
कुनै समय मैले काम गरेको अफिसका हाकिम, जस्तोसुकै तनावमा काम गरिरहेको वा केही सोचिरहेको किन नहोस् । जब उहाँकी २ वर्षे छोरी सेतो जामा लगाएर मुस्कुराउँदै टुकुर–टुकुर अगाडि आउँथिन्, मेरो सर जुरुक्क उठेर छोरीलाई बोक्नुहुन्थ्यो, मायाले चुम्नुहुन्थ्यो । छोरीसँग तोतेबोलीमा कुरा गर्दै यता–उता डुल्दै गर्दा म उहाँको मुहारमा तनावको एउटा धर्सोसम्म देख्दिनथेँ । घरि–घरि म तिर फर्केर भन्नुहुन्थ्योः ‘तपाईँलाई छोरा–छोरीको माया कस्तो हुन्छ भनेर केही थाहा छैन ।’ म दँग पर्थें, अविवाहित मान्छेले कसरी थाहा छ भनुँ ? तर, ती दृश्यहरु देख्दा म भित्रभित्रै रमाइरहेको हुन्थेँ ।
दुधे बालकको मुहारलाई हेरेर माता पिताले हजारौँ सपना साँचेका हुन्छन्, आमाबुवाकोे हजारौँ सपना बालकको जीवनसँग जोडिएको हुन्छ । भर्खरै हिँड्न थालेका र बोल्न सिकेका नानीहरुसँग खेल्नुको आनन्द शब्दमा कसरी बयान गर्न सकिन्छ होला र ! नानीहरुको मुस्कान र तोतेबोलीमा आमाले आफ्नो आँसु लुकाउँछिन्, बुवाले आफ्नो दुःख भुल्छन् ।
तोतेबोलीहरु प्रिय हुन्छन्, मीठा हुन्छन् । विशेष गरि नानीहरुको तोतेबोली दुखेको हृदयको निम्ति औषधी नै हो । उनीहरुले जानि–नजानि गरेका हरेक क्रियाकलापहरु हामीलाई प्रिय नै लाग्छन् । कतिपय मानिसहरु आफूलाई परमेश्वरको सेवा गर्ने योग्यता आफूमा नभएको विचार गर्छन्, यो सरासर गलत हो । हुनसक्छ हामीलाई प्रार्थना गर्न आउँदैन, तर हामीले यो भूल्नु हुँदैन कि शब्दमा व्यक्त गर्न नसकिने सुस्केराहरुमा पवित्र आत्माले हाम्रो मध्यस्थता गर्नुहुन्छ र हाम्रो हरेक प्रार्थना परमेश्वरमा अर्थपूर्ण हुन्छ । परमेश्वरले उहाँको महिमाको लागि संसारको अति महत्वपूर्ण ठानिएका कुराहरुलाई छान्नुभएको छैन । कमजोर ठानिएका कुराहरुबाट नै परमेश्वरले आफ्नो महिमा लिनुहुन्छ । गिटारको २ वटा तार चुँडिएको नै किन नहोस्, हृदय सही छ भने त्यहीँ गिटारको झङ्कारबाट मानिसको हृदयमा पवित्र आत्माले भरिदिनुहुन्छ ।

हो हामीले खँदिलो भोजन खानु नै छ; तर दुधे बालक नै भएपनि जानी–नजानि उहाँको महिमाको कामहरुमा पछि नहटौँ । उहाँको निम्ति गाउने, नाच्ने, प्रचार गर्ने जुनसुकै काम किन नहोस् ! जानि–नजानी गरेको हाम्रो कामले उहाँको अगाडि हामी एक बालक झैँ उभिन्छौँ । अनि हाम्रो तोतेबोलीहरु सुनेर परमेश्वर मुस्कुराउनुहुन्छ । आफ्नो हातले माथि उठाउनुहुन्छ ।
दौडेर गई पिताको अँगालोमा हाम फाल्ने र घण्टौँसम्म मस्त आनन्दले निदाउने अधिकार मलाई छ; सायद तपाईँलाई पनि ।