जाली नै, तर अन्त्य हुँदैन बज्न संगीतको धुनहरु । देख्दा–देख्दै धमिलिन्छ होला आँखाको सिसा, तर कहिले थाकिन्छ होला हेरेर यी दृश्यहरु ? जति खाए नि, जति पिए नि तृप्त नहुने, हन्तकाली यी मानिसका भोक अनि प्यासहरु । कुकुर बान्तामा फर्किन्छ, सुँगुर फेरि हिलोमै जान्छ, हाय ! सम्झाएर नसम्झिने समझ नभएकाहरु । बरु गुणलाई बिर्सिने, चोटलाई कहिल्यै माफ नगर्ने, यस्तो अन्यायी पो छ त ! तपाई हाम्रो मनहरु ।